जीवन के हो?

जीवन के हो?

92
SHARES

जीवन जन्मदेखि मृत्यु बीचको चेतन अवस्था हो, चेतन अवधि हो, यात्रा हो जसमा वृद्धि, विकास, पाचन र अनुभवको सार हुन्छ। वैज्ञानिक दृष्टिकोणले भन्दा यो अस्तित्वको एउटा प्रक्रिया हो जो सजिबलाई निर्जीवबाट अलग गर्छ। दार्शनिक रूपमा जीवन भनेको भावना, कर्म र स्वयमले जानेको एउटा निरन्तर यात्रा हो। शास्त्रका अनुसार भगवानको अंश, आनन्द, सञ्चित कर्मफलको निरन्तरता र अमूल्य उपहार हो। शब्दकोशका अनुसार बाची रहनु, प्राण धारण गर्नु, जीवित अवस्था नै जीवन हो।

वैज्ञानिक मत अनुसार जीवनको अर्थ कोशिकाहरूको सङ्गठन, ऊर्जाको उपयोग, विकास र पर्यावरणप्रति अनुकूल अवस्था हो।

दार्शनिक विचारमा जीवन केवल सास लिने र फ्याँक्ने, दैनिक काम र यौन मात्र नभएर भावना, खुसी र दुःखको सङ्गम पनि हो। साथमा कर्मको आधारमा उन्नति र प्रगति पनि हो। जीवन भनेको अनुभवको सञ्चय र मानवीय चेतना विकास गर्ने पनि हो।

जीवन भनेको स्वयम जिउने कला हो। जीवनको सार भनेको आफ्नो स्वभावमा बाच्ने हो, अनुभवलाई सार्थकता दिने हो।

औषधि विज्ञानका अनुसार दुई अलग कोष (शुक्रकीट र अण्ड) मिलेर अनेक सङ्घर्ष गर्दै ९ महिनामा आमाको गर्भबाट बाहिर आएर एउटा अलग पहिचान र अस्तित्व कायम गर्ने व्यवस्था जीवन हो।

अर्को अर्थमा जीवन ईश्वरको प्रतिबिम्ब हो जसलाई सर्वशक्तिमान् मानिन्छ। जीवन एउटा प्रकाश हो जो आफू जलेर पनि अरूलाई उज्यालो प्रदान गर्न सक्छ, ज्ञान र ऊर्जा भरिदिन सक्छ। त्यो अनन्त ज्ञान अथवा उज्यालो केही नभएर आत्मा हो जसले परमात्मासँग जोड्छ।

आत्मा जब शरीर र मनसँग जोडिन्छ, त्यसलाई जीव अथवा जीवन भनिन्छ। जीवन भनेको कर्म, इच्छा, सुख–दुःख अनुभव गर्ने पक्ष हो। जन्म लिने र मर्ने चक्र हो।

जसरी भैँसीलाई सिङको भारी हुँदैन त्यसरी नै जीवनमा पनि कुनै कठिनाइ र समस्या बोझ हुँदैन, समाधानको बाटो खोज्न शरीर आफै अग्रसर हुन्छ। यो जीवनको महत्त्वपूर्ण पाटो हो जहाँ पारिवारिक, सामाजिक र मानवीय कर्तव्य पुरा भइसक्छन्।

जीवनलाई चलायमान राख्ने श्वासले हो, श्वास चलुन्जेल जीवन रहन्छ। त्यसैले शरीर र आत्मा बीचको सेतु श्वास हो। छोटोमा भन्दा श्वास (प्राणबायु) जीवन हो, जसको अनुपस्थितिले जीवन लासमा परिणत गराउँछ।

