बागमतीका पूर्वमुख्यमन्त्री जम्कट्टेलको अभिव्यक्तिप्रति अपाङ्ग महासङ्घको आपत्ति, क्षमा माग्न दबाब

बागमतीका पूर्वमुख्यमन्त्री जम्कट्टेलको अभिव्यक्तिप्रति अपाङ्ग महासङ्घको आपत्ति, क्षमा माग्न दबाब

96
SHARES

काठमाडौं – बागमती प्रदेश सभाको जेठ १८ गते बसेको बैठकमा पूर्वमुख्यमन्त्री शालिकराम जम्कट्टेलले बोल्ने क्रममा प्रयोग गरेको “सरकार लङ्गडो हुन्छ, अपाङ्गता सरकार हुन्छ” भन्ने अभिव्यक्तिप्रति राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल बागमती प्रदेशले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासङ्घले राजनीतिक नेतृत्व तहबाट सार्वजनिक रूपमा व्यक्त गरिने अभिव्यक्तिहरूले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा यस्ता शब्द र उपमाले अपाङ्गता भएका व्यक्तिहरूप्रति विद्यमान पूर्वाग्रह, विभेद तथा नकारात्मक सोचलाई थप बढवा दिने भएकाले गम्भीर आपत्ति प्रकट गरेको छ।

महासङ्घका अनुसार नेपालको संविधान, अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४, संयुक्त राष्ट्रसङ्घीय अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धि तथा अपाङ्गतामैत्री सञ्चार निर्देशिका, २०७३ को भावना विपरीत अपाङ्गतालाई कमजोरी, असक्षमता वा नकारात्मक अर्थसँग जोडेर गरिने टिप्पणीले अपाङ्गता भएका व्यक्तिहरूको आत्मसम्मान, गरिमा र सामाजिक पहिचानमा प्रत्यक्ष आघात पुर्‍याउँछ।

राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल बागमती प्रदेशले प्रदेश सांसद तथा पूर्वमुख्यमन्त्री जम्कट्टेललाई आफ्नो अभिव्यक्तिप्रति सार्वजनिक रूपमा आत्मालोचना गर्न माग गरेको छ। साथै, अपाङ्गता भएका व्यक्तिहरूसँग क्षमायाचना गर्न पनि आग्रह गरेको छ।

महासङ्घले भविष्यमा सार्वजनिक पदमा रहेका तथा राजनीतिक नेतृत्वमा रहेका व्यक्तिहरूले समावेशी, मर्यादित र मानवअधिकारमैत्री भाषा प्रयोग गर्न विशेष संवेदनशीलता अपनाउन अनुरोध गरेको छ।

“अपाङ्गता कुनै व्यक्तिको कमजोरी वा असक्षमताको पर्याय नभई मानव विविधताको एक स्वाभाविक अवस्था हो भन्ने तथ्यलाई आत्मसात् गर्दै सबै पक्षलाई सम्मानजनक र अधिकारमा आधारित भाषा प्रयोग गर्न हार्दिक अपिल गर्दछौँ,” महासङ्घले विज्ञप्तिमार्फत जनाएको छ।

समाचार शेयर गर्नुहोस्
96
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.