गणतन्त्र दिवसमा राष्ट्रपतिको सन्देश : बेथिति अन्त्य नगरे परिवर्तन पुष्टि हुँदैन

गणतन्त्र दिवसमा राष्ट्रपतिको सन्देश : बेथिति अन्त्य नगरे परिवर्तन पुष्टि हुँदैन

76
SHARES

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रले सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको र यो हाम्रा लागि राष्ट्र निर्माणको एक महान् प्रेरणा र अभिभारा भएको बताएका छन्।

राष्ट्रपति पौडेलले १९औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रवार सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै यस्तो धारणा व्यक्त गरेका हुन्।

“गणतन्त्रले हामीलाई सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको छ। यसले हामीलाई समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जाने अवसर पनि दिएको छ। यसले देशवासीलाई जोडेको छ र एक साझा राष्ट्र बनाउने सङ्कल्पका लागि अभिप्रेरित गरेको छ। किनभने यसले हामीलाई आफ्नो जाति, भाषा, धर्म, सम्प्रदाय, सभ्यता र भूमिको स्वामित्व दिएको छ। त्यसैले यो हाम्रा लागि राष्ट्र निर्माणको एक महान् प्रेरणा र अभिभारा हो,” उनले भने।

उनले गणतन्त्रको मर्यादालाई बचाउन र यसलाई अझ समृद्ध बनाउन सबै राजनीतिक निष्ठा, मूल्यमान्यता एवम् आचरणमा परिवर्तनसहित एकताबद्ध भएर लाग्ने आशा व्यक्त गरे। राष्ट्रपति पौडेलले गणतन्त्र फगत एक व्यवस्था मात्रै नभई आचरणशील राजनीतिक, आर्थिक र सामाजिक जीवन पद्धति पनि भएको बताए।

“यसका आफ्नै मूल्यमान्यता र नैतिक दायराहरू हुन्छन्। त्यसलाई बिर्सिएर हामीले इतिहासको अभिभारा पूरा गर्न सक्दैनौँ। आजको दिनले हामीलाई सामाजिक न्याय, विकास र समृद्धिसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उच्चतम र सार्थक अभ्यासमा अगाडि बढ्न तथा राजनीति, राज्य र राजकाजलाई नैतिकता, निष्ठा र मूल्यमान्यताको सीमाभित्र आबद्ध गर्न प्रेरणा देओस्,” उनले भने।

मुलुकमा उत्पन्न विषम परिस्थितिको निकासका लागि भएको प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएर बलियो जनादेशसहितको सरकार बनेको उल्लेख गर्दै उनले जनताको चाहनाअनुसार समृद्धिका लागि सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र सामाजिक उन्नतिलाई आधारभूत मार्गदर्शनका रूपमा अगाडि बढाउने निर्णय गरिएको बताए।

साथै, उनले शासकीय सुधारका एक सय कार्यसूचीलाई पूर्ण कार्यान्वयन गर्दै सीमारहित अर्थतन्त्र र तौलरहित व्यापारका निम्ति संरचनागत तथा कानूनी सुधार गर्ने सरकारको निर्णय कार्यान्वयन भई जनतामा आशा जागृत हुने विश्वास व्यक्त गरे।

“हामी सबैले बुझ्नुपर्छ, राजनीतिक व्यवस्था र शासकीय संरचनामा आउने परिवर्तनहरूले मात्र युगका अपेक्षाहरू पूरा हुँदैनन्। यसका लागि हाम्रो राज्यसत्ताको चरित्र, आचरण, राजनीतिक निष्ठा र मूल्यमान्यतामा पनि परिवर्तन ल्याउन आवश्यक हुन्छ। अन्यथा व्यवहारले राजनीतिक परिवर्तनलाई पुष्टि गर्दैन,” राष्ट्रपति पौडेलले भने।

उनले आज हाम्रो सबैभन्दा ठूलो शत्रु अरू कोही नभई ढिलासुस्ती, अनियमितता र बेथिति भएको बताए। लोकतान्त्रिक गणतन्त्रको सुन्दर सपना बोकेका नागरिकहरूलाई यिनै बेथितिहरूले निराश नबनाओस् भन्ने हाम्रो चिन्ता हुनुपर्नेमा उनले जोड दिए।

“जबसम्म हाम्रा प्रत्येक नागरिकको जीवनमा आशाको दियो बल्नेछैन, त्यो बेलासम्म हामीले रगत र पसिनासँग साटेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य पूरा हुँदैन,” राष्ट्रपति पौडेलले भने।

उनले नागरिकले सुशासनसहितको समृद्धि खोजेको उल्लेख गर्दै त्यसका लागि देशका स्रोतहरूको उच्चतम प्रयोग गर्न आवश्यक रहेको बताए। त्यसो भए मात्र कृषि, पर्यटन, ऊर्जा लगायत औद्योगिक तथा सेवा क्षेत्रलाई बलियो बनाउन सकिने उनको भनाइ थियो।

“अनि मात्र आर्थिक विकास र समृद्धिबाट शासन व्यवस्थालाई हामी नागरिकको जीवनसँग जोड्न सक्छौँ। यो नै आजका लागि हाम्रो ऐतिहासिक अभिभारा हो। यो अर्थमा आजको दिनले हामीलाई आफ्नो ऐतिहासिक दायित्व सम्झाएको छ। म आशा गर्छु, हामी यो दायित्वलाई बिर्सने छैनौँ,” उनले भने।

