निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

५ लाख नयाँ मतदाता थप, पहिलो दिन १२ दल दर्ता

५ लाख नयाँ मतदाता थप, पहिलो दिन १२ दल दर्ता

238
SHARES

काठमाडौँ – फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा चुनावमा मतदान गर्न ५ लाख २७ हजार ६३७ जना नयाँ मतदाता थप भएका छन्। कार्तिक ३० गते मात्रै १७ हजार ४६१ मतदाताले नामावली दर्ता गराएका छन्।

निर्वाचन आयोगका अनुसार सोही दिन पुरुष ९ हजार ५८ र महिला ८ हजार ४०३ जनाले मतदाता नामावलीमा नाम दर्ता गरे। आयोगले कार्तिक ३० गतेभित्र फागुन २० गतेसम्म १८ वर्ष उमेर पुगेका नागरिकलाई नाम दर्ता गर्न समय दिएको थियो।

कार्तिक ३० गतेसम्म कुल ३ लाख २ हजार ६२ जना मतदाताले निर्वाचन कार्यालयमा गएर नाम दर्ता गराएका छन्। तीमध्ये पुरुष १ लाख ७१ हजार ३७२, महिला १ लाख ३० हजार ६४९ र अन्य ४१ जना छन्।

आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार कार्तिक २७ गतेदेखि राष्ट्रिय परिचयपत्रमार्फत २ लाख २५ हजार ५७५ जना नयाँ मतदाता थप भएका छन्।

राष्ट्रिय परिचयपत्रमार्फत पुरुष १ लाख ३६ हजार ३२९, महिला ८९ हजार २३८ र अन्य ८ जना मतदाता थप भएका छन्। २०८२ कार्तिक १६ गतेसम्म १८ वर्ष पूरा भएका मतदाताको कुल सङ्ख्या १ करोड ८१ लाख ६८ हजार २३० रहेको थियो।

आयोगले सार्वजनिक गरेको विवरणअनुसार तीमध्ये पुरुष ९२ लाख ५१ हजार ५४१, महिला ८९ लाख १६ हजार ५०२ र अन्य १८७ जना छन्। आयोगले फागुन २१ सम्म १८ वर्ष पूरा भएका मतदाताका लागि नामावली दर्ता गराइरहेको छ।

फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि आयोगले दल दर्ता पनि सुरु गरेको छ। निर्वाचनमा भाग लिन चाहने दलहरूले मङ्सिर १० गतेसम्म दर्ता भइसक्नुपर्ने आयोगले जनाएको छ।

दल दर्ता सुरु भएको पहिलो दिन नै प्रतिनिधिसभातर्फ १२ र राष्ट्रिय सभातर्फ ३ दलले निवेदन दिएका प्रवक्ता भट्टराईले जानकारी दिए।

आयोगले राष्ट्रिय परिवर्तन पार्टीलाई दल दर्ताको प्रमाणपत्र समेत प्रदान गरेको छ। यससँगै आयोगमा १२३ दल दर्ता कायम छन्। अहिलेसम्म ३२ नयाँ दलले दर्ताका लागि निवेदन दिएका छन्। नयाँ दलले पनि निर्वाचनमा भाग लिन दर्ता गर्नुपर्नेछ।

राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि पनि मङ्सिर ७ गतेसम्म दल दर्ता गरिसक्नुपर्नेछ। फागुन २० गतेबाट राष्ट्रिय सभामा १९ सदस्य रिक्त हुँदैछन्। सोही रिक्त पद पूर्तिका लागि माघ ११ गते निर्वाचन हुन लागेको हो।

आयोगले दल दर्ता गर्न निवेदन दिने दलले दलसम्बन्धी विवरण, दलको नाम आयोगमा दर्ता मिति लगायत आवश्यक कागजात समेत खुलाउनुपर्ने जनाएको छ।

समाचार शेयर गर्नुहोस्
238
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.