काठमाडौं – अन्ततः गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्। जेनजी आन्दोलनपछि अस्वाभाविक सम्पत्ति आर्जन गरेको आरोप थेग्न नसकेपछि उनले पदबाट राजीनामा दिएका हुन्।
केही धम्की, केही गुनासो गर्दै रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्ने उनले बताएका छन्। चैत १३ गतेदेखि गृहमन्त्रीको शपथ खाएका, जेनजी आन्दोलनका अभियन्ता बनेका सुधनले पद सम्हालेको एक महिना पनि नपुग्दै राजीनामा दिएका हुन्। उनले जिम्मेवारीमा इमानदारीपूर्वक काम गर्दै आएको दाबी गरेका छन्।
प्रधानमन्त्री वालेन्द्र शाहका प्रभावशाली मन्त्रीका रूपमा रहेका सुधन पदबाट राजीनामा दिने दोस्रो मन्त्री बनेका छन्। यसअघि श्रममन्त्री दिपक शाहलाई प्रधानमन्त्री वालेनले बर्खास्त गरेका थिए। यससँगै वालेन सरकार गठन भएको एक महिना नपुग्दै दुई मन्त्री बाहिरिएको तथ्यले सरकारमाथि थप दबाब सिर्जना गरेको छ।
पछिल्ला दिनहरूमा नागरिक स्तरबाट शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई आफूले गम्भीर रूपमा लिएको गुरुङले उल्लेख गरेका छन्। संसदमा रहेका प्रतिपक्षी दलहरूले एक स्वरमा मार्गप्रशस्त अर्थात् राजीनामा दिन गृहमन्त्री गुरुङलाई सुझाव दिएका थिए भने संसदीय समिति गठन गरेर छानबिन गर्न माग पनि गरेका छन्।
राजीनामा दिँदै गुरुङले आफ्नो लागि पदभन्दा ठूलो कुरा नैतिकता भएको बताएका छन्। “जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन,” उनले सामाजिक सञ्जालमा लेखेका छन्, “आज देशमा सुशासन, पारदर्शिता र जबाफदेहिताको माग गर्दै उठिरहेको जेनजी आन्दोलनले पनि यही सन्देश दिएको छ, सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ।”
पदबाट राजीनामा दिए पनि गृह मन्त्रालयको वेवसाइटमा भने उनको नाम कायम राखिएको छ।
जेनजी आन्दोलनमा ७६ जनाको निधन भए पनि सरकारले शहीद घोषणा गरेका ४६ जना भाइबहिनीहरू उल्लेख गर्दै रगत र बलिदानको आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता भएको उनले उल्लेख गरेका छन्। उनले निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्।
पदमा रहँदा स्वार्थको द्वन्द्व (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) नदेखियोस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले आजकै मितिदेखि लागू हुने गरी गृहमन्त्री पदबाट राजीनामा दिएको गुरुङले लेखेका छन्। उनले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको दाबी गरेका छन्।
“अब मेरो अपिल छ- प्रिय सञ्चारकर्मी मित्रहरू, आम नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरू, यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ,” उनले लेखेका छन्, “कति मिडियाकर्मी साथीहरूको कहाँ–कहाँ स्वीट शेयर छ, बिस्तारै आउला। रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ।”
उनको राजीनामा माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमै प्रदर्शन समेत भएको थियो। चार जना प्रदर्शनकारीलाई प्रहरीले पक्रेको थियो।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.