निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

थपिए १ लाख ७ हजार नयाँ मतदाता, अन्य लैङ्गिक पहिचानका १० जना

थपिए १ लाख ७ हजार नयाँ मतदाता, अन्य लैङ्गिक पहिचानका १० जना

185
SHARES

काठमाडौँ – सरकारले फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै निर्वाचन आयोगले मतदाता नामावली सङ्कलनको काम तीव्र बनाएको छ।

निर्वाचन आयोगका अनुसार मतदाता नामावलीमा नाम दर्ता गराउनेहरूको सङ्ख्या दैनिक रूपमा बढ्दै गएको छ। अहिले देशभरका जिल्ला निर्वाचन कार्यालयहरूमा नयाँ मतदाता दर्ताका लागि भीड लाग्न थालेको आयोगले जनाएको छ।

आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि कार्तिक मसान्तसम्मको समयसीमा तोकेको छ। निर्वाचन आयोगका अनुसार, “अन्तिम समय नजिकिँदै जाँदा, विशेष गरी शहरउन्मुख जिल्लामा दर्ता गर्न आउनेको सङ्ख्या बढेको छ।”

जिल्ला निर्वाचन कार्यालय काठमाडौँमा मतदाता नामावलीमा नाम दर्ता गर्नेको भीड बढेपछि आयोगले थप काउन्टर सञ्चालन गरेको छ। आफू भएकै स्थानबाट सेवा लिन सकिने प्रावधानका कारण सोमबार मात्र ७ हजार ४६४ जना नयाँ मतदाता थपिएका छन्।

हालसम्म नयाँ थपिएका मतदाताको सङ्ख्या एक लाख ७ हजार ९४१ पुगेको छ। आयोगले दुर्गम जिल्लाहरूमा चाप अपेक्षाकृत कम देखिए पनि, शहरउन्मुख जिल्लाहरूमा जनशक्ति बढाएर सेवा विस्तार गर्ने काम भइरहेको जनाएको छ। “कोही पनि नागरिक मतदाता नामावलीमा नाम दर्ता गर्नबाट नछुटुन् भन्ने उद्देश्यले आयोगले निरन्तर प्रयास गरिरहेको छ,” प्रवक्ता नारायणप्रसाद भट्टराईले थपे।

निर्वाचन आयोगका अनुसार हालसम्म थपिएका मतदातामा पुरुषको सङ्ख्या महिला भन्दा बढी छ। पुरुष मतदाता ६५ हजार ४५९ जना, महिला मतदाता ४२ हजार ४७२ जना, र अन्य लैङ्गिक पहिचानका १० जना मतदाता दर्ता भएका छन्। हालसम्म निर्वाचन आयोगमा १२५ वटा राजनीतिक दल दर्ता भइसकेका छन् भने १६ दल दर्ता प्रक्रियामा रहेका छन्।

आयोगले माग गरेको निर्वाचन बजेट अझै अर्थ मन्त्रालयमा स्वीकृत हुन बाँकी छ। त्यस्तै, विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार दिनका लागि आवश्यक कानुन बनाउनुपर्ने प्रक्रिया पनि अझै छलफलमै रहेको आयोगले जनाएको छ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले देशको राजनीतिक समीकरण पूर्ण रूपमा उल्ट्याएको थियो।जनआन्दोलनको दबाबमा तत्कालीन सरकारले राजीनामा दिएपछि नयाँ सरकार गठन भएको थियो। सरकारले ‘जनताको प्रत्यक्ष जनादेशमा आधारित नयाँ प्रतिनिधिसभा गठन गर्नुपर्छ’ भन्दै निर्वाचन घोषणा गरेको हो।

जेनजी आन्दोलनबाट जन्मिएको यो सरकार र आयोग दुवै निर्वाचन तयारीमा पुरै केन्द्रित छन्।

समाचार शेयर गर्नुहोस्
185
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.