जीवन एउटा सुन्दर प्राकृतिक उपहार र अवसर हो। हामी चाहेर जन्मिएका हुँदैनौ, चाहँदैमा जन्मिँदैनौँ र चाहँदैमा मर्दैनौँ। जन्म सबैभन्दा ठूलो संयोग हो। आविष्कार हो। प्रकृतिको सुन्दर र अनुपम सिर्जना हो। दार्शनिक ओशो रजनिसका अनुसार जन्म त पाइन्छ तर जीवन भने खोज्नु पर्दछ। जीवनको खोजी गर्नु एउटा कला हो। यसको अर्थ जीवन जिउनु अर्थात् भोग्नुमा हुन्छ। यसको कुनै परिभाषा हुँदैन। भोगाई सत्य हुन्छ, मात्र अनुभव रहन्छ।

खप्तड बाबाका अनुसार जस्तो सोच त्यस्तै जीवन। हो, सोच अनुसारको जीवन बनाउन सकिन्छ। केही अपवाद बाहेक जीवनको केन्द्र भनेकै सोच र विचार हो।

जीवन के हो भन्ने प्रश्न गम्भीर छ। जीवनको सार्थकता नै तत्वज्ञानसम्म पुर्‍याउने बाटो हो। वास्तविक जीवन बुझ्ने माध्यम हो तत्वज्ञान। जीवनको वास्तविक अर्थको खोजी नै तत्वज्ञान हो। यसका लागि ब्रह्माण्ड विधा र सत्त्व शास्त्रको अध्ययन र त्यसभित्रको अनुभवको आवश्यकता पर्छ। सम्पूर्ण सृष्टिको मूल तत्त्वको ज्ञान नै ब्रह्ज्ञान हो। तत्वज्ञानले आत्मा, बाहिरी सम्बन्ध अनि ब्रह्मसँगको सम्बन्ध जोडने काम गर्छ। यस्तो ज्ञान सिकाउने ग्रन्थ मानिन्छ भागवत गीतालाई, जसबाट समग्र मानव जीवनको अर्थ, महत्त्व र उद्देश्य बुझ्न सकिन्छ।

जीवनका मानवीय, पारिवारिक र सामाजिक पाटाहरू छन्। बौद्धिकता, संवेदनशीलता र जिम्मेवारीहरू छन्। पूर्ण र सफल परिवार निमार्ण गर्ने जिम्मेवारी र उत्तरदायित्वले बहन गर्न सिकाउँछ जीवनमा। उत्तरदायित्व बहन गर्ने क्रममा जीवनलाई बोझ नमानेर अवसर र कर्तव्यको रूपमा लिएर काम गर्दा आइपर्ने कठिनाइ सामान्य लाग्छन्। जब हरेक कठिनाइ र अवरोध सामान्य लाग्न थाल्छन् जीवन आफै सफल हुँदै गएको महसुस हुन्छ।

यसमा विचारको भूमिका अग्रस्थानमा रहन्छ। विचारले बुद्धिको विकास हुन्छ र बुद्धिले मानवताको परिचय बनाउँछ। मानवताको परिचय बन्नु नै आत्मबोध हुनु हो। जहाँ रिस, राग, घमन्ड, इष्या, मृत्युभय रहँदैन मात्र समभाव जन्मिन्छ। जसरी भैँसीलाई सिङको भारी हुँदैन त्यसरी नै जीवनमा पनि कुनै कठिनाइ र समस्या बोझ हुँदैन, समाधानको बाटो खोज्न शरीर आफै अग्रसर हुन्छ। यो जीवनको महत्त्वपूर्ण पाटो हो जहाँ पारिवारिक, सामाजिक र मानवीय कर्तव्य पुरा भइसक्छन्।

