सहज आत्म–ग्राह: वेदान्त र बौद्ध दर्शनबीचको मौलिक भिन्नता

सहज आत्म–ग्राह: वेदान्त र बौद्ध दर्शनबीचको मौलिक भिन्नता

308
SHARES

हामी जन्मेदेखि नै एउटा अदृश्य तर शक्तिशाली धारणासँग बाँचिरहेका हुन्छौँ-“म”। यो “म” कसले सिकायो भन्ने हामीलाई याद हुँदैन, तर यसले हाम्रो सोच, व्यवहार र सम्बन्धलाई गहिरोसँग आकार दिइरहेको हुन्छ। यही स्वाभाविक जस्तो लाग्ने “म”को पकड/समात्नुलाई बौद्ध दर्शनमा “सहज आत्म–ग्राह” भनिन्छ-आफूलाई एउटा स्थायी, स्वतन्त्र “आत्मा” का रूपमा समात्ने प्रवृत्ति।

तर यही बिन्दुमा आएर पूर्वीय दर्शनका दुई महान् परम्पराहरू(बौद्ध दर्शन र वेदान्त)बीच गहिरो तर सूक्ष्म विभाजन देखा पर्छ।

आदि शंकराचार्यद्वारा प्रतिपादित अद्वैत वेदान्तले आत्मालाई अस्वीकार गर्दैन; बरु यसको पुनर्परिभाषा गर्छ। वेदान्त भन्छ-हामीले “म” भनेर समातेको शरीर, मन, अहङ्कार,यी साँचो आत्मा होइनन्। यी त अस्थायी आवरणहरू हुन्। तर यसको पछाडि एउटा शाश्वत, अपरिवर्तनीय सत्य छ-आत्मा (आत्मन्) जुन ब्रह्मसँग अभिन्न छ। त्यसैले वेदान्तका लागि समस्या “आत्मा छैन” भन्ने होइन; समस्या “साँचो आत्मा नचिन्नु” हो। मुक्ति भनेको यही आत्म–साक्षात्कार हो-“अहं ब्रह्मास्मि” को अनुभूति।

तर बौद्ध दर्शन यहीँ प्रश्नलाई उल्ट्याउँछ।

बुद्धको शिक्षामा, विशेषतः अनात्म (anattā) को सिद्धान्तमा, कुनै स्थायी, स्वतन्त्र आत्मा स्वीकार गरिँदैन। बौद्ध दृष्टिले हामीले “म” भनेर समातेको सबै कुरा (शरीर, भावना, चेतना, विचार) क्षणिक र परनिर्भर छन्। तिनीहरूमा कुनै स्थायी केन्द्र छैन। त्यसैले बौद्ध दर्शनका लागि समस्या: “साँचो आत्मा नचिन्नु” होइन; “आत्मा छ” भन्ने “पकड” नै भ्रम हो।

यही हो “सहज आत्म–ग्राह” जुन केवल बौद्धिक धारणा होइन, गहिरो मनोवैज्ञानिक प्रवृत्ति हो। हामी केवल आत्मा(म-मेरो) मा “विश्वास” गर्दैनौँ; हामी यसलाई निरन्तर म-मेरो “अनुभव” गरिरहेका हुन्छौँ-र यही अनुभूति नै भ्रमको जरा हो।

वेदान्त भन्छ-यो भ्रम हटाएर साँचो आत्मा देख।

बौद्ध दर्शन भन्छ-यो भ्रमलाई देख, अनि समाताइ/पकड आफैँ ढल्छ; खोज्नुपर्ने कुनै स्थायी आत्मा छैन।

यसरी, एउटाले आत्मालाई शुद्ध गर्नु पर्छ भन्छ, अर्कोले आत्माको अस्तित्वलाई नै विघटन गर्छ।

तर दुवैको लक्ष्य समान छ-दुःखबाट मुक्ति।

वेदान्तका लागि मुक्ति भनेको आत्माको साक्षात्कार हो-आफूलाई ब्रह्मको रूपमा चिन्ने अवस्था।

बौद्ध दर्शनका लागि मुक्ति भनेको आत्म पकड/समाताइको अन्त्य हो-जहाँ “म” र “मेरो” को आग्रह शान्त हुन्छ।

यस भिन्नतालाई केवल दार्शनिक बहसका रूपमा मात्र हेर्नु पर्याप्त हुँदैन। यसको प्रत्यक्ष प्रभाव हाम्रो जीवन बुझ्ने तरिकामा पर्छ। यदि “म” स्थायी छ भने हामी त्यसलाई खोज्ने यात्रामा लाग्छौँ। यदि “म” भ्रम हो र “म”को पकडाइ/समात्नु नै भ्रम हो भने हामी त्यसलाई देख्ने र छोड्ने यात्रामा लाग्छौँ।

अन्ततः प्रश्न एउटै रहन्छ-

हामी सत्य खोजिरहेका छौँ, वा हामीले बनाएको “म” लाई जोगाइरहेका छौँ?

बौद्ध दृष्टिले, जब “सहज आत्म–ग्राह” शान्त हुन्छ, त्यहीँबाट शान्ति सुरु हुन्छ।

वेदान्त भन्छ-जब “साँचो आत्मा प्रकट” हुन्छ, त्यहीँ मुक्ति हुन्छ।

दुई फरक बाटा, दुई फरक भाषा-तर दुवै मानव पीडाको अन्त्य खोजिरहेका छन्।

समाचार शेयर गर्नुहोस्
308
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.