४३ विद्यालयका करिब ४ हजार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

४३ विद्यालयका करिब ४ हजार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

343
SHARES

काठमाडौँ – नेपाल मानव धर्म सेवा समितिले देशभरका ४३ विद्यालयका झन्डै चार हजार विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ। अन्तर्राष्ट्रिय युवा आध्यात्मिक व्यक्तित्व विभुजी महाराजको जन्मोत्सवको अवसर पारेर समितिले तीन हजार आठ सय ४७ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको जनाएको छ।

२०८२ माघ ५ देखि १२ गतेसम्म सञ्चालित सप्ताहव्यापी शैक्षिक सामग्री वितरण कार्यक्रममा समितिका देशभरका क्षेत्र तथा शाखा आश्रमहरूले कपी, कलम, स्कुल ब्याग, स्वेटरलगायत शैक्षिक सामग्री वितरण गरेका हुन्।

शहरी क्षेत्रसँगै जोडिएका ग्रामीण भेगका सामुदायिक विद्यालयका विद्यार्थीहरूको अवस्था निकै नै नाजुक भएको र कपी कलमको अभावमा बालबालिकाहरूले पढ्न पाउने अधिकारबाट वञ्चित हुनु नपरोस् भनी शैक्षिक सामग्री वितरण अभियान सञ्चालन गरिएको संस्थाकी केन्द्र प्रमुख महात्मा चमेली वाईजीले बताइन।

उनका अनुसार काठमाडौँ उपत्यका भित्रै पनि विकट स्थान रहेको र त्यहाँका सामुदायिक विद्यालयका विद्यार्थी वर्षभरि पुग्ने गरी कपी कलम किन्न सक्ने अवस्थाका छैनन्।

ललितपुर जिल्लाकै गोटिखेल, चन्दनपुरलगायतका स्थानमा पुग्दा कुनै विकट जिल्लामा पुगेको भान हुने उनले अनुभव सुनाइन। ‘देशका विभिन्न दुर्गम स्थानमा गई कापी, कलम, स्कुल ब्याग, स्वेटर बाँड्दा उनीहरूको मुहारमा छाएको खुसीले मरो अन्तर हृदय नै प्रफुल्लित भएको छ उनले भनिन फेरि पनि उनीहरूका लागि सामग्री लिएर जाने इच्छा जागेको छ।’

केन्द्र प्रमुख महात्मा चमेली वाईजीलाई मात्र होइन प्रचार समितिकी सचिव महात्मा लता वाईजीलाई पनि सबै विद्यार्थीहरूको मुहारमा हाँसो हेर्ने रहर छ। शैक्षिक सामग्री बोकेर कहिले सिन्धुपाल्चोकको हेलम्बु त कहिले नुवाकोटको देवीघाट पुगेकी महात्मा लता वाईजीका अनुसार संस्थाले सम्पन्न विद्यार्थी र विपन्न विद्यार्थीकाबीच पुलका काम गरिरहेको छ।

दुर्गम र आर्थिक अभावका मारमा पारेका बालबालिकाहरूलाई शैक्षिक सामग्री सङ्कलनका लागि संस्थाले शहरी क्षेत्रका निजी विद्यालयहरूमा बक्स राख्ने गर्छ। निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले आफूले सकेको कपी, पेन, पेन्सिल, इरेजर, कटर बक्समा हाल्ने गर्छन्।

उनीहरूबाट सङ्कलित सामग्री लिएर संस्थाका युवाहरू सरकारी विद्यालय जान्छन् र आवश्यक परेकाहरूलाई बाँडेर आउँछन्। महात्मा लता वाईजीका अनुसार तीन चार महिना पुग्ने शैक्षिक सामग्रीले पनि अभिभावकहरूलाई थोरै भए पनि राहत हुने गरेको छ।

आध्यात्मिक तथा सामाजिक कार्य गर्दै आएको संस्थाले शिक्षा अभियानलाई वर्षमा एक पटक मात्र होइन, सधैँभरि गर्दै आएको युवा सङ्गठनका केन्द्रीय संयोजक राजीव पौडेल बताउँछन्। पौडेल भन्छन्, ‘सानो सहयोगले पनि ठूलो परिवर्तन सम्भव हुने रहेछ भन्ने विश्वास पलाएको छ।’

समाचार शेयर गर्नुहोस्
343
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.