हामी ओशो, बुद्ध, जिसस क्राइस्ट, आइन्स्टाइन, खप्तड बाबा, शिवपुरी बाबा जस्तै स्वतन्त्र जीवन बाच्न सक्छौँ। यसकालागि जीवन के हो र के का लागि प्राप्त भएको हो भन्ने ज्ञान हासिल गर्न सके पुग्छ। मात्र म एउटा आत्मा हुँ, म निश्चित समयका लागि आएको पाहुना मात्र हुँ। मेरो रोल कर्म गर्ने हो। म जे र जस्तो अवस्थामा छु यही मेरा लागि स्वर्ग समान छ। म खाली हात आएँ र खाली नै जाने छु। म जति गर्न सक्छु साक्षी भावले, करुणा र निस्वार्थ मनले गर्छु भन्ने भाव हरेक पल रहेमा र म शरीर मात्र होइन विधाताको अंश हुँ भन्ने भाव उत्पन्न भएमा जीवन जस्तो वितोस सफल मानिन्छ। चाहे झोपडीमा वितोस चाहे महलमा, जब हामी हरेक कुराबाट स्वतन्त्र हुन्छौँ, मुक्त हुन्छौँ, लोभ, मोह, अहङ्कार रहित हुन्छौँ त्यही हो सार्थक र सफल जीवन।

जीवनको पहिलो काम आफूभित्र सास लिनु र अन्तिम काम सासलाई बाहिर फ्याँक्नु हो। सास लिनु जीवनको सुरुवात हो भने सास फ्याल्नु र पुनः नलिनु मृत्यु हो।

जीवन सफल हुन्छ। म को हुँ? जगत् के हो? म र जगतको सम्बन्ध कस्तो रहनु पर्दछ? मेरो कर्तव्य के? के हित हो र के अहित हो? यस्ता तर्क र भावना नै विचार हुन्। विचारले नै विवेकलाई जन्माउँछ। विचार नै प्रेरणास्रोत हो। विचारले नै जीवनमा नयाँ परिवर्तन आउँछ।

मृत्युसम्बन्धी ज्ञानले जीवन गुणस्तर बनाउँछ र मानिसलाई मजबुत बनाउँछ। यो जन्मको कमजोर मन या मनोबलले बाचेको मान्छे मृत्युपछि अर्को जन्ममा पनि कमजोर मन नै प्राप्त हुन्छ। त्यसैले पनि मन बलियो बनाएर मृत्युदेखि निडर भएर जीवन जिउनु पर्छ चाहे जीवन जस्तोसुकै अवस्थामा होस। जीवनलाई शून्यमा बदल्नु नै निर्वाण हो। यही मृत्यु अथवा मोक्ष हो।

जीवन एउटा चक्र हो, जन्मले मृत्यु ल्याउँछ र मृत्युले पुनः जन्म।

कुनै महात्माले भनेका छन्, मनुष्यका जन्म जीवन के सम्झनेका सिर्फ नहीँ उसका आनन्द उठाने के लिए है। जीवनकेप्रति नयाँ उत्साह ही सन्तुष्टिका आधार है। जीवन मे प्रार्थना एक शक्ति है जिससे उस अभिनासी इश्वरसे मिल सकते है। जिसने हमे ऐ धर्ती मे भेजा है वह भी हमारे साथमे है, जिस्को हम आत्मा पुकारते है, ब्रह्म पुकारते है और जीवात्मा पुकारते है।

विभिन्न विद्धान र अध्येताका अनुसार, प्राण आत्माबाट उत्पन्न हुन्छ र जीवमा प्रवेश गर्छ अनि जीवन सुरु हुन्छ। प्राण मनको सङ्कल्पबाट शरीरमा प्रवेश गर्छ। मानिस मर्ने बेलामा प्राण आत्मासँगै निस्किन्छ र अर्को योनीमा प्रवेश गरेर नयाँ जीवनको सुरुवात हुन्छ।

