काठमाडौं – शकुन्तला नायक आज मधेसको मात्र होइन, सिङ्गो नेपालको पहिचानलाई अन्तर्राष्ट्रिय फलकमा उचाल्ने उदाहरणीय पात्र बनेकी छिन्। सामाजिक रूपमा जटिल संरचना भित्र हुर्किएर पनि उनले जैविक प्रविधि (बायोटेक्नोलोजी) मा स्नातकोत्तर तहसम्मको शैक्षिक उपलब्धि हासिल गरेकी छन्। यद्यपि, उनको व्यावसायिक यात्रा भने यो शैक्षिक पृष्ठभूमिसँग प्रत्यक्ष जोडिएको छैन।
उनी ग्राहक सेवा (Customer Service) क्षेत्रमा संलग्न छन्—नेपाली समाजमा प्रायः कम महत्त्व दिइने यो क्षेत्रमा उनले आठ वर्षभन्दा बढी अनुभव सङ्कलन गरेकी छन्। त्यही अनुभवको आधारमा उनले बङ्गलादेश, भारतलगायतका अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा सहभागिता जनाउँदै दुई वटा अन्तर्राष्ट्रिय अवार्ड (Asia’s Customer Service Executive of the Year 2021) र (Best Women Leadership Excellent Award in CSR of the Year 2022 in SAARC countries) पनि जित्न सफल भएकी छन्।
“म सञ्चारको क्षेत्रमा विशेष रुचि राख्छु, त्यसैले ग्राहक सेवा मेरो लागि स्वाभाविक छनोट हो,” उनी भन्छिन्।
धनुषा जिल्लाको सबैला गाउँमा जन्मिएकी नायक हाल जनकपुरमा परिवारसँग बस्दै आएकी छन्। समाजमा अझै पनि महिला र छोरी प्रतिको असमान व्यवहारले उनलाई चिन्तित बनाउँछ।
उनका अनुसार, “मधेसी समाजमा छोरीहरूलाई अझै पनि दोस्रो दर्जाको नजरले हेर्ने प्रवृत्ति छ। दाइजो प्रथा, वैवाहिक हिंसा र आत्महत्या जस्ता घटनाहरू सामान्य झैँ भएका छन्, जसको धेरैजसो खुलासा नै हुँदैन। प्रविधिको विकास र शिक्षाले केही चेतना भित्र्याए तापनि, गहिरो जरा गाडेका सामाजिक मान्यताहरू अझै यथावत् छन्।”
यस्ता परिस्थितिमा हुर्किएर काठमाडौँसम्मको यात्रा तय गर्नु, पढाइसँगै पेसागत सफलता हासिल गर्नु, नायकका शब्दमा “सजिलो होइन, तर गहन उपलब्धि हो।” उनी भन्छिन्, “छोरीलाई बोझ ठानिने समाजबाट सङ्घर्ष गर्दै राजधानी आइपुग्नु र आफ्नो पहिचान बनाउनु मेरो आत्मबलको प्रमाण हो।”
तर नायक केवल व्यक्तिगत सफलता नै खोज्दैनन्—उनी सामाजिक रूपान्तरणको सपना बोकेर अगाडि बढेकी छन्। “मेरो पढाइको अर्थ तब हुन्छ जब म आफ्नै समाजमा परिवर्तन ल्याउन सकूँ,” उनी भन्छिन्।
ग्राहक सेवा: संवाद, प्रविधि र व्यवस्थापनको सङ्गम
नायकको दृष्टिमा ग्राहक सेवा केवल कल उठाउने वा जानकारी दिने काम मात्र होइन, यो सञ्चार, सूचना प्रविधि र व्यवस्थापनको त्रिवेणी हो। उनी यस क्षेत्रलाई गम्भीरतापूर्वक लिएकी छन् र आफू उदाहरणीय पेशेवर बन्न चाहन्छिन्।
एसएलसी पछि घरमै ट्युसन पढाएर व्यावसायिक यात्रा सुरु गरेकी उनले केही समयपछि “Lareverie Herbal Care” (लारिबेरी हर्बल केयर भारतीय ब्रान्ड) मा मार्केटिङ प्रतिनिधिको रूपमा काम गर्न थालिन्। पार्लर/सैलुन विभागका उत्पादनहरू प्रचार गर्न उनले जनकपुर आसपासका गाउँसम्मको यात्रा गरेकी छन्, जुन अनुभव उनका लागि कार्यकुशलताको प्रारम्भिक अभ्यास बन्यो।
स्नातक पढाइ जनकपुरमै सम्पन्न गरी उनले सात वर्ष अघि स्नातकोत्तरका लागि काठमाडौँको यात्रा सुरु गरिन्। जैविक प्रविधिजस्तो प्रयोगशाला–केन्द्रित अध्ययनसँगै रोजगारी गर्नु चुनौतीपूर्ण थियो। तर आर्थिक अवस्थाका कारण उनले काम नगरी पढाइ सम्भव थिएन।
“मधेसी समुदायमा छोरीहरूले राजधानी आइ रोजगारी गर्नु निकै दुर्लभ विषय हो,” उनी भन्छिन्। “त्यस माथि ग्राहकसँग सिधा संवाद गर्नु, आलोचना सहनु, कम्पनीको छवि जोगाउनु—यी सबै चुनौतीपूर्ण पक्ष हुन्।”
तर कठिनाइका बाबजुद पनि उनले आधा दर्जनभन्दा बढी कम्पनीहरूमा ग्राहक सेवा अनुभव प्राप्त गरिन्।
“ग्राहक जुनसुकै मानसिकतासहित आउन सक्छन्—प्रशंसा पनि गर्छन्, कहिलेकाहीँ आक्रोश पनि देखाउँछन्,” उनी भन्छिन्, “तर हाम्रो संवाद र व्यवहार ग्राहक सन्तुष्टिका लागि केन्द्रित हुनुपर्छ। सेवा भन्ने समाधान र सम्मानको संयोजन हो।”
सशक्त आवाज, सशक्त प्रतिनिधित्व
शकुन्तला नायक केवल मधेसकी छोरी होइनन्, उनी त्यो आवाज हुन् जसले सामाजिक बाधाहरू चिर्दै अगाडि बढ्न सकिने सम्भावनालाई साकार तुल्याएकी छन्। शिक्षा, साहस, र प्रतिबद्धताको सङ्गम बनेकी उनी आज महिला सशक्तीकरणको उदाहरण बनिरहेकी छन्—हिजो उपेक्षित रहनुपरेको समाजमा आज नेतृत्व गर्न सक्षम एक प्रेरणादायी अनुहार हुन् उनी।
अहिले नायक वातावरणमैत्री कार्यहरूमा संलग्न छिन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.