धर्मको रक्षाको लागि साहस, विवेक र जागरणको आवश्यकता!!

धर्मको रक्षाको लागि साहस, विवेक र जागरणको आवश्यकता!!

“मानिस यदि अन्याय देखेर पनि मौन बस्छ भने, त्यो पनि अधर्मकै साथ हो।”

341
SHARES

महाभारत केवल युद्धको कथा होइन, द्रौपदीको आँसु, दुर्योधनको अहङ्कार, पाण्डवहरूको सङ्घर्ष र कृष्णको चेतना सबै मिलेर बनेको मानव आत्माको दर्पण हो। यो मानिसको मनभित्र चल्ने सङ्घर्षको महाकाव्य हो। अहङ्कार र धर्म, मोह र विवेक, प्रतिज्ञा र सत्यबीचको द्वन्द्व हो। यस विशाल कथाभित्र भीष्मपितामहको अन्तिम क्षण सबैभन्दा गहिरो र मार्मिक क्षण मध्ये एक मानिन्छ।

भीष्मपितामहको अन्तिम शय्या केवल मृत्युको प्रतीक्षामा थिएन, त्यो सम्पूर्ण जीवनको तप, प्रतिज्ञा र धर्म-संघर्षको अन्तिम ज्वाला थियो। शय्यामा शरीर हजारौँ बाणले छेडिएको थियो, तर चेतना विचलित भएको थिएन। त्यो पीडा सामान्य मानिसको पीडा जस्तो थिएन, त्यो एउटा युगको भार बोकेको आत्माको मौन अग्नि थियो।

भीष्मले जीवनभर प्रतिज्ञालाई धर्म ठाने, तर अन्तिम क्षणमा उनले धर्मको सूक्ष्म सत्यलाई अझ गहिरो रूपमा अनुभव गरे। उनले जीवनभर धर्मको रक्षा गर्ने प्रतिज्ञा गरे। आफ्नो सुख, विवाह, राज्य सबै त्यागे। त्यसैले उनको शय्या “उग्र” थियो-किनकि त्यहाँ शरीरको वेदना मात्र होइन, अन्तर्मनको गहिरो द्वन्द्व पनि थियो।

उनले चाहेका भए इच्छा-मृत्यु लिन सक्थे, तर सूर्य उत्तरायण नहुँदासम्म बाणमै रहे। यो केवल सहनशीलता होइन, अद्भुत चेतना, धैर्य र आत्मबलको प्रतीक थियो।

महाभारतको युद्ध समाप्त भइसकेको थियो। कुरुक्षेत्रको भूमि रगतले भिजेको थियो। टुटेका रथहरू, भाँचिएका धनुषहरू, र हजारौँ वीरहरूको शवहरूबीच साँझको अन्धकार बिस्तारै फैलिरहेको थियो।

तीरको शय्यामा लेटेका भीष्म पितामह आफ्नो जीवनका निर्णयहरू सम्झिरहेका थिए। शरीर त स्थिर थियो, तर मनभित्र अझै अनेक प्रश्नहरूको आँधी चलिरहेको थियो। तर अन्तिम समयमा उनलाई एउटा कुराले सबैभन्दा धेरै पोलिरहेको थियो-उनको आफ्नै मौनता।

जब द्रौपदीलाई सभामा अपमान गरियो, भीष्म त्यहाँ उपस्थित थिए। द्रौपदीको अपमान महाभारतको केन्द्रबिन्दु बन्यो। उनीभित्र धर्म काँपिरहेको थियो, तर उनी उठेनन्। उनको मौनता-उनको आत्माको सबैभन्दा ठूलो घाउ बन्यो।

त्यही बेला श्रीकृष्ण शान्त मुस्कानसहित पितामह नजिक आइपुग्नुभयो।

आकाश मौन थियो। हावा पनि मानौँ उत्तर सुन्न रोकिएको थियो।

भीष्मले गहिरो दृष्टिले कृष्णलाई हेरे अनि बिस्तारै बोले-“कन्हैया… एउटा कुरा भन त। यो युद्धमा जे भयो, के त्यो वास्तवमै उचित थियो..?द्रोणाचार्यको वध, दुर्योधनको जाँघमुनि प्रहार, दुःशासनको छाती चिरिनु, कर्णमाथि गरिएको आक्रमण, जयद्रथसँग गरिएको छल…के यी सबै धर्म थिए कृष्ण?”

