काठमाडौँ—नेपाली कांग्रेसमा नेतृत्वको वरिपरि केन्द्रित ‘नजिकको घेरा’ मा देखिएको भ्रष्टाचार प्रवृत्ति गिरिजाप्रसाद कोइरालाको पालादेखि शेरबहादुर देउवा युगसम्म झनै सघन बन्दै गएको छ।
पार्टीभित्र गुटबन्दी, नातावाद र संरक्षणवादकै भरमा उभिएका नेताहरू एकपछि अर्को गर्दै ठुला घोटालामा मुछिएपछि कांग्रेसको नीतिगत र नैतिक पहिचानमै सङ्कट उत्पन्न भएको छ।
लोकतान्त्रिक मूल्य र संस्थागत अनुशासनका लागि स्थापित पार्टीको पछिल्लो यात्रा हेर्दा विश्वासको सङ्कट गहिरिँदै गएको छ। अब आसन्न महाधिवेशनले नेतृत्वको मूल्याङ्कन गर्ने निर्णायक मोडमा कांग्रेस उभिएको छ।
नेपाली कांग्रेसको सशक्त काल मानिने २०५० को दशकमा तत्कालीन प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाले आफ्ना विश्वासपात्रहरूलाई सरकार र पार्टीको केन्द्रमा राखे। तर, यिनै नेताहरू पटक–पटक भ्रष्टाचारमा मुछिए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदनले खुमबहादुर खड्का भ्रष्टाचारमा दोषी ठहर भए।
खड्काले आफ्ना नजिकका व्यक्तिहरूलाई विभिन्न संस्थानहरूको महाप्रबन्धक, अध्यक्ष बनाई संस्थालाई डुबाएको, भक्तपुर जिल्लामा श्रीमती शीला खड्काको नाममा भएको करिब १४ रोपनी जमिन चतुर्वेदी थरका प्रहरीका नाममा सारेको, काठमाडौं जिल्ला मण्डिखाटारमा साली सुधा आचार्यको नाममा जग्गा खरिद गरी सोमा करोडौँ पर्ने घर बनाई हाल बिक्री गरेको, दाङ जिल्ला सतवरिया गाउँ विकास समितिमा र ललितपुर जिल्ला सानेपामा भव्य महलहरू निर्माण गरेको, जेठान मुकुन्द गौतमले भक्तपुरमा १३ रोपनी जग्गा जोडेको, हेटौँडामा पोलीप्याक फ्याक्ट्री खोलेको, साला महेन्द्र गौतमले काठमाडौँमा भव्य महल बनाएको र दाङमा पेट्रोल पम्प राखेको साथै पूर्वमन्त्री खड्काले पदको दुरुपयोग गरी अकूत सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरी भ्रष्टाचार गरेको उजुरी परेको नेपाल कानुन पत्रिकामा पढ्न पाइन्छ।
नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुरको २०७४ साल चैतमा भारतको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारका क्रममा निधन भयो। खड्का अस्ताए पनि कांग्रेसका प्रभावशाली मानिएका नेताहरू भ्रष्टाचारमा पर्ने क्रम भने रोकिएको छैन।
२०४८ सालदेखि २०५९ सालसम्म विभिन्न सरकारी सार्वजनिक पदमा रहँदा गोविन्दराज जोशीले स्रोत नखुलेको २ करोड १६ लाख बराबरको सम्पत्ति थुपारेको ठहर सर्वोच्च अदालतले गर्यो। जोशी भ्रष्टाचार कसुरमा दोषी ठहर भए। गिरिजाप्रसादको समयमा जोशी कांग्रेसका प्रभावशाली नेता थिए।
विजयकुमार गच्छदार पनि बालुवाटार जग्गा प्रकरणमा मुछिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास प्रकरणमा दोषी ठहर गर्दै मुद्दा दर्ता गर्दा गच्छेदार कांग्रेस संसदीय दलको उपनेता थिए। उनको सांसद पद निलम्बनमा परेको थियो। विशेष अदालतले सफाइ दियो।
अख्तियारले गच्छदारले बदनियतका साथ ललिता निवाससम्बन्धी फाइल मन्त्रिपरिषद्मा पेस गरेको तथ्य पुष्टि हुँदाहुँदै पनि विशेष अदालतले गोलमटोल रूपमा त्यसको व्याख्या गरेको भनी अख्तियारले टिप्पणी गरेको थियो। गच्छेदार हालसम्म पनि कांग्रेसका प्रभावशाली नेता छन्।कांग्रेसको उपसभापति पदमा २ मतले मात्र पराजित भएका थिए गच्छेदार। उनी गिरिजाप्रसाददेखि शेरबहादुर कालसम्म शक्ति लिएर बसे।
नेपाल वायु सेवा निगमका लागि विमान खरिदमा भ्रष्टाचार भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वयं गिरिजाप्रसादविरुद्ध मुद्दा दायर गरेको थियो। तर, यी माथिका घटनाहरूको संरक्षण र कारबाहीको अभावले पार्टीभित्र गहिरो अविश्वासको बीउ रोपिएको छ।
