अर्घाखाँची – पछिल्लो डेढ वर्षदेखि प्रेम सम्बन्धमा रहेका अर्घाखाँची र कपिलवस्तुका लेस्बियन जोडीले समलिङ्गी विवाह दर्ता गराएका छन्। अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–९ वडा कार्यालयले पहिलो पटक समलिङ्गी विवाह दर्ता गरेको हो।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग समन्वय गरेर समलिङ्गी विवाहको अस्थायी प्रमाणपत्र जारी गरिएको वडा सचिव ज्योति पन्थीले जानकारी दिइन्। “बुझ्नलाई ९–१० दिन लाग्यो। जिल्ला प्रशासन कार्यालयदेखि पञ्जीकरण विभागसम्म सम्पर्क गरेर प्रमाणपत्र दिएको हो,” पन्थीले पहिचानसँग भनिन्, “एक दिन ठुलोबुबाले रोक्नुभयो, भोलिपल्ट आफैँ आउनुभयो र समलिङ्गी विवाह दर्ता भयो।”
लेस्बियन जोडीमध्ये अर्घाखाँचीकी युवती २३ वर्षकी छन् भने कपिलवस्तुकी युवती २० वर्षकी छन्। अर्घाखाँचीकी युवती ठुलोबुबाको घरमा बस्दै आएकी हुन्। उनका बुबाको निधन भइसकेको र आमाले दोस्रो विवाह गरेकी हुँदा उनी ठुलो बुबालाई लिएर वडा कार्यालय पुगेकी थिइन्।
कपिलवस्तुकी युवतीलाई भने परिवारले अझै स्वीकार गरेको छैन। त्यसैले उनीहरूले नाम गोप्य राखिदिन वडा कार्यालयलाई अनुरोध गरेका थिए। निवेदनमा जेठ १८ गते विवाह गरेको उल्लेख गरिएको छ भने वडा कार्यालयले असार १५ गते समलिङ्गी विवाह दर्ता गरेर हस्तलिखित प्रमाणपत्र दिएको वडा सचिव पन्थीले जानकारी दिइन्।
विवाह दर्ता गर्ने जोडीले तत्काल आफूहरू पहिचान खुलाएर मिडियामा आउन समस्या रहेको बताए।’गोपनीयता कायम गर्नु पर्ने अवस्था छ,’लेस्बियन जोडीले पहिचानसँग भने। लेस्बियन जोडी आफ्नै पहलमा विवाह दर्ता गर्न सफल भएको हो।
इन्द्रेणी विवाह दर्ता : पहिचानको सक्सेस स्टोरी
नेपाल दक्षिण एसियामा समलिङ्गी विवाह कानुनी रूपमा दर्ता गर्ने पहिलो देश हो। लमजुङको दोर्दी गाउँपालिका कार्यालयले माया गुरुङ्ग र सुरेन्द्र पाण्डेको १३ मङ्सिर २०८० मा इन्द्रेणी विवाह कानुनी रूपमा दर्ता गरेको थियो।
माया र सुरेन्द्रको पहिलो पटक कानुनी रूपमा विवाह दर्ता भएसँगै स्थानीय तहबाट सहज रूपमा समलिङ्गी विवाह दर्ता हुन थालेको हो। ६ पुस २०८० मा कैलालीको कैलारी गाउँपालिका र २८ माघ २०८० मा बर्दियाको बढैयाताल गाउँपालिका वडा नं २ को कार्यालयले समलिङ्गी विवाह दर्ता गरेका थिए। कैलारी गाउँपालिकाले भने अस्थायी प्रमाणपत्र उल्लेख नगरी साबिकमा जस्तै विवाह दर्ता गरेको थियो।
विवाह प्रमाणपत्रमा समलिङ्गी विवाह उल्लेख थिएन। विवाह दर्ता गर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका जोडी हुन्। नागरिकतामा एक जनाको पुरुष र एक जनाको महिला भएकाले समलिङ्गी विवाह उल्लेख गर्नु नपरेको कैलारी गाउँपालिका कार्यालयले जानकारी दिएको थियो।
कैलारीमा प्रकाश चौधरी र मनिला न्यौपानेले ६ पुसमा विवाह दर्ता गरेको जानकारी भोलिपल्ट पत्रकार सम्मेलन गरेर जानकारी गराएका थिए।
संविधान सभाका पूर्वसदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिल बाबु पन्तको पहलमा २८ माघ २०८० मा पाँच वर्षदेखि समलिङ्गी सम्बन्धमा रहेका बढैयाताल वडा नं २ निवासी अन्जुदेवी श्रेष्ठ (दीप्ति) र बाँके कोहलपुर नगरपालिका वडा नं ५ बस्ने सुप्रिता गुरुङको जोडीले कानुनी रूपमा विवाह दर्ता गरेको थियो। दीप्ति र सुप्रिता विवाह प्रमाणपत्र पाउने पहिलो लेस्बियन जोडी हुन्।
वाह जिन्दगी म्यागेजिनमा माया र सुरेन्द्र, प्रकाश र मनिला, दीप्ति र सुप्रिताको तस्बिरसहित प्रेमसँगै अङ्कुरित दाम्पत्य जीवन शीर्षकमा सुशीला तामाङले स्टोरी प्रकाशित गरेकी छन्। परम्परागत मान्यताबाट माथि उठेर समलिङ्गी वैवाहिक जोडीलाई समेत परिवार र समाजले स्वीकार गर्न थालेको वाह जिन्दगी म्यागेजिनमा प्रकाशित छ।
सिन्धुलीकी सुशीला रम्तेल र धादिङकी प्रमिला तामाङको जोडीले पारिवारिक तथा सामाजिक रूपमा बेहोर्नु परेको झमेला पनि म्यागेजिनमा लेखिएको छ।
समलिङ्गी जोडीको सुरक्षित पुनर्मिलन र विवाह दर्ता : न्याय र प्रेमको विजय
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.