काठमाडौं – लोकतन्त्रलाई सुदृढ बनाउन जिम्मेवार, तथ्यपरक र जनउत्तरदायी पत्रकारिता अपरिहार्य रहेको नागरिक समाजका प्रतिनिधिहरूले बताएका छन्।
सम्पादक समाज नेपालले काठमाडौँ महानगरपालिका वडा नं १७ को सहयोगमा आयोजित ‘नागरिकको अपेक्षा : जिम्मेवार पत्रकारिता’ विषयक अन्तरक्रियामा सुशासन, पारदर्शिता र समाज रूपान्तरणका लागि सञ्चार क्षेत्रको भूमिका सधैँ निर्णायक रहनेमा जोड दिइएको छ।
काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले स्थानीय सरकारका नीति, कार्यक्रम र सेवा प्रवाहलाई प्रभावकारी रूपमा जनतासम्म पुर्याउन सञ्चार माध्यमको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको बताए।
उनले भने, “सूचना सम्प्रेषणका विभिन्न माध्यम भए पनि सञ्चार क्षेत्रको भूमिका अग्रस्थानमा छ। सरकारलाई जबाफदेही र जनतालाई सचेत बनाउने सशक्त माध्यम नै सञ्चार क्षेत्र हो।”
प्रवक्ता मानन्धरले यथार्थ समाचार सम्प्रेषण गर्ने सञ्चार माध्यमलाई आवश्यक सहयोग गर्न काठमाडौं महानगरपालिका प्रतिबद्ध रहेको बताए।
कार्यक्रममा नेपाल बार एसोसिएसन काठमाडौं जिल्ला अध्यक्ष अधिवक्ता सुबोधबाबु चिलुवाल, इ. उमेश गुप्ता तथा नेपाल रेडक्रस सोसाइटी काठमाडौँका कोषाध्यक्ष लक्ष्मीरत्न तुलाधरले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको संरक्षणसँगै व्यावसायिक आचरण, सत्यपन र सन्तुलित प्रस्तुतिमार्फत जनविश्वास कायम राख्नुपर्ने धारणा राखे।
उनीहरूले सामाजिक सञ्जालमार्फत समाचार आउनुअघि नै घटना विवरण सार्वजनिक हुने क्रम बढ्दा आम नागरिक सही र यथार्थ समाचारबाट वञ्चित हुने अवस्था सिर्जना भएको बताए। पछिल्लो समयमा केही गलत समाचारका कारण देशमा नकारात्मक प्रभावसमेत परेको उल्लेख गर्दै यसतर्फ गम्भीर ध्यान दिनुपर्ने आवश्यकता उनीहरुले औँल्याए।
नेपाल पत्रकार महासङ्घ काठमाडौं जिल्ला शाखाका अध्यक्ष शोभा अर्यालले गुणस्तरीय पत्रकारिताका लागि सञ्चार गृहहरू सक्षम हुनुपर्नेमा जोड दिँदै सरकारी विज्ञापन नीतिका कारण सञ्चार संस्थाहरू समस्यामा परेको बताइन।
उनले अध्ययनले मात्र दक्ष पत्रकार बन्न नसकिने भएकाले कार्यस्थलमै पत्रकारलाई तालिम तथा प्रशिक्षणको अवसर दिन सके समाचारको स्तर र सत्यतामा वृद्धि हुने उल्लेख गरिन्। सरकारी विज्ञापन निजी मिडियामा नदिने नीतिको सहभागीहरूले आलोचना पनि गरेका थिए।
सेन्टर फर मिडिया रिसर्च (सीएमआर) का सेन्ट्रल मेम्बर पत्रकार भुवन केसीले नेपाली पत्रकारिता दलीय कारणले मात्र सिद्धिएको वा कमजोर भएको निष्कर्षमा पुग्न नहुने बताएका छन्। उनले लोकतन्त्र र प्रेस स्वतन्त्रताको सुदृढीकरणमा नेपाली पत्रकारिताले खेलेको भूमिकालाई नजरअन्दाज गर्न नसकिने उल्लेख गरे।