हाम्रो जीवनमा आजको दुःख या सुख आउने मुख्य कारण भनेको विगतको काम पनि हो। आजको दुःख या सुख आजको कारण होइन हिजोको कामको परिणाम हो। तर हिजो यस्तो गरेर, भएर, बिगारेर आजको यो अवस्था भोग्नु परेको भनेर दुःखी हुनु र पछुताउनु भोली अरू दुःख निम्त्याउनु हो। त्यसैले हिजो जे भयो हिजै भयो। आज त भएको छैन। आज त समय अगाडी बढिसकेको छ। आजका काम र अवस्था हिजोका भन्दा फरक छन्। यो अवस्थामा अब पहिलेका कमी कमजोरी सम्झिएर आफैलाई कमजोर बनाउने दोषी बनाउने र विवेकहीन भएको ठान्नु या बारबार सम्झनु भनेको अगाडी बढ्न नसक्नु हो, रोकिनु हो।

त्यसैले बितेका घटना, कमजोरी र गल्तीबाट आज सिक्ने हो। ज्ञान बढाउने हो। हरेक मानिसले सानामा लडेर मात्र हिँड्न सिकेको हुन्छ। हामी हरेकले हकारेर या पिटाई खाएर मात्र पढ्न सिकेका हुन्छौँ। तर आज मैले सिक्ने बेलामा दुःख पाएछु, पिटाई खाएछु, गाली खाएछु भन्ने कुराको बारम्बार सम्झना गरेर दुखी हुनु भनेको कि मानसिक रोगी हुनु हो कि त गलत बुझाई हो। जीवन सधैँ दुःखमा रहनु हो। त्यसैले विगतबाट सिक्ने हो, गल्ती सुधार्ने हो तर त्यसैलाई लिएर पछुताउने र दुःखी हुने होइन।

कोही गल्ती नगरी सिक्छ त कोही गल्ती गरेर सिक्छ। कोही डरले पछि हट्छन् त कोही डरका वाबजुत पनि अगाडी बढ्दछ। जसले धैर्य, लगाव, असफलतालाई आत्मसाथ गर्छ उसले ढिलोचाडो सफलता हात पार्छ।

हुन त म र मेरो भन्ने शब्दले मानिसलाई घमन्डी र आफै ठूलो भन्ने परिचय दिन सक्छ। तर, म भनेको एउटा अमूल्य रचना हो। म छु रत संसार छ। म नै रहिन भने के रह्यो र मेरो? प्रकृतिको सबैभन्दा प्यारो उपहार हो म। म जस्तो अरू कोही पनि छैन र म भित्रको अथाह शक्ति मलाई मात्र थाहा छ। यो शक्तिको उपयोग गर्दा मेरो परिचय बेग्लै बन्छ। जीवन सफल हुन्छ। म को हुँ? जगत् के हो? म र जगतको सम्बन्ध कस्तो रहनु पर्दछ? मेरो कर्तव्य के? के हित हो र के अहित हो? यस्ता तर्क र भावना नै विचार हुन्। विचारले नै विवेकलाई जन्माउँछ। विचार नै प्रेरणास्रोत हो। विचारले नै जीवनमा नयाँ परिवर्तन आउँछ।

हरेक सुख दुःख विचारमै निर्भर हुन्छन्। विचारको आचरण नै विवेक हो। सत्य र असत्य, सेवा र परोपकारलाई छुट्टाउन सक्नु नै विवेक हो। र विवेक त्यो ज्वलन्त प्रकाश हो जसमा मानवले आफ्नो अवस्थालाई स्पष्ट देख्न सक्छ। विवेकीलाई मानसिक कष्ट कमै हुन्छ र वैराग्यको बाटोसम्म पनि विवेकले लैजान सक्छ। तर वैराग्यको बाटो नगण्यले मात्र समात्छन्।

विवेकले आफूसँग भएको शक्तिको उपयोग गराएर अरूलाई पनि उही शक्तिको खोजीमा लाग्न प्रेरणा दिलाउँछ। हरेक मानिसले आफूमा जस्तै अरूलाई पनि विवेकको अथाह शक्ति र सामर्थ्यलाई जीवनमा उतार्ने उपाय बताउनु पर्दछ या अरूबाट विवेक लिन सक्नु पर्दछ। यही शक्तिले सफल जीवन जिउन सिकाउँछ। अनि संसार सुन्दर र जीवन्त रहन्छ।

