सुकुम्वासी बस्तीमा तारबार लगाउने तयारी

सुकुम्वासी बस्तीमा तारबार लगाउने तयारी

72
SHARES
तस्बिर : काठमाडौं महानगरपालिका

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले, सुकुम्वासी बस्ती हटाएर खाली गराइएको सार्वजनिक जग्गाको संरक्षणका लागि काम थाल्न निर्देशन दिएकी छन्।

थापाथलीस्थित बागमती नदी किनारामा शनिवार खाली गराइएको स्थानको निरीक्षण गर्दै उनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई अहिले तथा यसपछि खाली गराइने ठाउँहरूको सुरक्षा र संरक्षणका लागि अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिलगायत सरोकारवाला कार्यालयसँग समन्वय गर्न र सार्वजनिक निर्माण विभागबाट तारबार लगाउने काम थाल्न निर्देशन दिएकी महानगरपालिकाले जनाएको छ।

कार्यवाहक प्रमुख डङ्गोलले नागार्जुनको इचङ्गुस्थित कोलोनीको भौतिक अवस्थाको निरीक्षण गरेकी थिइन। अव्यवस्थित बस्तीका वास्तविक भूमिहीनलाई यी भवनहरूमा राख्ने योजना छ।

नदी किनाराका सार्वजनिक तथा सरकारी पर्ती जग्गामा अनधिकृत संरचना बनाएर राखिएका बस्ती खाली गराउने क्रममा बागमती नदी खण्डको थापाथली क्षेत्रको बस्ती वैशाख १२ गते खाली गराइ सकिएको छ। यसका लागि महानगरपालिकाभित्र भएका अनधिकृत बस्ती बसोबास गरिरहेका व्यक्ति आफैँलाई खाली गराउन बिहीबारदेखि माइकिङ गरेर सूचित गरिएको थियो।

महानगरका अनुसार यसरी जारी गरिएको सूचनाको पालना गर्दै शुक्रवार केही परिवारले आफैँ घर टहरा खाली गराएका थिए। यसरी आफैँ घरटहरा खाली गराउने क्रम शनिवार बिहानसम्म पनि जारी थियो।

यो अवस्था देखेपछि स्थानीय प्रशासनले बिहान ६ बजेदेखि घरटहरा भत्काउने कार्यक्रम पछि सारेर आफैँ खाली गर्ने अवसर प्रदान गरेको थियो। करिब ८ बजेबाट संरचना हटाउन थालिएको थियो। वडा नं. ११ का अध्यक्ष एवं महानगरपालिकाको भवन व्यवस्था समितिका संयोजक हीरालाल तण्डुकारका अनुसार वडाभित्र थापाथली र वंशीघाट गरेर ३३२ वटा घरटहरा थिए। यसमध्ये थापाथलीतर्फका १३६ घरटहरा भत्काइएका छन्।

बागमती नदी खण्डको सिनामंगलदेखि वानेश्वर क्याम्पससम्म रहेको अव्यवस्थित बस्ती अन्तर्गत वडा नं. ९ तर्फ १६२ घरधुरी र वडा नं. ३१ तर्फ दीर्घशान्ति टोल (जागृतिनगर) मा ४७६ घरटहरा थिए। यीमध्ये वैशाख १२ गते वडा नं. ९ तर्फका घरटहरा खाली गराइयो। वडा नं. ३१ तर्फ यस दिन राती ९ बजेसम्म भत्काउँदा केही भागको मात्र काम सकिएको थियो।

आइतबार बिहान मनोहरा क्षेत्रमा जनशक्ति, स्रोत साधन केन्द्रित गरिएको थियो। महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीका अनुसार मनोहरा क्षेत्रका अव्यवस्थित बस्ती भत्काउने क्रमसँग मध्यान्नबाट स्रोत साधन बाँडेर दिउँसो १ बजेदेखि वडा नं. ३१ जागृतिनगरका घरटहरा भत्काउन थालिएको थियो। जागृतिनगरसँगै मनोहरा नदी खण्डमा काठमाडौँ र मध्यपुर थिमितर्फ दुवैतर्फ काम भइरहेको छ।

उपत्यका विकास प्राधिकरणका अनुसार महानगरपालिकाको वडा नं. १५ को स्वयम्भू वन परिक्रमा मार्गको नमुना टोलमा ४६ घरधुरी सार्वजनिक तथा पर्ती जग्गामा छन्। वडा नं. १६ को जागृति मार्गमा १२३ घरधुरी र वुद्धज्योतीमा ७६ घरधुरी छन्।

महानगरपालिकाको चमती विकास आयोजनाका प्रमुख निर्मलराज बरालका अनुसार वनस्थलीबाट परिक्रमा मार्ग प्रवेश गर्दा गर्दै ५ घर सुकुम्वासी बस्तीका रूपमा रहेको छ। प्राधिकरणको तथ्याङ्क अनुसार वडा नं. ३२ को जडीबुटी मिलन चोकमा ११४ घरधुरी, वडा नं. १४ को जागरण मार्गमा ४०१ घरधुरी, वडा नं. वडा नं. २९ अनामनगरमा २३ घरधुरी छन्।

वडा नं. १० का अध्यक्ष एवं महानगरपालिकाको सामाजिक समितिका संयोजक रामकुमार के. सी. का अनुसार यस वडाको देवीनगर, विनायक नगर र शंखमुल गरी ३ ठाउँमा करिब २ सय ३० परिवार छन्। उनका अनुसार नदीको किनारामा सडक छ। सडकपछि बस्ती छ।

वडा नं. ६ का सदस्य नरेन्द्रकुमार थापाका अनुसार वडाभित्रको रामहिटीमा १४८ घरधुरी, सुबिगाउँमा ४२, रेम्बोडाँडामा ९ घर, शान्तिनगरमा १४ घर, चुच्चेपाटीमा २२ घर र कुमारीगालमा ११ घरटहरा छन्।

अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले २०७९ सालमा तयार पारेको प्रतिवेदन अनुसार उपत्यकाका नदी किनारमा ३ हजार ४९६ घरधुरी अव्यवस्थित बसोबासी छन्।

समितिको प्रतिवेदनले, काठमाडौँ महानगरभित्र २ हजार २४५ घरधुरी, कागेश्वरी नगरपालिकामा ९०, बुढानीलकण्ठमा १५६, ललितपुर महानगरभित्र १७ र भक्तपुर नगरपालिकामा ७७३ अव्यवस्थित बसोबासी रहेको देखाएको छ।

तीन वर्ष अन्तरालमा केही घर थपिएका हुन सक्ने भन्दै महानगरले काठमाडौं उपत्यकामा झन्डै चार हजार अव्यवस्थित बसोबासी रहेको अनुमान गरेको छ।

समाचार शेयर गर्नुहोस्
72
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.