"/>

दलित पत्रकार सङ्घको राष्ट्रिय महाधिवेशनमा मायाको पहिचानः ‘विभेदविरुद्ध साझा संघर्ष’

दलित पत्रकार सङ्घको राष्ट्रिय महाधिवेशनमा मायाको पहिचानः ‘विभेदविरुद्ध साझा संघर्ष’

तेस्रोलिंगी समुदायबारे फैलिएको भ्रम चिर्दै बाबु दुमि

135
SHARES

काठमाडौं – राष्ट्रिय दलित पत्रकार सङ्घको दोस्रो राष्ट्रिय महाधिवेशनमा सहकार्य गर्ने, हातेमालो गर्ने र भावनाहरू साटासाट गर्ने उद्देश्यले मायाको पहिचान नेपालका प्रतिनिधिहरू उपस्थित भएको जानकारी संविधानसभा सदस्य एवं राष्ट्रिय दलित पत्रकार सङ्घका संस्थापक अध्यक्ष विनोद पहाडीले गराए।

“मायाको पहिचान नेपालका कार्यकारी निर्देशक, संविधानसभाका सदस्य, शुभेच्छुक तथा मेरा मित्र सुनिल बाबु पन्त हुनुहुन्छ,” पहाडीले भने, “मायाको पहिचान नेपालका साथीहरू स्टेजमा हुनुहुन्छ। सबै प्रोएक्टिभ साथीहरू अधिकारको पक्षमा निरन्तर लडिरहनुभएको छ। समाज र राज्यसँग निरन्तर सङ्घर्ष गर्दै आउनुभएको छ। उहाँहरू यहाँ उपस्थित हुनुहुन्छ।”

दलित समुदाय र यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले लामो समयदेखि विभेद, तिरस्कार, बहिष्करण र असमान व्यवहारको सामना गर्दै आएको सन्दर्भ उल्लेख गर्दै पहाडीले अधिकारको साझा यात्रामा सहकार्य आवश्यक रहेको बताए।

संविधानसभा सदस्य पहाडीले ‘दलन’ टेलिचलचित्रको बाँकी भाग निर्माण हुन नसकेको सुनाए। नेपालमा विद्यमान विभेदका विरुद्ध र विभेदको चरित्रलाई झल्काउने टेलिचलचित्र जागरण मिडिया सेन्टरले निर्माण गरेको उनले बताए। उक्त टेलिचलचित्र ५२ भागमा प्रसारण भएको थियो। उनले आज पनि त्यसको माग रहेको बताए।

“त्यो हेरेका पात्रहरूले जहाँ रोकिएको छ, त्यसलाई अझ अगाडि बढाउनुपर्‍यो भनेर संस्थालाई दबाब दिइरहनुभएको छ,” उनले भने, “दलनबाट जीवनयात्रा सुरु गरेका कलाकारहरू आज राष्ट्रिय जीवनका महत्त्वपूर्ण कलाकार बन्नुभएको छ।”

पहाडीले टेलिचलचित्र ‘दलन’ की पहिलो कलाकार दिया मास्केको नाम लिए। उनका अनुसार सुदर्शन थापा, दयाहाङ राईजस्ता थुप्रै कलाकारहरूलाई पहिलो प्लेटफर्मका रूपमा ‘दलन’ टेलिचलचित्रले अवसर दिएको थियो। नवीन सुब्बाले त्यसको निर्देशन गरेका थिए।

दलित आन्दोलनका अग्रज तथा वरिष्ठ साहित्यकार आहुतिले ‘दलन’ टेलिचलचित्रको कथा लेखेका थिए। संस्थापक अध्यक्ष सुभाष दर्नाल थिए। पाल्पामा जन्मिएका दर्नाल दलित अधिकारका विषयमा तथा दलित सञ्चारकर्मीलाई सशक्तीकरण गर्ने आन्दोलनका क्रममा एउटा सेमिनारमा सहभागी हुन अमेरिका पुगेका थिए। अमेरिकामै सवारी दुर्घटनामा दर्नालको निधन भएको थियो।

