काठमाडौं – भुटानबाट नेपाल हुँदै अमेरिका पुनर्वास भएका भुटानी मूलका नेपाली समुदायमाथि मेडिकेड (सरकारी स्वास्थ्य सहायता कार्यक्रम) सम्बन्धी ठगी गरेको आरोप लागेको छ।
अमेरिका पुनर्वासको करिब दुई दशक पुग्न लाग्दा भुटानी–अमेरिकी समुदायसँग सम्बन्धित विषय अमेरिकी संसदमा प्रवेश गरेपछि समुदायभित्र व्यापक चासो र हलचल देखिएको छ।
अमेरिकी कंग्रेसमा भएको छलफलमा भुटानी मूलका नेपालीहरूले व्यापक रूपमा मेडिकेडको दुरुपयोग गरेको विषय उठाइएको छ। केही व्यक्तिमाथि मात्र नभई ठूलो संख्यामा समुदायका सदस्यहरू यसमा संलग्न रहेको आरोप सार्वजनिक रूपमा उठेको छ। बिरामी नभएका व्यक्तिलाई बिरामीका रूपमा प्रस्तुत गरी सरकारी सुविधा लिएको आरोप समुदायमाथि लागेको हो।
आरोपअनुसार ५०–५२ वर्ष उमेर समूहका आमा–बुबालाई गम्भीर बिरामी देखाएर डाक्टरहरूको मिलेमतोमा सेवा सुविधा लिने काम भएको छ। विशेष गरी भुटानी समुदायका व्यक्तिहरूद्वारा सञ्चालित होम हेल्थ केयर संस्थाहरूले निजी चिकित्सकसँग समन्वय गरी प्रतिवेदन तयार गर्ने र त्यसकै आधारमा मेडिकेड सुविधा दाबी गर्ने गरेको आरोप लगाइएको छ।
यस विषयमा सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै सन्तोष ढकालले अमेरिकाले वृद्ध तथा बिरामी व्यक्तिलाई नर्सिङ होममा राख्नुभन्दा परिवारकै सदस्यले घरमै हेरचाह गर्दा सहज हुने भएकाले त्यस्ता परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने नीति अवलम्बन गरेको बताए।
ढकालका अनुसार उक्त नीतिको उद्देश्य परिवारभित्रै हेरचाहको व्यवस्था गर्नु भए पनि त्यसको दुरुपयोग भएको आरोप अहिले उठिरहेको छ। उनका अनुसार अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने भुटानी समुदायका धेरै परिवारले घरमै हेरचाह गर्ने नाममा भत्ता बुझेका छन्।
“अधिकांशलाई सुविधा आवश्यक पनि थियो, तर आवश्यकता नभएकाहरूले समेत लाभ लिएको आरोप छ,” ढकालले भिडियो सन्देशमा भनेका छन्। उनका अनुसार यही विषय अहिले कंग्रेसनल समितिहरूमा छलफलको विषय बनेको छ र वार्षिक रूपमा अर्बौँ डलर बराबरको सम्भावित ठगी भएको दाबी गरिएको छ।
ढकालले अमेरिकी प्रतिनिधिसभाअन्तर्गतको हाउस ओभरसाइट कमिटीमा यस विषयमा सुनुवाइ भएको जानकारी दिँदै त्यसको दीर्घकालीन प्रभाव समुदायमाथि पर्न सक्ने बताए। “एउटा समुदायलाई नै लक्षित गरेर सुनुवाइ हुनु समुदायका लागि राम्रो सङ्केत होइन,” उनले भनेका छन्।
यो पनि : पूर्वभुटानी शरणार्थी डिल्ली अमेरिकी श्रम कानुन उल्लङ्घनमा दोषी, १५ मिलियन डलर जरिबाना
यो विवादको केन्द्रमा डिल्लीराम अधिकारीको नाम पनि जोडिएको छ। अधिकारी वा उनका आफन्त रमेश अधिकारीसँग सम्बन्धित विषयसमेत सुनुवाइमा उठाइएको छ। डिल्लीराम अधिकारी अमेरिकी संस्था ‘इन्टरनेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन’का अध्यक्ष हुन्।
