काठमाडौं – भूटान स्वतन्त्र जनमञ्च र राष्ट्रिय मेलमिलाप समिति भूटानले भूटानी शरणार्थी समस्याको दीर्घकालीन समाधान गरिदिन प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग माग गरेका छन्। उनीहरूले भूटानी शरणार्थीहरूको सम्मानजनक स्वदेश फिर्तीको विकल्प अगाडि बढाउन आग्रह गरेका हुन्।
संयुक्त राष्ट्रसङ्घको अगुवाइ र मध्यस्थतामा समन्वय, वार्ता, छलफल, नीति निर्णय तथा निर्देशनजस्ता आवश्यक ठोस पहल गरी स्वदेश फिर्ती हुन पाउने अधिकार सुनिश्चित गरिदिन जनमञ्च र मेलमिलाप समितिले माग गरेका छन्।
रास्वपा सभापति लामिछानेलाई भारत भ्रमणका क्रममा भूटानसँग वार्ताको वातावरण बनाउन पहल गरिदिन समेत अनुरोध गरिएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफलको विषय बनाई मागको उचित सम्बोधनमा भूमिका खेलिदिन भूतपूर्व शिविर सचिव समेत रहेका भूटान स्वतन्त्र जनमञ्चका महासचिव डि.बी. सुब्बा र राष्ट्रिय मेलमिलाप समिति भूटानका संयोजक कृष्ण वीर तामाङले हस्ताक्षर गरेको पुनःस्मरणपत्रमार्फत आग्रह गरिएको हो।
रास्वपा सभापति लामिछानेलाई आसन्न भारत भ्रमणका क्रममा भारत र भूटानसँग भूटानी शरणार्थीहरूको मागलाई छलफलको विषय बनाउन अनुरोध गरिएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहलाई सम्बोधन गरी पठाइएको पत्रमा भूटानी शरणार्थीहरूको स्वेच्छिक तथा सम्मानजनक स्वदेश फिर्तीका लागि पहल गरिदिन पुनःस्मरण गराइएको उल्लेख गरिएको छ।
रास्वपा सभापति लामिछानेलाई सम्बोधन गरिएको पत्रमा पनि विषय “पुनःस्मरणपत्र सम्बन्धमा” नै उल्लेख गरिएको छ। प्रधानमन्त्री वालेनलाई प्रधानमन्त्रीको रूपमा तथा रवि लामिछानेलाई प्रतिनिधिसभा सदस्यको रूपमा बधाई दिँदै सफल कार्यकालको शुभकामना समेत व्यक्त गरिएको छ।
विगत ३४ वर्षदेखि भूटानी निरंकुश सरकारको उत्पीडन र दमनमा परी लखेटिएका भूटानी नागरिकहरूलाई नेपालकै पहलमा झापा र मोरङ जिल्लामा आश्रय प्रदान गरिएको पत्रमा उल्लेख गरिएको छ।
प्रधानमन्त्री वालेन र रास्वपा सभापति लामिछानेलाई पठाइएको एकै बेहोराको पुनःस्मरणपत्रमा स्वदेश फिर्तीका लागि नेपाल सरकार र भूटान सरकारबीच भएका १५ चरणसम्मका वार्ताले ठोस निष्कर्ष निकाल्न नसकेको उल्लेख छ। वार्ता अवरुद्ध भएपछि भूटानी शरणार्थी समस्या समाधानका विकल्पहरूमध्ये स्वदेश फिर्तीको विषयलाई बेवास्ता गरिएको भन्दै सुब्बा र तामाङले गुनासो गरेका छन्।
पत्रमा तेस्रो देश पुनर्वास प्रक्रियालाई मात्र प्राथमिकता दिइएको उल्लेख गर्दै अमेरिका, अस्ट्रेलिया, क्यानडा, डेनमार्कलगायत ८ वटा मुलुकमा करिब १ लाख १३ हजार ५ सय भूटानी शरणार्थीहरूको पुनर्वास गराइसकिएको उल्लेख गरिएको छ। यसबाट सम्बन्धित पक्षहरूमा भूटानी शरणार्थी समस्या समाधान भइसकेको जस्तो बुझाइ बने पनि सम्मानजनक रूपमा स्वदेश फर्कन चाहने शरणार्थीहरूको समस्या अझै समाधान नभएको तर्फ प्रधानमन्त्री वालेन र रास्वपा सभापति लामिछानेलाई स्मरण गराइएको छ।
हालसम्म पनि झापाको बेलडाँगी र मोरङको पथरी–शनिश्चरेस्थित शिविरमा खाद्यान्न, स्वास्थ्य, शिक्षा, आवासजस्ता मानवीय आधारभूत सुविधाहरू कटौती हुँदै जाँदा पनि आफ्नै देश फर्कन पाउने विश्वासमा करिब ६ हजार ५ सय जना भूटानी शरणार्थीहरू विभिन्न समस्यासँग जुध्दै जीवनयापन गरिरहेको पत्रमा उल्लेख गरिएको छ।
भूटानी शरणार्थीहरूसम्बन्धी विभिन्न विषयहरू उठ्न थालेकोप्रति गम्भीर ध्यानाकर्षण भएको समेत पत्रमा उल्लेख छ। शिविरमा रहेका भूटानी शरणार्थीहरूमध्ये आत्मसम्मानपूर्ण रूपमा स्वदेश फर्किन पाउनुपर्छ भन्ने पक्षको तर्फबाट आफूहरूले निवेदन गरेको महासचिव डि.बी. सुब्बा र संयोजक कृष्ण वीर तामाङले स्पष्ट पारेका छन्।
भूटानी शरणार्थीहरूको स्वदेश फिर्तीका लागि आवश्यक कदम, वार्ता र छलफलका लागि निर्णय गरी सम्भव र आवश्यक भएसम्म प्रधानमन्त्रीले सम्बन्धित पक्षहरूसँग मागलाई छलफलको विषय बनाई भूटान सरकारसँग वार्ता गरिदिन पुनःस्मरण गराइएको छ।
शिविरको कामकाजसम्बन्धी कागजातहरूमा समेत “भूटानी शरणार्थी शिविर” को नाम परिवर्तन गर्दै “शिविर व्यवस्थापन समिति” को सट्टा “बस्ती व्यवस्थापन समिति” शब्द प्रयोग गर्न थालिएकोप्रति पनि उनीहरूले चिन्ता व्यक्त गरेका छन्। यसले भूटानी शरणार्थीहरूको पहिचान दिनप्रतिदिन लोप हुँदै जाने खतरा रहेको भन्दै प्रधानमन्त्री वालेन र रास्वपा सभापति लामिछानेको ध्यानाकर्षण गराइएको छ।
सुब्बा र तामाङले शिविरको नामकरण यथावत् “भूटानी शरणार्थी शिविर” नै राख्न माग गरिएको महासचिव सुब्बाले जानकारी दिए।
प्रधानमन्त्री वालेन्द्र शाहलाई पठाइएको पत्रको बोधार्थ परराष्ट्रमन्त्री, गृहमन्त्री, जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी, यूएनएचसीआर तथा दमक नगरपालिकाका नगरप्रमुखलाई समेत दिइएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.