दर्नाललाई स्मरण गर्दै पहाडीले पत्रकार मात्र नभई समाज रूपान्तरणका योद्धा भएको बताए। “हामी समाचार लेखेर समाचारको रियाक्सन कुरेर बस्दैनौँ। त्यो समाचारको फलोअप गरेर समाजलाई जुरुक्क उठाउने अभियानमा हामी लाग्छौँ,” उनले भने।

संविधानसभा सदस्य पहाडीले मायाको पहिचान नेपालसँग निरन्तर सहयात्रा गर्ने चाहना व्यक्त गरे। आफूहरूको प्रस्ताव मायाको पहिचान नेपालले हार्दिकताका साथ स्वीकार गरेको उनले बताए। “उहाँहरूले भन्नुभयो, हामीले यो अवसर गुमाउँदैनौँ। हामीसँग जे छ, जे सक्छौँ, सहकार्य गर्छौँ। यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूको बारेमा मुलुकको अवस्था के छ भन्ने विषयमा थोरै प्रस्तुतीकरण पनि गर्छौँ,” उनले भने।

उनले संस्थाकी अध्यक्ष (माया गुरुङ्ग)लाई राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा वक्ताकै रूपमा राख्ने चाहना अन्तरहृदयमै रहेको बताउँदै क्षमा समेत मागे। “तयारीको व्यस्तताका कारण समयमा सम्प्रेषण गर्न सकेनौँ र हिजो हामीले उपस्थित गराउन सकेनौँ। आज साथीहरू आउनुभएको छ,” उनले भने।

महाधिवेशनमा उपस्थित पत्रकारहरूलाई सम्बोधन गर्दै पहाडीले अधिकारको आन्दोलनमा सञ्चारमाध्यमको भूमिकालाई महत्त्वपूर्ण बताए। “अधिकारको यात्रामा उहाँहरूले बोल्ने कुरा, उहाँहरूका गतिविधि र अधिकारको लडाइँमा उहाँहरूसँग सधैँ सहकार्य गर्नुपर्छ,” पहाडीले भने, “कलमका माध्यमले, आवाजका माध्यमले उहाँहरूसँग सहकार्य गर्नुपर्छ। उहाँहरूसँग दिल खोलेर आफ्नो जिज्ञासा राख्न सक्नुहुन्छ।”

“तपाईँ कस्तो व्यक्तिसँग आकर्षित हुनुहुन्छ? तपाईँ आफ्नो लैङ्गिक पहिचानलाई कसरी एक्सप्रेस गर्नुहुन्छ? मैले कपाल पालेँ, लालीपाउडर लगाएँ, मैले चुरा–पोते लगाए भन्दैमा महिला हुन्छु अथवा ढाका टोपी लगाउँदैमा म पुरुषै भइहाल्छु भन्ने बुझाइ गलत हो।”

जागरण मिडिया सेन्टरकी अध्यक्ष तथा संविधानसभा सदस्य कमला विश्वकर्माले अन्तरजातीय विवाह गरेकै कारण दलित समुदायका युवाहरूले ज्यान गुमाउनुपर्ने र हिंसा तथा विभेद भोग्नुपर्ने बाध्यता अझै अन्त्य नभएको बताइन्।

उनले अजित मिजारको शव अझै शिक्षण अस्पतालमै रहेको उल्लेख गरिन्। “उहाँसँग प्रेम गरेको महिलाले विवाह गरिसक्नुभएको छ, लाग्छ बच्चा पनि जन्मिसकेको छ,” उनले भनिन्, “दुई वर्ष अगाडि घरमा पुग्दा बुबाआमाका कुराहरू पीडादायी थिए। आमा मानसिक तनावले बोल्न नसक्ने अवस्थामा हुनुहुन्थ्यो।”

विश्वकर्माले संविधानमा व्यवस्था गरिएका अधिकारहरू कार्यान्वयनका लागि आवश्यक नीति तथा कानुन अझै निर्माण हुन नसकेको बताइन्। “कानुन नबनेका कारण कार्यान्वयन हुन सकेको छैन,” उनले भनिन्, “जागरण मिडियाले मिडियामा छलफल गरिरहेको छ, तर पनि सुनुवाइ भएको छैन।”