हरेक मानिस यो संसारमा फूल झैँ सुन्दर हुन्छ। जीवनलाई सुन्दर फूल बनाइ राख्न आफूमा भएको अथाह शक्तिको उपभोग गर्न सक्नु पर्दछ र यो शक्ति चिन्न असल र खराब बुझ्न सक्नु पर्दछ। आज हामीले आफूलाई राम्रोसँग बुझ्न नसकेर खुसी हुन सकिरहेका छैनौँ र यसको खोजीमा बाहिर भौँतारिरहेका छौंं। आफूलाई चिन्न र बुझ्न नसकेर दुःखको बाटोमा हिँडिरहेका छौँ। आफूभित्र रहेको अथाह शक्तिलाई चिन्न सके सधैँ सुखी र खुसी रहन सक्छौँ। यसको सरल उपाय हो एक्लिनु, सकारात्मक कुरा मनमा ल्याउनु, आफैमा के म सही बाटोमा छु भनेर प्रश्न गर्नु, योग, ध्यान र उपासना गर्नु, म सक्छु भन्ने सम्झनु अनि परोपकारमा लाग्नु, आजको डिजिटल प्रयोगको लतबाट जोगिनु।

मानिसले जन्म लिएपछि जीवन रहुन्जेल अनेक तिता मिठा अनुभव बटुल्छ। हरेकले दुःख, कष्ट, आनन्द, सेवा, आगमन, बिछोडको सामना गर्नुपर्छ। यसले जीवनको अर्थ बुझाउँछ। कसैले धेरै त कसैले थोरै, कसैले राम्रो त कसैले नराम्रो बेहोर्लान् तर समय र सन्दर्भ हरेकको फरक हुन्छ। फरक सोच र फरक फरक काम गरिएका हुन्छन्। गाउँ समाज र परिवेश साथीभाइ, वातावरण, प्रेम, घृणा, अभिभावकत्व, प्रेरणा, लगाव, विवाह, बिछोड, धोखा, सान्त्वना यी सबै जीवनका प्रेरक स्रोत हुन्। कोही गल्ती नगरी सिक्छ त कोही गल्ती गरेर सिक्छ। कोही डरले पछि हट्छन् त कोही डरका वाबजुत पनि अगाडी बढ्दछ। जसले धैर्य, लगाव, असफलतालाई आत्मसाथ गर्छ उसले ढिलोचाडो सफलता हात पार्छ।

सफलता ठूलो होस या सानो उदाहरणीय र प्रयासयोग्य भए अरूलाई पनि प्रेरणाको स्रोत बन्दछ। र, यो पनि जीवनको अमूल्य सम्पत्ति मानिन्छ।

हरेक मानिस, पशुप्राणी र वनस्पतिको निश्चित जीवन हुन्छ। अमर कोही छैन। जब यो जीवन सधैँकालागि छैन र मृत्युले समात्छ भने किन कसैको बैरी बन्ने, किन दुस्मन बन्ने, किन अरूको नराम्रो सोच्ने, किन अरूलाई तल देखाउने? आखिर यो भौतिक शरीर छोटो समयकालागि हो भने किन यसलाई उत्सवको रूपमा नलिने?

दुःखपछि सुख आउँछ र सुखपछि दुःख, अहिले दुःख छ भनेर दुःखी हुनु हुन्न। दुःख नै सुखको आधार हो र दुःख बुझेको मानिसले मात्र सुख महसुस गर्न सक्छ। दुःखमा पनि सुख लुकेको हुन्छ, बस अनुभव गर्न सक्नु पर्दछ।

महान् विचारक ओशो भन्छन् “जीवन दुई दिनको नाटक हो, भोगाई हो, मिलन र बिछोडको अनुभव हो, किन यसलाई उत्सवको रूपमा नलिने! किन एक आपसमा गला मिलाएर नबस्ने! छुटेर जाने नै हो किन दुस्मनी बढाउने! हामीले मृत्युलाई बुझ्mन सक्यौ भने हामीमा घमन्ड, लालच, हिंसा हराएर जान्छ। यो नै असली धर्म हो।”

