सार्वजनिक स्थलहरूमा मागेर बस्नेहरूलाई पूर्ण निषेध

सार्वजनिक स्थलहरूमा मागेर बस्नेहरूलाई पूर्ण निषेध

69
SHARES

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रभित्रका सार्वजनिक स्थलहरूमा मागेर बस्नेहरूलाई पूर्ण निषेध गर्ने भएको छ। बेसहारा, अशक्त, असहाय, अभिभावक विहीन, सडक आश्रित व्यक्तिहरू जसले आफ्नो हेरचाह आफैँ गर्न सक्नुहुन्न, हेरचाह र स्याहारका लागि आफन्त पनि हुनुहुन्न, खानका लागि अन्नपात छैन, अन्न किन्ने पैसा छैन, बिरामी पर्दा उपचार गर्ने पैसा छैन, त्यस्ता व्यक्तिहरूको हेरचाह, औषधोपचार तथा लालनपालनका लागि मानव सेवा आश्रमसँगको सहकार्यमा मानवोचित व्यवस्थापन गरिने काठमाडौँ महानगरपालिकाले जनाएको छ।

जसले माग्ने कामलाई पेसा बनाएका छन्, त्यस्ता व्यक्तिका लागि मागेर खाने कामलाई पूर्ण निषेध गरिनेछ। पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर प्रवक्ता नविन मानन्धरले, यो काम एकद्वार प्रणालीबाट दिगो नतिजा प्राप्त हुने गरी सञ्चालन गरिने जानकारी दिए।

प्रवक्ता मानन्धरका अनुसार, २०७४ साल मंसिर १ गतेदेखि २०८३ साल जेठ २१ गतेसम्ममा २ हजार ४२१ जनालाई उद्धार गरिएको छ। जसमा १ हजार ५७१ जना पुरुष र ८५० जना महिला छन्। उमेरगत हिसाबले हेर्दा ५ वर्षसम्मका २ जना बालक र ८ जना बालिका गरी १० जना छन्।

६ वर्षदेखि १७ वर्षसम्मका ३९ जना बालक र २४ जना बालिका गरी ६३ जना बालबालिका छन्। १८ देखि ३९ वर्षसम्मका ३८७ जना पुरुष र २६६ महिला गरी ६५३ जना वयस्क छन्। ४० वर्षदेखि ५९ वर्ष सम्मका ५८३ जना पुरुष र २७१ जना महिला गरी ८५४ जना छन्। ६० वर्ष माथिका ५६० जना पुरुष, २८१ जना महिला गरी ८४१ जना छन्।

उद्धारपछि ३८९ जना महिला र ४९४ जना पुरुष गरी ८८३ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ। १८७ जना महिला र ३४७ जना पुरुष गरी ५३४ जनालाई सामाजिक पुनःस्थापना गरिएको छ।

उद्धारपछि आश्रममा रहेकै बेला १०१ जना महिला र २२२ जना पुरुषको निधन भएको छ। अहिले मानव सेवा आश्रममा २०७ जना पुरुष, १३७ जना महिला गरी ३४४ जना आश्रित छन्।

मठ मन्दिर, देवल, पाटी, गुम्बा, चैत्य, चोक, गल्ली, पार्क सडक पेटी, आकाशे पुल जस्ता मानिसहरू भीड हुने तथा बाक्लो आवतजावत हुने स्थानमा बिरामी भएको जस्तो गरेर बस्ने र माग्ने काम निषेध गर्ने उद्देश्यले त्यस्ता व्यक्तिहरूलाई उद्धार गरेर अवस्था पहिचान गर्न तिलगंगा क्षेत्रमा महानगरपालिकाले स्क्रीनिङ् सेन्टर सञ्चालन गरेको जनाएको छ। यसको व्यवस्थापन मानव सेवा आश्रमले गरेको छ।

यस्तै हरेक दिन बिहान, दिउँसो र बेलुका ३ सिफ्टमा सडकमा मागेर बसिरहेका व्यक्तिहरूलाई उद्धार गरेर सेन्टरमा लैजाने, पहिचान र आवश्यकता पत्ता लगाउने, सम्भव भएसम्म पारिवारिक पुनर्मिलन गराउने तथा सामाजिक पुनःस्थापना गराउने काम भइरहेको महानगरपालिकाले जनाएको छ।

महानगरपालिकाका अनुसार विगतदेखि सञ्चालन गरेका अनुभव र सिकाइलाई आधार मानेर मागेर खाने सहर होइन, गरेर खाने सहरका रूपमा विकसित गर्न खोजिएको हो। पत्रकार भेटघाट कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डङ्गोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, प्रवक्ता मानन्धर, सामाजिक समितिका संयोजक रामकुमार के. सी., मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारी, कार्यपालिका सदस्यहरू महेश नेपाली, ललिता खड्गी, मीना सुनारसहित विभागीय प्रमुखहरू सहभागी थिए।

समन्वयमा जोड

महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा सामाजिक समितिका पदाधिकारी, जिल्ला प्रशासन कार्यालय, उपत्यका प्रहरी कार्यालय, जिल्ला प्रहरी परिसर, महानगर प्रहरी बलका प्रतिनिधिबीच सडक सेवालाई व्यवस्थित र प्रभावकारी बनाउने विषयमा समन्वयात्मक बैठक सम्पन्न भएको छ।

बैठकले मानवीयताका लागि अन्तर कार्यालय प्रभावकारी र दिगो सम्बन्ध स्थापनाका लागि सम्झौता गरेर दायित्वसहित काम गर्ने निर्णय गरेको छ।

दान दिने व्यक्तिलाई सचेत बनाउनु पर्छ

काठमाडौँका विभिन्न मठ मन्दिर, चैत्य, गुम्बालगायत सम्पदा क्षेत्रसँग सम्बन्धित व्यवस्थापन समितिका पदाधिकारीसँग यस्ता क्षेत्रमा माग्ने व्यक्तिहरूलाई निषेध गर्ने विषयमा छलफल भयो। त्यस बैठकले महानगरपालिकाले सहयोगापेक्षीको व्यवस्थापन गर्ने भएपछि पेशेवर माग्नेलाई निषेध गर्न कठिन नभएको निष्कर्ष निकालेको छ। पैसा माग्ने मात्र होइन, पैसा दिने व्यक्तिको अज्ञानताले पनि माग्नेहरूको संख्या फस्टाएको अनुभव अधिकारीहरूको छ।

समाचार शेयर गर्नुहोस्
69
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.