“तपाईँ कस्तो व्यक्तिसँग आकर्षित हुनुहुन्छ? तपाईँ आफ्नो लैङ्गिक पहिचानलाई कसरी एक्सप्रेस गर्नुहुन्छ? मैले कपाल पालेँ, लालीपाउडर लगाएँ, मैले चुरा–पोते लगाए भन्दैमा महिला हुन्छु अथवा ढाका टोपी लगाउँदैमा म पुरुषै भइहाल्छु भन्ने बुझाइ गलत हो।”

दलित पत्रकार सङ्घको राष्ट्रिय महाधिवेशनमा मायाको पहिचान नेपालबाट युरोपियन युनियनको सहयोग र एक्सन एड नेपालसँगको सहकार्यमा सुरु भएको राजनीतिक साक्षरता (कम्तीमा ५० जनालाई नेता बनाउने) कार्यक्रमका प्रदेश समन्वय अधिकारी बाबु दुमि राईले प्रस्तुति दिए।

लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले लामो समयदेखि गलत बुझाइ, तिरस्कार, विभेद र हिंसाको सामना गर्दै आएको उल्लेख गर्दै जेनजी बाबु दुमिले समाजमा रहेको आधारभूत भ्रमबारे चर्चा गरे।

“छोरा कि छोरी जन्मियो भन्ने मात्र प्रश्न गरिन्छ,” उनले भने, “तर छोरा र छोरीबाहेक अन्य लिङ्ग विशेषता भएका व्यक्ति पनि जन्मजात रूपमा जन्मिएका हुन्छन्। तपाईँले कहीँ कतै सुन्नुभएको पनि हुनसक्छ, ‘त्यसको छोरा यस्तो पो जन्मियो रे?’ शब्दमा अगाडि नै वार्निङ दिँदै उनले भने, ‘छक्का जन्मियो रे, हिजडा जन्मियो रे’ भन्ने गरिन्छ। जन्मिँदैखेरि त्यो भनेको इन्टरसेक्स हो। नबुझेको, मिसकन्सेप्सन र त्यसमा रहेको ग्याप हो। जनमानसमा बुझाइ कम छ।”

उनले जन्मजात शारीरिक विशेषता र पछि विकसित हुने लैङ्गिक पहिचानबीच फरक रहेको बताए। “जन्मजात पेनिस, भेजाइना र इन्टरसेक्स भनेको लिङ्ग नछुट्टिएको अथवा क्लियर नभएको सेक्स पहिलो कुरा हो। सेक्स आएपछि जेन्डर आइडेन्टिटी अर्थात् लैङ्गिक पहिचान पछि आउने हो,” उनले भने, “त्यो पछि तपाईँको लैङ्गिक पहिचान महिला हो कि, पुरुष हो कि, तेस्रोलिंगी हो कि, त्यो जेन्डर आइडेन्टिटी पछिबाट छुट्टिने कुरा हो।”

एलजीबीटीआईक्यूलाई लैङ्गिक पहिचान नभई यौन अभिमुखीकरणसँग सम्बन्धित विषयका रूपमा बुझ्नुपर्ने उनले बताए। “त्यो लैङ्गिक पहिचान होइन, सेक्सुअल ओरियन्टेसन अर्थात् यौन अभिमुखीकरण हो,” चटपटे, मम र चाउमिन सबैलाई एउटै प्रकारको मन नपर्न सक्ने उदाहरण दिँदै उनले भने, “सेक्सुअल ओरियन्टेसन भनेको पनि तपाईँ कोप्रति आकर्षित हुनुहुन्छ भन्ने कुरा हो।”

उनले समाजमा महिला जन्मिएपछि पुरुषसँग विवाह गर्नैपर्छ भन्ने बुझाइ बलियो रहेको बताए। “विवाह त गरिहाल्नुपर्छ है, पछि केटाहरूले नलग्लान्, अझ छोराछोरी जन्माइहाल्नुपर्छ, त छोरा हो भन्ने जुन बुझाइ छ, त्यो वास्तवमा सत्य होइन,” उनले भने।

