प्रधानमन्त्री वालेन्द्रको जीवनी कहिले हुन्छ अपडेट?

प्रधानमन्त्री वालेन्द्रको जीवनी कहिले हुन्छ अपडेट?

292
SHARES

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो प्रारम्भिक जीवन सार्वजनिक गर्न समय लिएका छन्। प्रधानमन्त्री नियुक्त भएको एक महिनासम्म पनि उनले आफ्नो प्रारम्भिक जीवनको विवरण सार्वजनिक गरेका छैनन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा १३ चैतमै ‘केही समयमा अपडेट हुने’ उल्लेख गरिएको प्रधानमन्त्री शाहको प्रारम्भिक जीवनसम्बन्धी विवरण एक महिना पूरा हुँदासम्म पनि उही अवस्थामै कायम छ। वेबसाइटमा अद्यावधिक हुने प्रतीक्षा अझै सकिएको छैन।

१३ चैत २०८२ मा प्रधानमन्त्री नियुक्त भएका वालेन्द्र शाहले एक महिनाभित्रै सरकारका १०० दिने कार्यसूची सार्वजनिक गरिसकेका छन्। उनले आफ्नो सम्पत्ति विवरणसमेत सार्वजनिक गरेका छन्। तर, प्रारम्भिक जीवनको विवरण भने अझै सार्वजनिक गरिएको छैन।

यसअघि प्रधानमन्त्री नियुक्त हुने बित्तिकै जीवनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमार्फत सार्वजनिक गर्ने प्रचलन थियो। तर, प्रधानमन्त्री शाहको हकमा भने एक महिना पूरा हुँदासमेत जीवनी सार्वजनिक नहुनुले चासो र जिज्ञासा दुवै बढाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालका अनुसार प्रधानमन्त्री शाहको सचिवालयलाई जीवनी उपलब्ध गराउन भनिएको छ। सचिवालयबाट विवरण प्राप्त नभएकाले अद्यावधिक हुन नसकेको उनले बताए। “प्रधानमन्त्रीज्यूको सचिवालयमा भनेका छौँ, अब आउँछ होला,” अर्यालले पहिचानसँग भने, “अपडेट हुन्छ।”

प्रधानमन्त्री वालेनका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईँले पनि जीवनी छिट्टै अद्यावधिक हुने बताएका छन्। “सचिवालयले जीवनी तयार गरिरहेको छ, अब भइहाल्छ,” बजगाईँले पहिचानसँग भने।

काठमाडौं महानगरपालिकाको मेयरका रूपमा उदाएका, जेनजी आन्दोलनको रापतापमा राष्ट्रिय राजनीतिमा प्रवेश गर्दै देशको बागडोर सम्हाल्न पुगेका वालेन्द्र शाहको जीवनी धेरैका लागि चासोको विषय बनेको छ। युवापुस्ताको आशा, आकाङ्क्षा र परिवर्तनको प्रतीकका रूपमा हेरिएका वालेनको सार्वजनिक जीवन जति चर्चित छ, उनको प्रारम्भिक जीवनबारे जान्ने उत्सुकता पनि त्यत्तिकै उच्च छ।

मेयर पदबाट राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेका वालेनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई लगभग ५० हजार मतान्तरले पराजित गरेका थिए। जेनजी पुस्ताको उभार र परिवर्तनको लहरलाई प्रतिनिधित्व गर्दै प्रधानमन्त्री पदसम्म पुगेका उनै वालेनको जीवनी भने अझै सार्वजनिक हुन समय लागिरहेको छ।

समाचार शेयर गर्नुहोस्
292
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.