नेपालको संविधानले जातीय छुवाछुत र विभेदलाई कानुनी रूपमा निषेध गरेको छ। समाजमा समानता, समावेशिता र मानव अधिकारका विषयमा व्यापक बहस पनि हुँदै आएका छन्। तर व्यवहारिक जीवनमा भने जातका आधारमा हुने विभेद अझै पूर्ण रूपमा अन्त्य भएको छैन भन्ने अनुभूति दिलाउने घटना बेला–बेलामा सार्वजनिक भइरहेका छन्।
भर्खरै घटेको एउटा घटनाले पनि यही यथार्थलाई उजागर गर्यो।
म बि.क. समुदायका एक अग्रजसँग चिया–कफी खान गएको थिएँ। उहाँलाई म अत्यन्त सम्मान गर्छु। त्यही क्रममा त्यहाँ उहाँका एक परिचित व्यक्ति पनि हुनुहुँदो रहेछ, जसलाई मैले पनि चिनेको थिएँ।
मेरो साथीले मुस्कुराउँदै नमस्कार गर्नुभयो। तर उताबाट खासै आत्मीय प्रतिक्रिया आएन। सुरुमा मैले त्यसलाई सामान्य रूपमा लिएँ र कुनै विशेष अर्थ लगाइनँ।
केहीबेरपछि मेरो साथीले विनम्रतापूर्वक, “आउनुस्, यहाँ बसौँ,” भन्नुभयो। तर उताबाट आएको जवाफले मलाई झस्कायो।
“नाइँ, नाइँ, म त अछुत हुन्छु, मैले तिमीलाई छोएँ भने…।”
यो वाक्य सुन्नासाथ म स्तब्ध भएँ। क्षणभरका लागि मैले विश्वास गर्न सकिनँ कि आजको समयमा पनि यस्तो भाषा प्रयोग हुन सक्छ। तर मेरो साथी भने मुस्कुराएरै संवाद गरिरहनुभएको थियो।
केही समयपछि उहाँले अर्को अनुरोध गर्नुभयो, “तपाईँको टेबलमा भएको लाइटर दिनुस् न।”
तर प्रत्यक्ष हातमा दिनुको सट्टा टाढैबाट फ्याँकिएको जस्तो गरी लाइटर पठाइयो। त्यो दृश्य मैले स्पष्ट देखेँ। त्यसबेलासम्म “अछुत” भन्ने शब्दले नै मेरो मनलाई गहिरो रूपमा झस्काइसकेको थियो।
मेरो मनमा एउटै प्रश्न घुमिरह्यो-यो व्यवहार सहनुपर्दा मेरो साथीलाई कस्तो महसुस भइरहेको होला? उहाँको मनमा कति पीडा सञ्चित भइरहेको होला?
केहीबेरपछि ती व्यक्ति बाहिर निस्किए। त्यसपछि मात्र वास्तविक पीडा बाहिर आयो। मसँग गएका साथी अचानक भक्कानिएर रुन थाल्नुभयो। “अछुत” भन्ने शब्द र त्यससँग जोडिएको व्यवहारले उहाँलाई गहिरो चोट पुर्याएको रहेछ।
उहाँको आँखाबाट आँसु झर्दा मैले जातीय विभेदको पीडा कति गहिरो हुन्छ भन्ने कुरा नजिकबाट महसुस गरेँ। त्यो केवल एउटा शब्द थिएन, त्यो व्यक्तिको आत्मसम्मानमाथि गरिएको प्रहार थियो।
साँचो कुरा भन्नुपर्दा, त्यो क्षणमा म पनि भावुक भएँ।
जसले त्यो शब्द प्रयोग गर्यो, जसले त्यो व्यवहार गर्यो, उसबारे समाजमा विभिन्न धारणा सुन्न पाइन्छ। कसैलाई होच्याउने, गिराउने वा अपमानित गर्ने प्रवृत्तिसँग उसको नाम जोडिने गरेको पनि सुनिन्छ। तर व्यवहारको स्तर यति तलसम्म पुग्ला भन्ने मैले सोचेको थिइनँ।
जातीय छुवाछुत केवल कानुन बनाएर अन्त्य हुँदैन। जबसम्म मानिसको सोच परिवर्तन हुँदैन, तबसम्म विभेदका यस्ता घाउहरू समाजमा देखिरहनेछन्।
त्यो व्यवहार मदिराको प्रभावमा भएको थियो वा नियतपूर्वक गरिएको थियो, त्यो उसैले जानोस्। तर त्यसले एउटा कुरा स्पष्ट गरिदियो-जातीय श्रेष्ठताको भ्रम अझै कतिपय मानिसको सोचमा जीवित छ। आफूलाई माथिल्लो र अरूलाई तल्लो देखाएर महान् बन्न खोज्ने मानसिकता समाजबाट पूर्ण रूपमा समाप्त भइसकेको छैन।
त्यस दिन मैले एउटा महत्त्वपूर्ण कुरा महसुस गरेँ। “अछुत” भन्ने शब्दले कसैको जातलाई होइन, त्यो शब्द प्रयोग गर्ने व्यक्तिको सोचलाई उजागर गर्छ। मानिसको मूल्य उसको जन्मले होइन, उसको व्यवहार, संस्कार, आचरण र मानवताले निर्धारण गर्छ।
मसँग गएका ती अग्रज गर्वका साथ भन्नुहुन्छ, “हो, म कामी समुदायको हुँ। फलाम पिट्ने पेसाप्रति पनि मलाई गर्व छ।”
तर उहाँको वास्तविक परिचय त्यति मात्र होइन। उहाँको परिचय उहाँको मानवीयता, व्यवहार, संस्कार, सङ्घर्ष र आत्मसम्मान हो। उहाँ जातीय विभाजनभन्दा माथि उठेर सबैलाई सम्मान गर्न विश्वास गर्नुहुन्छ। त्यसैले समाजले पनि उहाँलाई सम्मान गर्छ।
यो घटनाले फेरि एकपटक स्मरण गराएको छ-जातीय छुवाछुत केवल कानुन बनाएर अन्त्य हुँदैन। जबसम्म मानिसको सोच परिवर्तन हुँदैन, तबसम्म विभेदका यस्ता घाउहरू समाजमा देखिरहनेछन्।
त्यसैले आज पनि प्रश्न उही छ-कसले भन्यो, जातीय विभेद छैन भनेर? केही घटना यस्ता छन्, जसले अझै पनि हाम्रो समाजलाई ऐना देखाइरहेका छन्।
(लेखक बाबु दुमि राई मायाको पहिचान नेपालको राजनीतिक साक्षरता कार्यक्रमका प्रदेश समन्वय अधिकारी हुन्)
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.