काठमाडौं —नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले पार्टीको १५ औँ महाधिवेशन यसै वर्षको अन्त्यसम्म सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन्।
आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा उनले यसैसाल (२०८२ साल) को कार्तिक मसान्तभित्र क्रियाशील सदस्यता अद्यावधिक गर्ने, मङ्सिरभित्र वडा र पालिकास्तरीय अधिवेशन सम्पन्न गर्ने, र चैत्र मसान्तसम्म महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका प्रस्ताव गरे।
आचार्यले पार्टी विधानमा आवश्यक परिमार्जनका लागि तुरुन्त ‘विधान संशोधन सुझाव मस्यौदा समिति’ गठन गर्नुपर्ने माग राखे। पार्टी संरचना, नेतृत्व छनोट प्रक्रिया र निर्णय प्रणालीलाई समयानुकूल बनाउन संविधान संशोधनको समेत बहस थाल्नुपर्नेमा उनको जोड थियो।
उनले वर्तमान सत्ता गठबन्धनको कार्यसम्पादनमाथि पनि गम्भीर प्रश्न उठाएका छन्। जनताका विविध वर्गसँग सरकारले गरेका सहमति कार्यान्वयन नभएको भन्दै आचार्यले शिक्षक, किसान, सहकारी पीडित, मिटरब्याज पीडित, सुकुम्वासी र भूमिहीनहरूप्रति सरकारले इमानदारिता देखाउन नसकेको टिप्पणी गरे।
बाढीपहिरो पीडितले वर्ष दिन कुर्दा पनि सरकारलाई भेट्न नसकेको उदाहरण दिँदै उनले विपद् व्यवस्थापनमा सरकार पूर्णतः असफल भएको आरोप लगाए।
उनको प्रस्तावमा दुग्ध किसानका समस्यादेखि मल–बीउको अभावसम्म तत्काल समाधान खोज्नुपर्ने सुझाव पनि छ। साथै, संविधान संशोधनबारे गठबन्धनभित्र भएको सहमति अनुसार नेपाली कांग्रेसभित्र आन्तरिक बहस चलाएर ठोस प्रस्ताव ल्याउन ‘संविधान संशोधन उच्चस्तरीय सुझाव समिति’ गठन गर्नुपर्ने पनि उनले बताए।
संवैधानिक पदाधिकारी नियुक्तिसम्बन्धी सर्वोच्च अदालतको पछिल्लो फैसलाले संविधानको मर्ममाथि गम्भीर प्रहार गरेको भन्दै आचार्यले उक्त विषयमा पार्टीको स्पष्ट र ठोस धारणा सार्वजनिक गर्नुपर्ने बताए। न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाबीचको शक्ति सन्तुलन भत्किएको भन्दै उनले संविधानको सर्वोच्चता कायम राख्न कांग्रेस अग्रसर हुनुपर्नेमा जोड दिए।
पार्टीको आन्तरिक लोकतन्त्र बलियो बनाउन उनले भातृ संस्थाहरूको अधिवेशन तोकिएको मितिमा सुनिश्चित गर्न र प्रविधिमार्फत प्रत्यक्ष निर्वाचन प्रणाली कार्यान्वयन गर्न आग्रह गरे। पार्टीको सबै तहको कार्यकाल विद्यमान चार वर्षबाट घटाएर तीन वर्ष कायम गर्नुपर्ने प्रस्तावसमेत उनले बैठकमा राखे।
सुशासन र सुसंस्कारप्रति पनि उनले गम्भीर जोड दिए। पार्टीभित्रै ‘नेपाली कांग्रेस सुशासन र सुसंस्कार निर्देशिका’ जारी गरी नेताहरूको आचरण र कार्यशैली सुधार गर्ने समय आएको उनको धारणा थियो। बाँकी रहेका विभागहरू शीघ्र गठन गर्दै कम्तीमा एक तिहाइ युवा तथा विषय विज्ञहरूको सहभागिता सुनिश्चित गर्नुपर्ने प्रस्तावसमेत उनले राखे।
भ्रष्टाचारको सन्दर्भमा आचार्यले “कोही अपराधी नउम्किउन्, निर्दोष नफसुन्” भन्ने कांग्रेसको नीति अझ सशक्त रूपमा लागू गर्नुपर्ने बताए। उनले मन, वचन र कर्मबाटै भ्रष्टाचारको तिरस्कार गर्न आग्रह गरे।
चितवनमा सय दिने विशेष अभियान अन्तर्गतको अनुभव उल्लेख गर्दै आचार्यले कांग्रेसलाई फेरि सशक्त र लोकप्रिय बनाउने बाटो भनेको जनताको सरोकारसँग एकाकार हुनु रहेको बताए। उनले पार्टीभित्र ‘आन्तरिक मेलमिलाप तथा एकता अभियान’ र ‘जनताको सरोकार, जनतासँग एकाकार अभियान’ सञ्चालन गर्ने प्रस्ताव गरेका छन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.