भगवान् कृष्ण भन्नु हुन्छ “तिमी मेरोलागि समय निकाल, म तिम्रो नराम्रो समयबाट बाहिर निकाल्छु। खुसीका पलहरू दिन्छु, रमाउने आधार खोली दिन्छु, असहज जीवनलाई सहज बनाई दिन्छु, खुसीले भरिदिन्छु। कसैको विश्वासलाई, आस्थालाई म सम्मान गर्छु। सम्मानलाई म सम्मान साथ ग्रहण गर्छु र फिर्ता पनि त्यसरी नै गर्छु। कुनै मानिसले कसैलाई गाली गर्दै छ, बेइज्जत गर्दै छ, अपमान गर्दै छ भने बुझ्नुपर्छ मेरो पूर्वजन्मको कर्म या पाप नष्ट हुँदै छ। त्यो बेलामा आफू चुप रहनु सकियो भने त्यसलाई सहजै पचाउन सकियो भने नराम्रो कर्म सकिँदै छ, पाप नष्ट हुँदै छ भनेर सम्झिनु पर्छ। यसमा घाटा केही हुँदैन। गाली, बेइज्जती, अपमानलाई हाँसेर उडाउन सकियो भने उ आफै लज्जित हुन्छ। जसले जस्तो व्यवहार गर्छ उसले पनि त्यस्तै दण्ड भोग्छ। यही जीवनको सत्य हो। समय सबैको आउँछ। पालो सबैको आउँछ। त्यसैले मिहेनत गर्न नछाडेमा सफल हुने पालो हरेकको आउँछ नै।”

भगवान् कृष्णलाई सय गाली दिँदासम्म कृष्ण चुप बसे तर सय भन्दा बढी गाली दिएपछि शिशुपाल मारिए। यो एउटा गतिलो बिम्ब हो कि सहनुको पनि हद हुन्छ।

जीवनमा आफैप्रति कृतज्ञ हुन सक्नु पर्छ। आफूले पाएको यो सुन्दर जीवन फेरि प्राप्त हुन्छ हुँदैन, जो प्राप्त छ त्यसको भरपुर उपयोग गर्नुपर्छ। जीवनमा सुख हुँदा मात्र जीवनप्रति कृतज्ञ हुनुपर्छ भन्ने भनाई गलत हो। दुःखपछि सुख आउँछ र सुखपछि दुःख, अहिले दुःख छ भनेर दुःखी हुनु हुन्न। दुःख नै सुखको आधार हो र दुःख बुझेको मानिसले मात्र सुख महसुस गर्न सक्छ। दुःखमा पनि सुख लुकेको हुन्छ, बस अनुभव गर्न सक्नु पर्दछ।

प्रकृति र पञ्च तत्त्वप्रति कृतज्ञ रहन सकेँ दुःखको धेरै भोग गर्नु पर्दैन। आफैलाई समय दिनु, आफैमा रमाउनु, योग ध्यान गरेर भगवानको नाम लिएर बस्न सके खुसी आफैमा प्राप्त हुन्छ। प्रकृतिका वरदान बोटबिरुवा, सागपात, अन्न, चराचुरुङ्गी र वातावरणप्रति कृतज्ञ रहौँ यसले हामीलाई नै खुसी र सुख महसुस गराइरहेका छन्। हरेक वस्तु हाम्रै लागि हुन् भनेर कृतज्ञ हुँदै रमाउन सक्नु सफल जीवन हो। प्रकृतिको उत्कृष्ट उपहार मध्ये म पनि हुँ, मलाई यो उपहार प्रदान गर्ने तत्त्वलाई सम्झिने र सम्मान गर्ने हो भने हाम्रो दुःख कम भएर जान्छ। दुःख र सुख प्रकृतिसँग साटन सिकौँ र हरेक पल दातालाई धन्यवाद दिऊँ।