मिडियामा देखिएको आर्थिक सङ्कटको वास्तविक कारणबारे गम्भीर समीक्षा आवश्यक रहेको बताउँदै केसीले मिडियामा कसले लगानी गर्छ, कसले सञ्चालन गर्छ, कसले काम गर्छ, कुन स्थानबाट सञ्चालन गरिन्छ, कस्तो प्रविधि प्रयोग गरिन्छ तथा त्यसका दर्शक–श्रोता को हुन् भन्ने पक्षहरूको समग्र अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याए।
समाजका महासचिव श्यामकाजी डोटेलले वर्तमान परिवेशमा सञ्चार क्षेत्रका लागि प्रविधि र बदलिँदो प्रवृत्ति मुख्य चुनौतीका रूपमा देखा परेको बताए। डिजिटल माध्यमको तीव्र विस्तारसँगै पत्रकारहरूले नयाँ प्रविधिलाई आत्मसात् गर्दै आफ्नो दक्षता, क्षमता र प्रतिस्पर्धात्मकता अभिवृद्धिमा जोड दिनुपर्ने उनको भनाइ थियो। साथै सञ्चार क्षेत्रको गरिमा कमजोर बनाउने गैरव्यावसायिक तथा अव्यवस्थित मानवीय प्रवृत्तिलाई समयमै सुधार गर्न आवश्यक रहेको पनि उनले स्पष्ट पारे।
पत्रकारिताको मूल्य, मान्यता र आचारसंहितालाई व्यवहारमा कार्यान्वयन गर्न सके मात्र पेसागत मर्यादा सुदृढ रहने उनको भनाइ थियो।
सम्पादक समाजका अध्यक्ष पुरु रिसालले पत्रकारिता स्वभावतः जिम्मेवार र संवेदनशील पेसा भएकाले यसलाई अझ सजग, सचेत र व्यावसायिक अनुशासनका साथ निरन्तरता दिनुपर्ने बताए। उनले सत्यतथ्यमा आधारित, सन्तुलित र उत्तरदायी सामग्री प्रस्तुतिमार्फत मात्र पत्रकारिताको विश्वसनीयता जोगाउन सकिने धारणा राखे।
काठमाडौं महानगरपालिका वडा नं. १७ को सहयोगमा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार एवं प्रशिक्षक ताेया गौतमले डिजिटल प्रभाव, सामाजिक सञ्जालको विस्तार तथा अनलाइन सञ्चार माध्यमको बढ्दो प्रभावबारे कार्यपत्र प्रस्तुत गरेका थिए।
कार्यपत्र प्रस्तुत गर्दै उनले डिजिटल युगमा सूचना प्रवाहको गति तीव्र बन्दै जाँदा तथ्य परीक्षण, स्रोतको विश्वसनीयता र सामग्रीको गुणस्तर झन् महत्त्वपूर्ण बन्दै गएको बताए। अनलाइन पत्रकारिताको प्रतिस्पर्धी परिवेशमा व्यावसायिकता, जिम्मेवारी र विश्वसनीयतालाई सन्तुलनमा राख्नु नै मुख्य चुनौती रहेको उनको भनाइ थियो।
मिडिया हाउसहरूले पत्रकारलाई नियमित पारिश्रमिक नदिने, पाँच–छ महिनासम्म पारिश्रमिक रोकिराख्ने अवस्थादेखि प्रेस काउन्सिलमा परेका उजुरी तथा सञ्चारमाध्यमहरूको संख्यासम्बन्धी विवरणसमेत उनले प्रस्तुत गरे।
गोरखापत्र दैनिकका प्रधान सम्पादक एवं समाजका उपाध्यक्ष जुनारबाबु बस्नेतले सामाजिक सञ्जालका कारण मूलधारका सञ्चार माध्यमहरू चुनौतीमा परेको टिप्पणी गरे। उनले नागरिकका अपेक्षालाई समाचारमा प्रमुख प्राथमिकता दिन आवश्यक रहेको बताए।
सम्पादक समाज नेपालले अभियानका रूपमा आयोजना गरिरहेको ‘नागरिकको अपेक्षा : जिम्मेवार पत्रकारिता’ विषयक यो दोस्रो कार्यक्रम हो। यसअघि गत फागुनमा नुवाकोटका सञ्चारकर्मीहरूलाई समेटेर विदुरमा अन्तरक्रिया आयोजना गरिएको थियो।
समाजले पहिलो चरणमा बागमती प्रदेशका सबै जिल्लामा ‘नागरिकको अपेक्षा : जिम्मेवार पत्रकारिता’ अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.