शरणार्थी शिविरदेखि न्यूयोर्कसम्म : कुमारी रेग्मीलाई ‘इम्पावरमेन्ट इन एक्सन अवार्ड’

शरणार्थी शिविरदेखि न्यूयोर्कसम्म : कुमारी रेग्मीलाई ‘इम्पावरमेन्ट इन एक्सन अवार्ड’

302
SHARES

अमेरिका – न्यूयोर्कमा बसोबास गर्दै आएकी भुटानी मूलकी नेपालीभाषी महिला कुमारी रेग्मीलाई यस वर्षको प्रतिष्ठित ‘इम्पावरमेन्ट इन एक्सन अवार्ड अफ द इयर’ प्रदान गरिएको छ। उक्त सम्मान पामेला जे.हंटरद्वारा आयोजित ‘एक्सेप्शनल वमन अफ़ सेन्ट्रल न्यूयाेर्क’ कार्यक्रमका अवसरमा प्रदान गरिएको हो।

न्यूयोर्क राज्य विधानसभाले प्रदान गरेको ‘Citation’ मा रेग्मीलाई समुदाय सशक्तीकरण, स्वास्थ्य सचेतना, नेतृत्व विकास तथा आप्रवासी र शरणार्थी समुदायको उत्थानमा पुर्‍याएको योगदानका लागि सम्मान गरिएको उल्लेख छ।

भुटानमा जन्मिएकी रेग्मी बाल्यकालमै परिवारसहित विस्थापित भई नेपालको शरणार्थी शिविरमा पुग्न बाध्य भएकी थिइन्। उनले आफ्नो जीवनका १७ वर्ष नेपालस्थित भुटानी शरणार्थी शिविरमा बिताइन्। सीमित अवसर, स्वास्थ्य सेवा र कठिन जीवन संघर्षबीच हुर्किएकी रेग्मी सन् २००९ मा अमेरिका पुनर्वास भएपछि निरन्तर सङ्घर्ष र मेहनतबाट आज सफल स्वास्थ्यकर्मी तथा सामुदायिक अभियन्ताका रूपमा स्थापित भएकी छन्।

हाल उनी पारिवारिक नर्स प्राक्टिसनर (Family Nurse Practitioner) का रूपमा कार्यरत छिन्। साथै स्टेट युनिभर्सिटी अफ न्यूयोर्क पोलिटेक्निक इन्स्टिच्युटमा सहायक प्राध्यापकको जिम्मेवारीसमेत सम्हालिरहेकी छन्। उनी ‘ परिवार स्वास्थ्य हेरचाह’ तथा ‘KB Property Service NY LLC’ की सह-सञ्चालक पनि हुन्।

व्यावसायिक भूमिकासँगै रेग्मी सामाजिक सेवामा पनि सक्रिय रहँदै आएकी छन्। उनी ‘Refugee Congress’ की अपस्टेट न्यूयोर्क प्रतिनिधि तथा ग्लोबल भुटानी हिन्दू सङ्गठन (GBHO) की स्वास्थ्य तथा कल्याण निर्देशकका रूपमा कार्यरत छिन्। उनले स्वास्थ्य शिविर, क्यान्सर सचेतना कार्यक्रम, स्वास्थ्य शिक्षा तथा विपन्न र आप्रवासी समुदायका लागि विभिन्न जनचेतनामूलक अभियान सञ्चालन गर्दै आएकी छन्।

कार्यक्रममा बोल्दै एसेम्बली सदस्य पामेला जे. हन्टरले रेग्मीलाई “अरूलाई अवसर दिने, प्रेरणा जगाउने र समुदायलाई सशक्त बनाउने दूरदर्शी महिला” का रूपमा प्रशंसा गरिन्।

अवार्ड ग्रहणपछि प्रतिक्रिया दिँदै रेग्मीले भनिन्: “मेरो परिवारको साथ र सहयोग बिना यो सम्भव थिएन। मेरा आमाबुबा, सासू–ससुरा र श्रीमान् विकास रेग्मीको निरन्तर माया, विश्वास र प्रेरणाले नै मलाई यहाँसम्म ल्याएको हो।”

तीन सन्तानकी आमा रेग्मीले आफ्नो सफलतालाई सम्पूर्ण शरणार्थी, आप्रवासी महिला तथा सङ्घर्षरत युवापुस्ताको प्रेरणासँग जोड्दै कठिन परिस्थितिमा पनि नहार्न आग्रह गरिन्।

उनको यो सम्मानले नेपालीभाषी भुटानी समुदाय मात्र नभई सम्पूर्ण आप्रवासी समुदायलाई गौरवान्वित बनाएको प्रतिक्रिया सामाजिक सञ्जालमा व्यक्त भएका छन्।

समाचार शेयर गर्नुहोस्
302
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.