जीवनका केही नियम हुन्छन्। यस्ता नियमलाई पालना गर्ने हो भने जीवन सहज हुन्छ।

१, उठ्ने बित्तिकै विधातालाई सम्झेर कृतज्ञता व्यक्त गर्ने, जन्मदातालाई ढोग्ने कि आज म सकुशल उठ्न सकेँ। दुवै हात खोलेर र जोडेर “कराग्रे बसते लक्ष्मी, करमध्ये सरस्वती, करमुले तु विष्णु, प्रभाते कर दर्शनम” नामको मन्त्र जप गर्नु राम्रो मानिन्छ। र आफू सुतेको ओच्छयान मिलाउने, यसले उत्तर दायित्व बढाउँछ।

२, सङ्कल्प उच्च रहनु पर्छ।

३, सबैलाई एउटै प्रेममा बाँध्ने कोसिस गर्नु।

४, सबै प्रश्न÷समस्याको जवाफ आफैमा खोज। सानो सफलतालाई पनि उत्साहसँग जोडिनु पर्छ। असफलता नै सफलताको कडी हो भन्ने स्मरण रहनु पर्छ।

५, निरन्तरता जरुरी हुन्छ।

६, हारबाट पाठ सिक्नु पर्छ।

७, टिम वर्क जरुरी हुन्छ।

८, भविष्यको योजना बनाउनु पर्छ।

९, जोखिम उठाउन सक्नु पर्छ।

१०, साहस, हिम्मत बढाउनु पर्छ।

लेखक ब्रायन ट्रेसी लेख्छन्, हामीले आफूलाई हेर्ने दृष्टिकोण उच्च बनाउनु पर्छ। आफूलाई हेर्ने दृष्टिकोणलाई आत्म–छवि भनिन्छ। कुनै परिस्थिति विशेषमा तपाईँको व्यवहार कस्तो हुनुपर्छ, आत्म–छविको कारणले तपाईँको बाहिरी प्रदर्शन ठिक त्यस्तै हुन्छ, जस्तो तपाई आफ्नो बारेमा सोच्नु हुन्छ। आउने कुनै पनि परिस्थितिको बारेमा कल्पना गरेर आफैलाई सर्वश्रेष्ठ प्रदर्शन गरेको देख्ने सोच तपाई अवचेतनलाई एक सन्देश पठाउनु हुन्छ। तपाईँको अवचेतन दिमागले यो सन्देशलाई आदेश जसरी लिन्छ र फेरि तपाईँको सोच शब्द र तपाईँद्वारा गरिने कामको तौर तरिकालाई ठिक त्यस्तै बनाइदिन्छ, जस्तो तपाईँले कल्पना गरेको थियो।

तपाईँको जिन्दगीमा तमाम सुधारको सुरुवात तपाईँको दिमागको छविमा सुधारसँगै हुन्छ। तपाईँको यो आन्तरिक छवि नै तपाईँको भावना, व्यवहार, सोच र कहाँसम्म भने अरू मानिसको तपाईँप्रतिको व्यवहारलाई पनि निर्धारित गर्छ। त्यसैले सकारात्मक सोच जीवन बदल्ने कडी हो। आफ्नो योग्यता र क्षमतामा पनि विश्वास गर्नुपर्छ। उच्च मनोबल र यो सक्छु भन्ने आत्मविश्वासले तपाईँलाई सफल बनाउँछ। तपाई जति आफूलाई मन पराउनु हुन्छ त्यति नै कामलाई पनि मन पराएर सम्पन्न गर्नु हुन्छ। तपाईँ जति आफूलाई मन पराएर सम्मान गर्नु हुन्छ त्यति नै अरूलाई सम्मान र माया गर्नु हुन्छ। यसले तपाईँको छवि बढेर जान्छ। सम्मान आफै प्राप्त हुन थाल्छ।

