काठमाडौं — सत्तामा बसेका दलहरुबीच मतभेद देखिन थालेको छ। सरकारको कामप्रति असन्तुष्टि बढ्दै गएपछि सत्तारुढ दलहरू आ–आफ्नै लाइनमा हिँड्न थालेका छन्। सरकार तुरुन्तै ढल्ने स्थिति नभए पनि त्यसतर्फ उन्मुख सङ्केत देखिन थालेको छ।
विशेषगरी नेपाली कांग्रेसभित्र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारप्रति असन्तुष्टि खुलेर देखिन थालेको छ। कांग्रेसका नेताहरूले सरकारको काम कारबाहीमा ध्यान नदिएको, जनताका सवालमा उदासीन भएको भन्दै आलोचना गर्न थालेका छन्।
सत्ता गठबन्धनभित्रको तनाव यसैमा मात्र सीमित छैन। सरकारलाई समर्थन गरिरहेका दुई दल जनता समाजवादी पार्टी (जसपा) र नागरिक उन्मुक्ति पार्टी (नाउपा) दुवैले समर्थन फिर्ता लिने घोषणा गरिसकेका छन्। अब यी दुई दल प्रतिपक्षको बेन्चमा बस्नेछन्।
तर, प्रधानमन्त्री केपी शर्मा ओली मौन बसेका छन्। प्रधानमन्त्री ओलीको मौनताबीच कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ।
यस भेटलाई लिएर अनेक अड्कलबाजी भइरहेका बेला काँग्रेसले यस भेट नितान्त पर्व विशेषमा भएको भनेको छ। कांग्रेस नेता मीन विश्वकर्माले भेटवार्ता सरकार बदल्न नभएको बताए।
कांग्रेस नेता शेखर कोइरालाले सरकारका प्राथमिकतामै प्रश्न उठाएका छन्। उनले भने, “देशमा उद्योग व्यवसाय चलाउन बजेट छैन भन्ने तर मन्त्रीहरू लर्को लागेर विदेश गइरहेका छन्। विदेश भ्रमण रोक्न सके यही पैसाले उद्योग चलाउन सकिन्थ्यो।“
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीति नै गम्भीर सङ्कटमा परेको टिप्पणी गरेका छन्। उनले भने, “हाम्रो राजनीतिको मूल नै धमिलो छ, मूल सफा नगरी अरूलाई उपदेश दिएर केही हुँदैन।“
सत्तारुढ गठबन्धनभित्र बढ्दो असन्तुष्टि, मन्त्रीहरूको प्राथमिकता, विदेश भ्रमण, र सरकारको गति प्रति आलोचना देखिँदै गएको छ। दलहरूबीच आपसी विश्वास कमजोर हुँदै गएको सङ्केत देखिएको छ।
सरकार अझै सङ्कटमा नपरे पनि त्यसतर्फको यात्रा सुरु भइसकेको सङ्केत नेताहरूको भनाइबाट झल्किन्छ। कांग्रेस सभापति शेर बहादुर देउवाले अहिले कुनै पनि पार्टीले स्पष्ट बहुमत ल्याउन सक्ने अवस्था नरहेकाले कुनै न कुनै पार्टीसँग मिल्नु बाध्यता रहेको बताए। उनले मन नपरे पनि मिल्नु पर्ने अवस्था सुनाए।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.