संसदीय समितिमा रास्वपाको वर्चस्व, १२ समितिले पाए पूर्णता

संसदीय समितिमा रास्वपाको वर्चस्व, १२ समितिले पाए पूर्णता

67
SHARES

काठमाडौं – सङ्घीय संसद् अन्तर्गतका संसदीय समितिहरूले पूर्णता पाएका छन्। शुक्रवार १२ वटा संसदीय समितिले सभापति चयन गरेपछि पूर्णता पाएका हुन्।

शुक्रवार भएको निर्वाचनबाट १० वटा समितिमा सर्वसम्मत सभापति चयन भए। दुई वटामा भने निर्वाचन भयो। राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल सर्वसम्मत निर्वाचन भए।

कानुन न्याय तथा मानवअधिकार समिति सभापतिमा रास्वपाकी सांसद समीक्षा बास्कोटा सर्वसम्मत निर्वाचित भएकी छन्। कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापतिमा रास्वपाका अशोककुमार चौधरी, पूर्वाधार विकास समिति सभापतिमा रास्वपाका आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समिति सभापतिमा रास्वपाकी आकृति अवस्थी सर्वसम्मत निर्वाचित भए।

संसदीय सुनुवाइ समिति सभापतिमा रास्वपाका बोधनारायण श्रेष्ठ, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रास्वपाकै रहबर अन्सारी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापतिमा रास्वपाका सुम्निमा उदास र अर्थ समिति सभापतिमा कृष्णहरि बुढाथोकी पनि सर्वसम्मत निर्वाचित भए।

यो पनि : तीन-तीन वटा नागरिकता बोकेकी रास्वपा सांसद भूमिका संसद्को मानवअधिकार समितिमा

यसबाहेक सार्वजनिक लेखा समिति सभापतिमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका भरत खड्का पनि सर्वसम्मत निर्वाचित भए। रास्वपाको समर्थन खड्काले पाएपछि यो समिति सभापतिमा एकल उम्मेदवारी परेको थियो।

बाँकी दुई वटा समिति सभापतिका लागि भने एकभन्दा बढी मनोनयन दर्ता भएको थियो। राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको रास्वपाका गणेश कार्की निर्वाचित भएका छन्। यसमा गणेश कार्की र नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट मदन कुमारी शाह (गरिमा) प्रतिस्पर्धामा थिए।

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिमा पनि दुई जनाको उम्मेदवारी परेको थियो। यो समिति सभापतिमा रास्वपाकी ओजस्वी शेरचन र नेकपा एमालेका गुरुप्रसाद बरालको उम्मेदवारी परेको थियो। यसमा पनि रास्वपाको स्पष्ट बहुमत भएकाले रास्वपाकी शेरचन निर्वाचित भइन्।

सङ्घीय संसद्मा कुल १६ संसदीय समिति रहेका छन्। प्रतिनिधिसभाअन्तर्गत १० वटा र राष्ट्रिय सभाअन्तर्गत ४ वटा समिति रहेका छन् भने दुई वटा संयुक्त समिति छन्। राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समिति र संसदीय सुनुवाइ समिति संयुक्त समिति हुन्।

समाचार शेयर गर्नुहोस्
67
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.