आफ्नो बारेमा उच्च सम्मान गर्ने व्यक्तिको घरमा पनि सबै सदस्यहरू सम्मानित र खुसी हुन्छन्। त्यसैले आफू र अरू सबैको सम्मान र माया गर्न सक्नु पर्छ। यसले सबै कुरा सकारात्मक भएर जाने छ।

तपाईँको अवचेतनले सधैँ तपाईँको आदर्श र वास्तविक प्रदर्शनको बीचमा तुलना जारी राख्छ। जब कुनै पनि बेला तपाईँ आफूलाई आफ्नो आदर्शको नजिक पाउनु हुन्छ, तब तपाईँ आफ्नो विषयमा धेरै उत्साहित हुनुहुन्छ। तपाई आफ्नो नजरमा धेरै उच्च उठ्नु हुन्छ। तपाई खुसी र सन्तुष्ट महसुस गर्नुहुन्छ। तर यदि तपाई आफ्नो राय र स्वभावमा मेल नखाने काम गर्नु हुन्छ भने त्यसले तपाईँलाई आफैमा गिराउँछ। जो आफैमा गिर्छ, उठ्न कठिन हुन्छ। तपाईँ आफ्नोबारेमा नराम्रो महसुस गर्नु हुन्छ र नकारात्मक सोचले गाज्न सक्छ। त्यसैले पनि आफूलाई आफैले मूल्याङ्कन गर्नु र भावनालाई बहकिन नदिनु उचित हो। तपाईँको आफ्नो बारेमा रहेको सोच नै आफ्नो विचार व्यक्तित्व हो। तपाईँ आफूलाई जति मन पराउनु हुन्छ, आफ्नो नजरमा तपाईँको छवि र प्रदर्शन त्यति नै राम्रो हुन्छ। यसले आफूलाई खरो रूपमा उत्रिन सघाउने छ। जो मानिस आफैमा विश्वस्त छ उ अरूको आलोचना र उक्साहटमा लाग्दैन। दृढ इच्छा पूरा गर्न सफल हुन्छ।

एउटा महत्त्वपूर्ण कुरा भनेको आफैमा संवाद गर्न छाड्नु हुँदैन, बरु बढाएर लग्नु पर्दछ। अन्तर्संवाद तपाईँलाई निखारेर मनको विशालतालाई चिन्न सघाउने छ।

हामी दुःख पीडा आयो भनेर गुनासो गर्छौ तर दुःख या कष्टले भोलीको सहज जीवन ल्याएको हुन्छ। उदाहरण, कसैलाई अचानक पेट दुख्यो भने उपचारमा जाने अवसर पनि हुन सक्छ। रोग ढिलो थाहा पाएर मृत्यु हुनबाट बचाउने अवसर हो दुखाई र अन्य समस्या। हृदयाघातबाट बच्न दुखेको हो छाती, एपेण्डिक्सको दुखाई उपचार पाएर स्वस्थ रहन हो। यस्तै कसैलाई अचानक आइपर्ने अप्ठ्यारो भोलीको सहज हुनका लागि हुन सक्छ। त्यसैले सकारात्मक हुन सिकौँ। कुनै काम आज हुनु पर्ने भएन, भोली अझ राम्रो हुनुलाई पनि हुनसक्छ। कुनै व्यवधान टार्न पनि काम नबन्न सक्छ। यसमा सोच्ने क्षमता भए पुग्छ।

मानिस चुपचाप बस्न सक्छ, कुनै प्रतिक्रिया देखाउँदैन भने हारेको या कमजोर भनेर सोच्नु हुँदैन। यो भनेको भइरहेको कामको प्रतिबाध हुन सक्छ या शक्ति सञ्चय पनि हुन सक्छ। अर्को भाषामा भन्दा जीवन एउटा विद्रोह पनि हुन सक्छ।

समाचार शेयर गर्नुहोस्
92
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.