देउवा युग: पुरानै अभ्यास
गिरिजाप्रसाद र सुशील कोइरालापछि नेपाली कांग्रेसको नेतृत्व सम्हालेका शेरबहादुर देउवाले पनि आफ्ना नजिकका नेताहरूलाई पार्टी र सरकारमा निर्णायक भूमिकामा राखे। तर, पुरानै अभ्यास दोहोरिँदा एकपछि अर्को नाम चर्चित घोटालामा मुछिन थाले।
देउवाका भित्रियामध्येका कांग्रेस नेता बालकृष्ण खाँण, गृहमन्त्री रहँदा नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल परे। उच्च अदालत पाटनका न्यायाधीशहरूबीच राय बाझियो खाँणको मुद्दामा। तेस्रो न्यायाधीशको आदेशमा ३० लाख रुपैयाँ धरौटी बुझाएर तारेखमा रिहा भएका खाँण काठमाडौं जिल्ला अदालत धाइरहेका छन्।
कांग्रेसका अर्का नेता मोहनबहादुर बस्नेत, टेरामास्क खरिदमा अनियमितता गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेपछि विशेष अदालतमा उपस्थित भए। उनी २५ लाख धरौटीमा छुटेका छन्। बस्नेत सांसद पदबाट निलम्बनमा परेका छन्। ठुलो स्वरमा बोल्ने गरेको आरोप लगाउने पार्टीभित्रकै नेताहरूले बस्नेतको आलोचना गर्न थालेका छन्।
रमेश लेखक, भिजिट भिसा प्रकरणमा मुछिएपछि संसदमा राजीनामा माग हुँदै आएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखकको नाम लिएर बयान दिएको स्रोतको हवाला दिँदै समाचार बाहिरिएपछि सरकारले छानबिन समिति नै गठन गरेको छ। पूर्वमुख्यसचिव शंकरदास वैरागी नेतृत्वको समितिलाई विश्वास नगरेको राष्ट्रिय स्वतन्त्र पार्टीले संसद्को अवरोध अन्त्य गरेको छैन।
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रहेका रामहरि खतिवडामाथि ‘कुलिङ पिरियड’ हटाएर विधेयक पारित गराउन भूमिका खेलेको आरोप लागेपछि समितिकै सदस्यहरूले राजीनामा माग गरेका छन्।
यी सबै नेताहरू देउवा गुटमा पर्छन्। विश्लेषकहरू भन्छन्, “पुरानै गुट संरक्षणको प्रवृत्तिले पार्टीको नैतिक धरातल गुमेको छ।” पार्टीभित्र नीति, निर्णय प्रक्रिया र अनुशासनमा लगातार सङ्कट देखा परेको छ।
कांग्रेसको महाधिवेशन नजिकिँदै जाँदा शेखर कोइराला, गगन थापा, विश्वप्रकाश शर्मा जस्ता नेताहरू सुधारको एजेन्डा लिएर अघि बढिरहेका छन्। जो देउवा गुटमा छैनन्। तिनीहरूले पारदर्शिता, जबाफदेहिता र गुटमुक्त पार्टी संरचनाको माग गर्दै देउवा पक्षलाई खुला चुनौती दिएका छन्। देउवा पक्ष भने घोटालामा मुछिएका नेताहरूलाई संरक्षण दिँदै आएको आरोप खेपिरहेको छ।
महाधिवेशनमा हुनेछ विकल्पको परीक्षा
नेपाली कांग्रेसको आसन्न महाधिवेशन पार्टीभित्र भ्रष्टाचार विरोधी सुधारवादी धार र संरक्षणवादी पुरानो गुटबीचको निर्णायक भिडन्त बन्ने देखिन्छ। यदि पार्टीले नेतृत्वको संरचनात्मक कमजोरी, गुटमय हस्तक्षेप र दोषी नेताहरूको बचाउलाई निरन्तरता दियो भने, कांग्रेस आफ्नो ऐतिहासिक भूमिका गुमाएर ‘घटनाक्रम पछ्याउने दल’ बन्ने सम्भावना राजनीतिशास्त्रीहरू औँल्याउँछन्।
नेपाली कांग्रेसको समस्या कुनै एक नेता वा घटनाको मात्र होइन, यो एक लामो समयदेखिको गुटवाद, नातावाद र जबाफदेहिताको अभावले जन्माएको संस्थागत सङ्कट हो। गिरिजाप्रसाद कोइरालाबाट सुरु भएको ‘नजिकको घेरा’ मा भ्रष्टाचार फैलिने क्रम देउवा युगसम्म आइपुग्दा झनै गहिरिएको छ।
आगामी महाधिवेशनले कांग्रेसलाई पुनर्जागृत गर्ने अवसर दिनेछ कि अघोषित पतनको मोडमा धकेल्नेछ भन्ने प्रश्न अहिलेको सबैभन्दा ठुलो राजनीतिक एजेन्डा बनेको छ। अब कांग्रेसले साँच्चै पार्टीभित्र स्वच्छता, जबाफदेहिता र गुटमुक्त नेतृत्व संस्कृतिको अभ्यास गर्न सकेन भने, पार्टीका नाममा बाँकी हुनेछ केवल इतिहास।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.