श्रीकृष्ण केही क्षण मौन रहनुभयो। त्यो मौन साधारण मौन थिएन, त्यो समयभन्दा गहिरो मौन थियो।

“ईश्वर स्वयं तल ओर्लेर सबै काम गर्दैन पितामह। उसले केवल मार्ग देखाउँछ। हिँड्न त मनुष्यले नै पर्छ। मानिस यदि अन्याय देखेर पनि मौन बस्छ भने, त्यो पनि अधर्मकै साथ हो।”

कृष्णले मुस्कुराउँदै भन्नुभयो-“पितामह,यसको उत्तर म कसरी दिन सक्छु? उत्तर त भीमले दिन सक्छन्, जसले दुर्योधनलाई परास्त गरे।उत्तर त अर्जुनले दिन सक्छन्, जसले कर्ण र जयद्रथको वध गरे। म त केवल सारथि थिएँ…”

भीष्म हल्का मुस्कुराए। उनको अनुहारमा करुणा र व्यङ्ग्य मिसिएको थियो।

“अझै पनि छल गर्न छोड्दैनौ कृष्ण? संसारले भलै यो युद्ध पाण्डवहरूले जिते भनुन्, तर मलाई थाहा छ-यो केवल तिम्रो विजय हो।त्यसैले उत्तर पनि तिमीले नै दिनुपर्छ।”

कृष्ण अब गम्भीर हुनुभयो। उहाँको दृष्टि युद्ध भूमितिर गयो।

“त्यसो भए सुन्नुहोस् पितामह…यो युद्धमा कुनै अनैतिकता भएन। त्यही भयो,जे आवश्यक थियो।”

भीष्म अचम्मित भए।

“के भनिरहेका छौ कृष्ण? तिमी त मर्यादा र धर्मको प्रतीक हौ। फेरि यो छल के आवश्यक थियो…?”

भगवान्कृष्ण शान्त स्वरमा भन्नुहुन्छ-“इतिहासबाट शिक्षा लिनुपर्छ पितामह, तर निर्णय वर्तमानको परिस्थिति अनुसार गर्नुपर्छ। हरेक युगले आफ्नो आवश्यकता अनुसार नायक छान्छ। त्रेता युगमा राम आवश्यक थिए,द्वापरमा कृष्ण आवश्यक भए।”

भीष्म ध्यानपूर्वक सुनिरहेका थिए।

कृष्ण फेरि भन्नुहुन्छ-“रामको युग फरक थियो पितामह। त्यो युगमा रावणजस्ता खलनायक पनि शिवभक्त थिए। उनको परिवारमा विभीषणजस्तो धर्मात्मा जन्मिन्थ्यो। बालीजस्तो शक्तिशाली पात्रको घरमा पनि तारा जस्ती बुद्धिमती र अङ्गदजस्तो सज्जन सन्तान हुन्थे। त्यो समयका खलनायकहरू पनि धर्म जान्थे। त्यसैले रामले उनीहरूसँग छल गर्नु परेन। तर मेरो युग…मेरो युगमा कंस, जरासन्ध, शकुनि, दुर्योधन, दुःशासन थिए। उनीहरू केवल अधर्मी मात्र थिएनन्, उनीहरू धर्मको विनाश नै चाहन्थे। त्यसैले पितामह, जब अधर्मले नियम मान्दैन, तब धर्मले पनि नयाँ मार्ग खोज्नुपर्छ।”

भीष्मको आँखामा अब गहिरो चिन्तन झल्किन थाल्यो।

“तर कृष्ण…के यसले भविष्यमा गलत परम्परा बसाल्दैन? यदि सबैले आफ्नो छललाई धर्म भन्न थाले भने…?”

