अमेरिका – भूटानी नेपाली साहित्यको संरक्षण र प्रवर्द्धनमा क्रियाशील अग्रणी संस्था साहित्य परिषद्, भूटानको अध्यक्ष पदमा साहित्य सेवी तथा सक्रिय अभियन्ता खेम रिजाल निर्विरोध चयन भएका छन्।
सन् २०२६ मे ९ (शनिवार) का दिन सम्पन्न परिषद्को भर्चुअल बैठकमा निर्वाचन समितिले नयाँ कार्यसमितिको घोषणा गरेको हो।
निर्वाचन समितिका संयोजक रूपनारायण पोख्रेलले सार्वजनिक गरेको विवरण अनुसार, नयाँ कार्यसमितिमा उपाध्यक्ष पदमा तिलारूपा आचार्य (अधिकारी), महासचिवमा निल अधिकारी, कोषाध्यक्षमा खगेन्द्र भण्डारी (जन्तरे) र सदस्यमा भीम अधिकारी चयन भए।
निष्पक्ष र पारदर्शी निर्वाचनका लागि रूपनारायण पोख्रेल, मनोज राई र प्रतिमान सिवा सम्मिलित तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो। परिषद्का ६३ सदस्यहरूमध्येबाट आवेदन आह्वान गरिएकोमा प्रारम्भिक चरणमा पाँच जनाको मात्र उम्मेदवारी परेको र १५ दिनको समय थप्दा पनि अन्य आवेदन नआएपछि उम्मेदवारी दिने सदस्यहरूलाई नै जिम्मेवारी सुम्पिएको हो।
यो घोषणा भुट्नीलिट्रेचर डटकम पाक्षिक प्रकाशनको १७औँ स्थापना दिवसको विशेष अवसरमा गरिएको हो। पुनर्वासपछिको यो परिषद्को चौथो कार्यसमिति हो। यसअघि सन् २०१० देखि २०२६ सम्ममा साहित्यकार तथा पत्रकार भक्त घिमिरे, कवि शिवालाल दाहाल र साहित्यकार गङ्गाराम लामिटारेसम्म तीनवटा कार्यसमितिहरूले काम गरिसकेका छन्।
नवनिर्वाचित अध्यक्ष खेम रिजालको नेतृत्वमा रहेको समितिले आफ्नो गतिविधिलाई विश्वव्यापी बनाउन अस्ट्रेलिया, क्यानडा, न्यूजील्याण्ड, युरोप र दक्षिण एसियामा निर्देशनालयहरू स्थापना गर्ने निर्णय गरेको छ। परिषद् अमेरिकामा दर्ता भएको गैर-नाफामुखी संस्था (LCOB) भएकाले कार्यसमितिमा अमेरिकामा रहेका सदस्यहरूलाई समावेश गरिएको छ।
“यो नयाँ नेतृत्वले आगमि दिनहरूमा अग्रजहरूलाई सम्मान गर्दै,अनुजहरूलाई धेरै समावेश गर्दै नेपाली भाषा साहित्यको प्रवर्धनमा क्रियाशील रहने छ” खेम रिजालले भने।
सन् १९९३ मार्च १७ मा झापाको बेलडाँगी–२ शरणार्थी शिविरमा’भाषा परिषद्, भूटान’का रूपमा स्थापना भएको संस्थाले विस्थापनको कठिन समयमा पनि नेपाली भाषा र साहित्य जोगाउन महत्त्वपूर्ण भूमिका खेलेको थियो। सन् २००३ देखि यसको नाम ‘साहित्य परिषद्, भूटान’ राखिएको हो। यस संस्थाले शरणार्थी शिविरहरूमा रहँदा १० हजारभन्दा बढी भूटानी नेपालीहरूलाई साक्षर बनाउने ऐतिहासिक अभियान समेत सञ्चालन गरेको थियो।
नयाँ कार्यसमितिले प्रवासमा फैलिएको भूटानी नेपाली साहित्यिक यात्रालाई नयाँ ऊर्जा, दृष्टि र समर्पणका साथ अघि बढाउने र नेपाली भाषा, संस्कृति तथा पहिचानको जगेर्नामा समर्पित रहने विश्वास व्यक्त गरेको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.