सहर कसका लागि?

सहर कसका लागि?

213
SHARES

इतिहास मात्र होइन, आख्यानहरू पनि कहिलेकाहीँ हाम्रो वर्तमानलाई ऐना देखाउँछन्। कपिलवस्तुका राजा शुद्धोधनले आफ्नो छोरा सिद्धार्थ गौतमलाई जीवनका कठोर यथार्थ (वृद्धावस्था, बिमारी, अपाङ्गता भएका, दरिद्रता र मृत्यु) देख्न नपरोस् भनेर दरबारभित्र एक कृत्रिम संसार निर्माण गराए, किनकि ऋषि कालदेवले भविष्यवाणी गरेका थिए कि राजकुमार सिद्धार्थ भविष्यमा श्रमण बन्न सक्छन् भनेर।

बौद्ध ग्रन्थहरू (जस्तै ललितविस्तार सूत्र र बुद्धचरिता) मा वर्णन भएअनुसार राजकुमार बाहिर निस्कने बाटोहरू सजाइन्थे, “अप्रिय (गरिब, बिमार, वृद्ध र मृत्यु)” दृश्यहरू हटाइन्थे, र केवल यौवन, सौन्दर्य र सुख मात्र देखाइन्थ्यो।

त्यो एउटा योजनाबद्ध “सुन्दरता” थियो-जहाँ गरिब दुखीलाई प्रवेश निषेध गरिएको थियो।

तर सत्य कति समय लुक्छ?

एक दिन सिद्धार्थ दरबार बाहिर निस्किए। उनले वृद्ध मानिस देखे, गरिब देखे, बिरामी देखे, मृत शरीर देखे। र ती दृश्यहरूले उनका लागि बनाइएको कृत्रिम सुन्दर संसार भत्काइदियो। त्यही क्षणबाट उनी केवल राजकुमार रहेनन्-उनी प्रश्न बन्न थाले। अन्ततः उनले सबै त्यागे, र महाभिनिष्क्रमण मार्फत सत्यको खोजीमा निस्किए।

यो कथा केवल आध्यात्मिक जागरणको कथा होइन; यो सत्ता र यथार्थबीचको द्वन्द्वको कथा हो।

आज, हामी फेरि त्यही प्रश्नको सामु उभिएका छौँ।

प्रधानमन्त्री वालेन्द्र शाहले “सुन्दर सहर” को नारामा शहरलाई अनुशासित र व्यवस्थित बनाउने प्रयास गरिरहेका छन्। सडक किनारका संरचनाहरू हटाइँदै छन्, अनधिकृत व्यापार नियन्त्रण गरिँदै छ, अव्यवस्था हटाइँदै छ।

तर प्रश्न उही छ: के हामी समस्या समाधान गरिरहेका छौँ, वा केवल समस्यालाई आँखाबाट टाढा सारिरहेका छौँ?

जब सडक व्यापारी हटाइन्छन्- के उनीहरूको गरिबी हट्छ, वा केवल उनीहरू शहरको दृश्यबाट गायब हुन्छन्?

जब बेसहारा मानिसहरूलाई हटाइन्छ-के उनीहरूको दुःख समाप्त हुन्छ, वा केवल “सुन्दरता” जोगाइन्छ?

शुद्धोधनको दरबारमा पनि यस्तै थियो-दुःख हटाइएको थिएन, केवल लुकाइएको थियो।

सहर केवल सडक, भवन र बत्तीहरूको नाम होइन। सहर मानिसहरूको जीवन हो-धनी र गरिब, स्वस्थ र बिरामी, युवा र वृद्ध, र मृत्यु पनि हो, सबैको।
यदि सहर सुन्दर देखिन्छ तर त्यसले आफ्ना कमजोर नागरिकलाई अस्वीकार गर्छ भने, त्यो सुन्दरता कति नै टिकाउ हुन्छ?

सिद्धार्थले अन्ततः दरबार छोडे, किनकि त्यो कृत्रिम संसारमा दुःखबाट मुक्तिको उपाय थिएन।

आजको काठमाडौं पनि त्यही मोडमा उभिएको छ-हामी यथार्थसँग जुध्ने साहस गर्छौँ, कि केवल त्यसलाई छोप्ने नयाँ तरिका खोज्छौँ? आशा गरौँ प्रधानमन्त्री वालेन्द्र शाहले वास्तवमै दुःख र गरिबी हटाउन सक्ने छन्, दुखी र गरिबलाई सहरको दृश्यबाट लुकाउने मात्र छैनन् ।

फेरि पनि सवाल सरल छ, तर गम्भीर:

सहर कसका लागि?

समाचार शेयर गर्नुहोस्
213
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.