कृष्णको स्वर अब अझ गम्भीर भयो-“भविष्य अझ कठिन हुनेछ पितामह। कलियुगमा मानिसहरू सत्यलाई पनि स्वार्थअनुसार परिभाषित गर्नेछन्। त्यहाँ केवल सरल धर्मोपदेशले काम चल्दैन। जब क्रूर र अनैतिक शक्तिहरू सत्य र धर्मको जरा उखेल्न आउँछन्, त्यो बेला केवल आदर्शको भाषा पर्याप्त हुँदैन। त्यहाँ आवश्यक हुन्छ-धर्मको रक्षा। किनकि…‘धर्मो रक्षति रक्षितः’धर्मको रक्षा गर्नेको धर्मले नै रक्षा गर्छ। सत्य, न्याय, करुणा, कर्तव्य र सदाचारको मार्ग हो-धर्म। त्यसैले धर्मको रक्षा गर्नु भनेको आफ्नै जीवन, चरित्र र भविष्यको रक्षा गर्नु हो,पितामह!!”

हावा अचानक शान्त भयो। युद्ध भूमिको अन्धकार अझ गाढा बन्दै गयो।

कृष्ण फेरि भन्नुहुन्छ -“ईश्वर स्वयं तल ओर्लेर सबै काम गर्दैन पितामह। उसले केवल मार्ग देखाउँछ। हिँड्न त मनुष्यले नै पर्छ। मानिस यदि अन्याय देखेर पनि मौन बस्छ भने, त्यो पनि अधर्मकै साथ हो।”

भीष्मका आँखाबाट आँसु बगे। सायद पहिलो पटक उनले कृष्णलाई केवल मानव होइन, भगवान्को स्वरूप देखिरहेका थिए।

उनले बिस्तारै भने-“अब बुझ्दैछु कृष्ण…धर्म केवल नियम होइन रहेछ, धर्म त चेतना रहेछ। कहिलेकाहीँ कठोर निर्णय नै करुणाको अन्तिम रूप हुँदो रहेछ…”।

कृष्ण मुस्कुराउनुभयो।

भीष्मको श्वास अब बिस्तारै गहिरो बन्दै थियो। उनले आकाशतिर हेरे।

“कृष्ण…अब यो धरामा मेरो अन्तिम रात्रि हो। यदि सम्भव भए, तिम्रो यो अभागी भक्तमाथि कृपा गर्नु…”

कृष्णले नयन बन्द गर्नुभयो। मनमनै केही प्रार्थना गर्नुभयो। फेरि झुकेर भीष्मलाई प्रणाम गर्नुभयो।

महाभारतको वर्णनअनुसार, भीष्मले योगबलद्वारा प्राणलाई माथिल्लो केन्द्रतर्फ उर्ध्वगमन गराई शरीरबाट मुक्त गरे। त्यसैले उनको मृत्यु केवल शारीरिक अन्त्य नभई एक महान् योगीको सचेत महाप्रस्थान मानिन्छ। उनलाई इच्छा मृत्यु (इच्छाअनुसार मृत्यु रोज्ने वरदान)प्राप्त थियो।

जब कृष्ण त्यहाँबाट फर्किनुभयो, त्यो अन्धकारमय कुरुक्षेत्रमा भविष्यका लागि एउटा गहिरो सूत्र छोडेर जानुभयो।

जब अधर्मले धर्मलाई समाप्त गर्न खोज्छ,त्यो बेला केवल नैतिकताको भाषण पर्याप्त हुँदैन।

त्यहाँ आवश्यक हुन्छ-साहस, विवेक र जागरण। किनकि अन्ततः-“धर्मो रक्षति रक्षितः।”

समाचार शेयर गर्नुहोस्
341
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.