र्‍याली–प्रदर्शनमा रोक, सुशासन बिना चुनाव असम्भव

र्‍याली–प्रदर्शनमा रोक, सुशासन बिना चुनाव असम्भव

412
SHARES

काठमाडौं — जिल्ला प्रशासन कार्यालय काठमाडौंले कुनै पनि प्रकारका र्‍याली, प्रदर्शन वा सभा गर्ने गतिविधिमा रोक लगाएको छ। प्रशासनले सूचना जारी गर्दै “पूर्वस्वीकृति बिना कुनै पनि कार्यक्रम गर्न नपाइने” स्पष्ट गरेको छ।

असोज २५ गते शनिवारका दिन विभिन्न समूहहरूले काठमाडौँका विभिन्न स्थानमा मोटरसाइकल र्‍याली तथा सभा गर्ने जानकारी पाएपछि प्रशासनले कसैलाई पनि अनुमति नदिने निर्णय गरेको हो।

गत भदौ २३ गतेको जेनजी आन्दोलनपछि तोडफोड, आगजनी तथा सार्वजनिक र निजी सम्पत्तिमा क्षति पुर्‍याउने घटनाहरू भएका स्मरण गर्दै प्रशासनले पूर्वस्वीकृति बिना कुनै पनि कार्यक्रम नगर्न आग्रह गरेको छ।

शान्ति–सुरक्षाको अवस्था कायम राख्न, सार्वजनिक सम्पत्तिको संरक्षण गर्न र सेवा प्रवाहलाई सुचारु बनाउने कार्यहरू भइरहेको प्रशासनले जनाएको छ। साथै, विभिन्न समूहहरूबाट हुने भनिएका र्‍याली, जुलुस, धर्ना, सभा र प्रदर्शनजस्ता गतिविधिहरूले सुरक्षा चुनौती बढाउन सक्ने चेतावनी पनि प्रशासनले दिएको छ।

सुशासन कायम नभए फागुन २१ गतेको चुनाव सम्भव नहुने निष्कर्ष सरकारले निकालेको छ। भ्रष्टाचारीलाई कारबाही गर्ने म्यान्डेटसहित बनेको सुशीला कार्की नेतृत्वको सरकारले सुशासन स्थापनाबिना चुनाव सम्भव नहुने ठहर गरेको हो।

जेनजी आन्दोलनको बलमा गत भदौ २७ गते पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएकी थिइन्। कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरी फागुन २१ गते नयाँ प्रतिनिधि सभा सदस्यका लागि चुनाव मिति घोषणा गरेका थिए।

गृहमन्त्री ओमप्रकाश अर्यालले झण्डै दुइ साता अघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुगमन गर्दै सुशासन कायम हुनु नै चुनावको पूर्व सर्त भएको बताएका थिए। “सुशासन नभएसम्म शान्ति–सुरक्षा हुँदैन। शान्ति–सुरक्षा नभए ६ महिनाभित्र चुनाव गर्न सकिँदैन,” उनले भनेका थिए, “त्यसकारण सुशासन त हामीले दिनै पर्छ, किनभने हाम्रो म्यान्डेट नै यही हो।”

उनका अनुसार सूचना सङ्कलनको प्रक्रिया तीव्र गतिमा भइरहेको छ र चाँडै ‘ब्रेक थ्रु’ हुने सङ्केत देखिएको छ। “हिजोअस्ती कतिपय ठाउँबाट सूचना चुहिएको छ, अब ब्रेक थ्रु हुन्छ,” उनले भने, “राजनीतिक सम्बन्धका आधारमा रोकिएका वा बिथोलिएका काम अब रोकिन्नन्, किनभने यो सरकारको म्यान्डेट नै सुशासन हो।”

बालुवाटारबाट ज्यान जोगाउँदै हेलिकप्टरमार्फत भागेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्रीलाई ‘बाबु’ भनेर सम्बोधन गर्दै भनेका थिए,“धेरै नचम्किनू।”

यो पनि : भिड्ने मुडमा एमाले, जेन-जी संयन्त्र बनाउँदै सरकार

समाचार शेयर गर्नुहोस्
412
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.