काठमाडौँ – प्रतिनिधिसभाले डोलप्रसाद अर्याललाई नयाँ सभामुख पाएको छ। फागुन २१ मा सम्पन्न निर्वाचनको एक महिनामै प्रतिनिधिसभाले नयाँ सभामुख पाएको हो।
झन्डै दुई तिहाइ बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री र सभामुख दुवै पद हात पारेको छ। राज्यसत्ताको केन्द्रमा असाधारण शक्ति प्राप्त गरेको छ। प्रधानमन्त्रीमा बालेन्द्र शाह (बालेन) नियुक्त भइसकेका छन् भने अब संसद्को नेतृत्व पनि रास्वपाकै हातमा पुगेको छ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुख पदमा अर्यालको एक मात्र उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गरे।
रास्वपा सभापति रवि लामिछानेले अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव राखेका थिए। उक्त प्रस्तावलाई अर्थमन्त्री स्वर्णिम वाग्ले, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम तथा भौतिक, पूर्वाधार तथा यातायात एवं शहरी विकासमन्त्री सुनिल लम्सालले समर्थन गरेका थिए।
ज्येष्ठ सदस्य केसीले सभामुख पदमा अर्यालको मात्रै प्रस्ताव आएकाले निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्। २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा अर्याल काठमाडौँ–९ बाट निर्वाचित सांसद हुन्।
सभामुख पदमा उम्मेदवारी दिनुअघि उनले रास्वपाको उपसभापति पदबाट राजीनामा दिएर गत शुक्रवार मनोनयन दर्ता गरेका थिए।
सभामुखमा निर्वाचित अर्यालले सदनको मर्यादा कायम हुने गरी आफूले काम गर्ने प्रतिबद्धता जनाएका छन्। सङ्घीय संसद् भवन परिसरमा पत्रकारसँग कुरा गर्दै उनले आफूले निष्पक्ष भूमिका निर्वाह गर्ने बताए।
उनले संविधान र कानुनको पालना गर्दै सबै सांसदको सम्मान हुने गरी अघि बढ्ने समेत बताए। ‘संविधान, कानुन राम्रोसँग हेरेको छु। त्यसलाई पालना गरेर सबै माननीयज्यूहरूलाई सम्मान हुने किसिमबाट सदनको मर्यादा कायम हुने किसिमबाट काम हुन्छ,’ उनले भने, ‘निष्पक्ष भूमिका निर्वाह हुनुपर्छ, हुन्छ।’
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.