मानिसको आफ्नै रुचि, विविधता र छनोट हुने उनले बताए। “यो यौन अभिमुखीकरण हो,” उनले भने, “तपाईँ कस्तो व्यक्तिसँग आकर्षित हुनुहुन्छ? तपाईँ आफ्नो लैङ्गिक पहिचानलाई कसरी एक्सप्रेस गर्नुहुन्छ? मैले कपाल पालेँ, लालीपाउडर लगाएँ, मैले चुरा–पोते लगाए भन्दैमा महिला हुन्छु अथवा ढाका टोपी लगाउँदैमा म पुरुषै भइहाल्छु भन्ने बुझाइ गलत हो।”

उनले कोही पुरुषलाई कपाल पाल्न मन लाग्न सक्ने बताए। “अब त्यसलाई तेस्रोलिंगी भन्नु मिल्यो त? त्यो उसको इच्छाको कुरा हो। उसलाई कसरी एक्सप्रेस गर्न मन लाग्छ? कतिलाई लिपिस्टिक लगाउन मन लाग्छ। सबैको एउटै विशेषता हुँदैन,” उनले भने।

“तपाईँ जन्मिँदा के लिएर आउनुभयो? तपाईँ आफ्नो लैङ्गिक पहिचान कसरी प्रस्तुत गर्नुहुन्छ? तपाईँको टेस्ट के हो? तपाईँ कस्तो खालको व्यक्तिप्रति आकर्षित हुनुहुन्छ? भावनात्मक रूपमा, सेक्सुअली अथवा मेन्टली जसरी भए पनि,” उनले भने, “यो बेसिक कुरा हो।”

उनले यति जानकारी मात्रै पर्याप्त नहुने बताए। “यो अहिले मात्रै आएको होइन, बाहिर युरोपबाट सिकेको पनि होइन,” उनले भने। डोनरहरूले पैसा दिएपछि जबरजस्ती भएको आरोप पनि लाग्ने गरेको उनको भनाइ थियो।

“अहिलेको जमानामा के आयो, आयो? केटा भएर केटासँग विवाह गर्ने रे? केटी भएर केटीसँग विवाह गर्ने रे? भनेर सुन्नुभएको हुन्छ होला,” उनले भने, “कमेन्ट सेक्सनमा त झन् के के हो, धेरै हुन्छ।”

तर उनले यस विषयलाई नयाँ नभई इतिहासदेखि नै अस्तित्वमा रहेको बताए। “फ्याक्ट के हो त? यो अहिले मात्र नभएर भगवानको पालादेखि रहेको छ,” उनले भने, “तपाईँहरू घुम्न त कति धेरै गइरहनुभएको होला। बौद्धस्तूपा, वसन्तपुर, स्वयम्भूतिर जानुहोस्। त्यहाँ केटा–केटाले किस खाइरहेको छ, केटा र केटी छ, त्योबीचमा ट्रान्स पनि छ, ननबाइनरी पनि छ।”

उनले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायबाट पहिलो संविधानसभा सदस्य सुनिल बाबु पन्तसँग एक हप्ता अध्ययन गर्ने अवसर पाएको बताए। “मलाई पनि थाहा थिएन। वसन्तपुरमा रहेका आर्टहरू हेर्नुहोस्, मूर्तिहरू यति राम्रो छन्,” उनले भने, “आजभन्दा ६–७ हजार वर्ष अगाडि हाम्रो समुदायका व्यक्तिहरूले रिप्रेजेन्ट गरिरहेका थिए। यो भगवानको पालादेखि नै थियो।”

उनले बुद्धकालीन सन्दर्भ पनि उल्लेख गरे। “पढ्दै जाँदा महिला, पुरुष भनेर ठ्याक्कै यकिन छैन। यस्ता व्यक्तिहरू भगवानहरूको पालादेखि नै थिए,” उनले भने, “त्यो इतिहास हिन्दू, बौद्ध धर्महरूमा पाउन सक्नुहुन्छ।”

उनले राष्ट्रिय महाधिवेशनमा उपस्थित पत्रकारहरूलाई अध्ययन गरेर लेख्न आग्रह गरे। “यी समाजमा छुटेका कुराहरू हुन्। पत्रकारको दायित्व र कर्तव्य भनेको छुटेका कुराहरूलाई लेख्ने हो,” उनले भने, “अहिलेको जल्दोबल्दो वालेन शाहको बारेमा मात्रै लेखेर भएन, छुटेका विषयबारे पनि लेख्नुपर्‍यो।”

लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायमाथि हुने हिंसा अझै गम्भीर रहेको उनले बताए। “हिंसाहरू एक्सट्रिम लेभलमा भइरहेका छन्,” उनले भने। संविधानले अधिकार सुनिश्चित गरे पनि व्यवहारमा अवस्था कमजोर रहेको उनको भनाइ थियो।

“विश्वभर नेपाललाई उदाहरणका रूपमा प्रस्तुत गरिन्छ। उदाहरणहरू दिइन्छ, यस्तो भयो, उस्तो भयो भनेर,” उनले भने, “तर त्यो कागजमा मात्रै सीमित छ। व्यवहारिक रूपमा हामी धेरै नै पछाडि छौँ।”

उनले जनमानसमा तेस्रोलिंगी समुदायबारे सीमित बुझाइ रहेको बताए। “केही सर्टेन मानिसहरूले तेस्रोलिंगी होइन, अब चाहिँ यो हुनुपर्छ भन्ने खालको कुरा ल्याइरहेका छन्,” उनले भने, “तर त्यो प्रवृत्तिमा हामी रम्न हुँदैन।”

आफू तेस्रोलिंगी समुदायको व्यक्ति भन्न रुचाउने बताउँदै उनले भने, “त्यो स्वेच्छाको कुरा हो। खासमा यो डिबेट गर्ने विषय होइन। कसैलाई तेस्रोलिंगी भन्न मन लाग्ला, कसैलाई के भन्न मन लाग्ला। योभित्र ठूलो डाइभर्सिटी छ।”

“तेस्रोलिंगी समुदायभित्र पनि एलजीबीटीआई कम्युनिटी, यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय भनिरहँदा योभित्र धेरै विविधता छ,” उनले भने।

उनले पत्रकारहरूलाई अध्ययनका लागि मायाको पहिचान नेपालले स्वेच्छिक रूपमा सहयोग गर्न सधैँ तत्पर रहेको बताए।

दलित समुदायमा देखिएको एकताबाट आफू प्रभावित भएको उनले बताए। “तपाईँहरू पनि यतिको विज्ञ हुनुहुँदो रहेछ, बहस गरिरहनुभएको रहेछ, मलाई साँच्चिकै झट्का लाग्यो,” उनले भने, “तपाईँहरूलाई पनि मलाई देखेर झट्का लाग्नु, मलाई पनि तपाईँहरूलाई देखेर झट्का लाग्यो। यो एक प्रकारको आपसी रूपमा अगाडि बढ्ने अवसर पनि मान्छु।”

उनले आफ्नो मात्र आवाजभन्दा पनि एकजुट भएर समाजमा छुटेका विषयहरू अगाडि ल्याउन सकिने विश्वास व्यक्त गरे।

मायाको पहिचान नेपालले सञ्चालन गरिरहेको कार्यक्रमबारे जानकारी दिँदै उनले राजनीति समावेशी मात्र नभई अर्थपूर्ण पनि हुनुपर्ने बताए। “अर्थपूर्ण हुनुपर्छ। एउटा समेटियो, सबैथोक ठिक भयो भन्ने होइन,” उनले भने, “अहिले हाम्रै समुदायको नाम मन्त्रालयमा सम्बोधन गरिएको छ, मेन्सन गरिएको छ। तर महिला मन्त्रालय खुलेको पनि कति वर्ष भयो, सबै महिला सशक्त भए त? के सबै महिला पूर्ण भए त? छैनन्। अझै पनि छुटिरहेका छन्।”

उनले साझेदारीसहित एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए। “त्यसमा तपाईँहरूको मुद्दा पनि हाम्रो र हाम्रो मुद्दा पनि तपाईँहरूको हो,” उनले भने।

पत्रकारहरूले मायाको पहिचान नेपालसँग समन्वय गरिरहने विश्वास व्यक्त गर्दै उनले भने, “हामी सँगै मिलेर अगाडि जानेछौँ।”

समाचार शेयर गर्नुहोस्
135
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.