राजनीतिक उपलब्धिहरू मात्रै परिवर्तनलाई नागरिकको जीवनसँग जोड्न पर्याप्त नहुने भन्दै उनले शासकीय चरित्र, राजनीति, पार्टी र नेताको चरित्र बदल्नुपर्ने धारणा व्यक्त गरे।

“गणतन्त्रको उत्कृष्टताको सार्थकता प्राप्त गर्न हाम्रो राजनीति, हाम्रो शासकीय शैली, राजनीतिक दल र जनप्रतिनिधिमूलक संस्थाहरूलाई पूर्ण लोकतान्त्रिक, निष्पक्ष, प्रतिस्पर्धात्मक, न्यायपूर्ण र प्रभावकारी बनाउन ढिलो गर्न हुन्न भन्ने म ठान्दछु,” उनले भने।

राष्ट्रपति पौडेलले अब प्राप्त उपलब्धिलाई सबल बनाउन सम्पूर्ण त्याग र विनयशीलताका साथ प्रयत्न गर्नुपर्ने बताए। साथै, प्राप्त राजनीतिक अधिकारको जगमा सामाजिक न्यायसहितको आर्थिक तथा सामाजिक समृद्धि सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिए।

“हाम्रा राजनीतिक दल, हाम्रो सरकार, हाम्रो नेतृत्व सृजनशील, विनयशील, जनउत्तरदायी, चरित्रवान् र आचरणशील हुनैपर्दछ। हाम्रा शासकीय संरचना र राज्यका अङ्गहरूलाई गतिशील र परिणाममुखी बनाउनै पर्दछ। हामीले सुशासनको प्रत्याभूति दिनै पर्दछ,” उनले भने।

राष्ट्रपति पौडेलले संविधानले निर्दिष्ट गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक स्वतन्त्रतासहित निमुखालाई न्याय र विपन्नलाई आयको परिलक्ष्य राखेको उल्लेख गरे। अधिकारका विभिन्न प्रकार उल्लेख गरिए पनि ती सबै अधिकारले निमुखा जनतालाई निर्बाध स्वतन्त्रता उपभोग गर्ने र उनीहरूको जीवनस्तर उकास्ने अवसर प्रदान गर्ने विषय नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रले बोकेको दर्शनभित्रको अन्तर्वस्तु भएको उनको भनाइ थियो।

“हामी सबैलाई थाहा छ, लोकतान्त्रिक गणतन्त्र संसारकै एक उत्कृष्ट राजनीतिक व्यवस्था हो। जनता आफैँले बनाएको संविधानमार्फत यसलाई हामीले सङ्घीयता, समावेशिता, सामाजिक न्याय र लोकतन्त्रमा आधारित समाजवादको सारगर्भित मान्यताहरूले सिञ्चित गरेर थप सर्वोत्कृष्ट बनाएका छौँ। अतः संसारमै योभन्दा उन्नत अर्को कुनै व्यवस्था छैन,” राष्ट्रपति पौडेलले भने।

उनले यो व्यवस्थाले नागरिकलाई सार्वभौम बनाएको, राज्य सत्ता र शक्तिको स्रोत पूर्णतः नागरिकलाई मानेको तथा संविधानले नागरिक सर्वोच्चतालाई महान् उपलब्धिका रूपमा अभिलेखन गरेको बताए। यही अभ्यासले सिंहदरबारको अधिकार गाउँ–गाउँसम्म पुर्‍याएको उनको भनाइ थियो।

राष्ट्रपति पौडेलले स्थानीय तथा प्रदेश सरकारहरूले संविधानबमोजिमको जिम्मेवारी निर्वाह गरिरहेको उल्लेख गर्दै यस शासकीय व्यवस्थामा जनताको घर आँगनबाटै सार्वभौमिकताको अभ्यास भइरहेको बताए।

“नागरिकको गुनासो भए शासकीय संरचनाबाटै सम्बोधन गर्न सकिने उदार, उन्नत लोकतान्त्रिक अभ्यास भइरहेको छ। यसले लोकतन्त्रको जरा बलियो बनाउँछ। लोकतन्त्रमा अन्तिम मालिक जनता नै हुन् भन्ने मान्यता स्थापित भएको छ,” राष्ट्रपति पौडेलले भने।

उनले आजको दिन हाम्रा लागि विशेष भएको र यो केवल साधारण दिन नभई ऐतिहासिक दिन भएको बताए। “किनभने आजभन्दा ठिक १९ वर्षअघि हामीले नागरिक सर्वोच्चतासहितको लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेका थियौँ,” उनले भने।

राष्ट्रपति पौडेलले यस ऐतिहासिक अवसरमा बहुलवादमा आधारित लोकतन्त्र, जनअधिकार, नागरिक स्वतन्त्रता र सुशासनसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न इतिहासका विभिन्न कालखण्डमा भएका जनआन्दोलन तथा विभिन्न आन्दोलन र सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरे।

साथै, उनले आन्दोलनका क्रममा जेल, नेल, निर्वासनसहित अनेकौँ यातना सहने र जस्तोसुकै कष्टमा पनि अविचलित भई परिवर्तनको पक्षमा क्रियाशील लोकतन्त्रका योद्धाहरूप्रति सम्मानसहित धन्यवाद तथा आभार व्यक्त गरे। सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्न ठूलो त्याग र परिश्रम गर्ने अग्रज नेताहरू, परिवर्तनका सारथि नागरिक समाज तथा राजनीतिक दलहरूलाई पनि उनले सम्मानपूर्वक स्मरण गरे।

समाचार शेयर गर्नुहोस्
76
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.