अधिकारी यसअघि श्रम कानुन उल्लङ्घनसम्बन्धी मुद्दामा दोषी ठहर भएका थिए। घरायसी कामका लागि राखिएका कर्मचारीमाथि श्रम शोषण गरेको अभियोगमा उनलाई दोषी ठहर गरिएको थियो। ओहायोको सङ्घीय अदालतले हेल्थ केयर सेवा व्यवसायका सञ्चालक अधिकारीलाई श्रम कानुन उल्लङ्घन गरेको ठहर गर्दै १५ मिलियन डलर ज्याला तथा क्षतिपूर्ति तिर्न आदेश दिएको थियो।
यही श्रम कानुन उल्लङ्घनसम्बन्धी मुद्दाबाट सुरु भएको अनुसन्धान अहिले मेडिकेड ठगीसम्बन्धी बहसमा विस्तार भएको दाबी गरिएको छ। आरोपअनुसार अधिकारीसँग सम्बन्धित स्वास्थ्य सेवा व्यवसाय ओहायो मात्र नभई पेन्सिलभेनियासहित अन्य राज्यहरूमा पनि सञ्चालनमा रहेका छन्।
ढकालले सार्वजनिक गरेको विवरणअनुसार बिरामी नभएका व्यक्तिलाई पनि गम्भीर स्वास्थ्य समस्या भएको देखाउने, चिकित्सकसँग समन्वय गरी अनावश्यक प्रतिवेदन तयार गराउने र त्यसका आधारमा मेडिकेडबाट सुविधा स्वीकृत गराउने काम भएको आरोप छ।
उनका अनुसार कतिपय व्यक्तिलाई दैनिक जीवन सञ्चालन गर्न नसक्ने अवस्थाको भनेर वर्गीकरण गरिन्छ र उनीहरूलाई दिनको १५–१६ घण्टासम्म हेरचाह आवश्यक रहेको प्रतिवेदन तयार गरिन्छ। त्यसपछि सोही आधारमा प्रति घण्टा २८ देखि ४० डलरसम्मको सेवा शुल्क मेडिकेडबाट दाबी गरिने गरेको आरोप लगाइएको छ।
ढकालले दाबी गरेअनुसार यस्तो व्यवस्थाबाट चिकित्सक, सेवा प्रदायक संस्था तथा हेरचाह गर्ने परिवारका सदस्य सबैले आर्थिक लाभ लिने गरेका छन्। हेरचाह गर्ने व्यक्तिलाई भुक्तानी दिइए पनि सेवा प्रदायक संस्थाले त्यसको ठूलो हिस्सा राख्ने गरेको आरोप छ।
उनका अनुसार कतिपय अवस्थामा घरका सदस्यहरू सामान्य जीवनयापन गरिरहेका, खाना पकाउने तथा अन्य घरेलु काम गरिरहेका व्यक्तिलाई समेत पूर्ण रूपमा असक्षम देखाएर सुविधा लिइएको आरोप अमेरिकी कंग्रेसमा उठाइएको हो।
यद्यपि भुटानी–अमेरिकी समुदायका प्रतिनिधिहरूले भने हाल सार्वजनिक भएका आरोप र तथ्याङ्कलाई अप्रमाणित तथा भ्रामक भएको बताएका छन्।
ओहायो स्टेटहाउस अगाडि पत्रकार सम्मेलन आयोजना गर्न लागेका भुटानी–अमेरिकी समुदायका पत्रकार अर्जुन प्रधानले सामाजिक सञ्जाल फेसबुकमार्फत समुदायको धारणा सार्वजनिक गरेका छन्।
प्रधानका अनुसार समुदायका नेताहरूले केही सञ्चारमाध्यम र कंग्रेसनल सुनुवाइमा प्रस्तुत सामग्रीले सम्पूर्ण भुटानी–अमेरिकी समुदायलाई गलत ढङ्गले चित्रण गरेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्।
उनीहरूका अनुसार केही व्यक्तिमाथि लागेको आरोपका आधारमा सम्पूर्ण समुदायलाई दोषी ठहर गर्नु न्यायोचित हुँदैन। यस्तो “सामूहिक आरोप” ले हजारौँ कानुन पालना गर्ने भुटानी–अमेरिकी परिवारलाई अन्यायपूर्ण असर पुर्याएको उनीहरूको भनाइ छ।
समुदायका प्रतिनिधिहरूले केही व्यक्ति विशेषमाथि लागेका आरोपको निष्पक्ष अनुसन्धान हुनुपर्नेमा जोड दिँदै सम्पूर्ण समुदायलाई एउटै घेरामा राखेर दोषारोपण गर्ने प्रवृत्तिको विरोध गरेका छन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.