काठमाडौँ – सार्वजनिक कूटनीतिसम्बन्धी अमेरिकी उपविदेशमन्त्री सारा बी. रोजर्सले जेठ १७ गते काठमाडौँमा आयोजित एसेन्ट समिट २०२६ कार्यक्रममा मुख्य मन्तव्य प्रस्तुत गरेकी छन्।
अमेरिकी तथा नेपाली व्यवसायहरूलाई लाभ पुर्याउने नवप्रवर्तन र आर्थिक साझेदारीहरूको विस्तारका अवसरहरूलाई बढवा दिँदै उनी प्रतिनिधि सभाकी सांसद तथा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिकी सभापति सुम्निमा उदास, प्रख्यात पर्वतारोही कनर्याड एङ्कर, पर्वतारोहण अभियानका अगुवा, नवप्रवर्तक, आरोही, उद्धार पेसाकर्मी, पर्वतारोहण सामग्री व्यवसायी, पत्रकार र नेपाल तथा विश्वभरका पर्यटन क्षेत्रका नेतृत्वकर्ताहरूसँग सामेल भएकी हुन्।
उपविदेशमन्त्री रोजर्सले अमेरिका र नेपालबीच रहेको बलियो एवं चिरकालिक साझेदारीमाथि प्रकाश पारिन्। उनले साहसिक कार्य, उद्यमशीलता, नवप्रवर्तन र जनता-जनताबिचका सम्बन्धहरूले कसरी द्विपक्षीय सहयोगको विस्तार गर्नुका साथै नेपालमा अमेरिकी कम्पनीहरू र आर्थिक वृद्धिका लागि अवसरहरूको सृजना गर्दै छन् भन्नेबारे जोड दिइन। उनले हिमालयमा पर्यटन र अझ सुरक्षित पर्वतारोहण अभियानहरूलाई सहयोग पुर्याउनमा नेतृत्व, नवीन प्रविधि, सुरक्षा र अन्तर्राष्ट्रिय सहकार्यको महत्त्वमाथि पनि जोड दिइन।
नेपालस्थित अमेरिकी दूतावासद्वारा नेपाल पर्यटन बोर्ड र सेभेन समिट ट्रेक्ससँगको साझेदारीमा आयोजित एसेन्ट समिट २०२६ ले सगरमाथा र पर्वतीय अन्वेषणको भविष्यसँग जोडिएका १४०० भन्दा बढी सहभागीहरूलाई एकै ठाउँमा ल्याएको छ। पर्वतारोही, पर्वतारोहण अभियानका अगुवा, नवप्रवर्तक, पर्वतारोहण सामग्री व्यवसायी, सामुदायिक अगुवा, कलाकार र पर्यटन क्षेत्रका नेतृत्वकर्ताहरूले नेपालको पर्वतारोहण विरासत र अमेरिकी नवप्रवर्तनले कसरी पर्वतारोहण अभियानहरूलाई अझ सुरक्षित बनाउन र नेपालको साहसिक पर्यटन क्षेत्रको सुदृढीकरण गर्न सक्छन् भन्ने विषयमा विमर्श गरेका छन्।
नेपाल भ्रमणका क्रममा उपविदेशमन्त्री रोजर्सले वरिष्ठ सरकारी अधिकारी, अमेरिकी चेम्बर अफ कमर्सका सदस्य र अमेरिकी सरकारका आदानप्रदान तथा शैक्षिक कार्यक्रमका पूर्वसहभागीहरूसँग पनि भेट गर्नेछिन्। उपविदेशमन्त्री रोजर्सको नेपाल भ्रमणले अमेरिका र नेपालबीच लामो समयदेखि रहेको साझेदारीलाई विस्तारित आर्थिक सहकार्य, नवप्रवर्तन र जनता-जनताबीचका सम्बन्धहरूमार्फत अझ सुदृढ बनाउनप्रति अमेरिकी प्रतिबद्धताको पुनर्पुष्टि गर्ने अमेरिकी दूतावासले जनाएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.