करका दर किन फेरिए? अर्थमन्त्रीले देखाए ‘वित्तीय अपराधी’

करका दर किन फेरिए? अर्थमन्त्रीले देखाए ‘वित्तीय अपराधी’

179
SHARES

काठमाडौं – रातारात करका दर परिवर्तन गरेको आरोप लागेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफू वित्तीय अपराधमा संलग्न समूहको आक्रमणमा परेको बताएका छन्।

बजेट भाषणपछि करका दर परिवर्तन गरिएको गम्भीर विषयमा उठेका प्रश्नको जवाफ दिँदै उनले आर्थिक विधेयकका त्रुटि सच्याउन सङ्घीय संसद् सचिवालयमा पत्र पठाइएको स्वीकार गरे पनि त्यसलाई त्रुटि सच्याउने प्रक्रियाका रूपमा व्याख्या गरेका छन्।

प्रतिनिधिसभाको अर्थ समितिमा बुधवार बजेटबारे आयोजित छलफलमा अर्थमन्त्री वाग्लेले आर्थिक विधेयकमा करका दर हेरफेर गरिएको विषयलाई त्रुटि सच्याइएको भन्दै त्यसबारे उठेका आरोपलाई आफूविरुद्धको सङ्गठित अभियानको रूपमा चित्रित गरे।

उनले वित्तीय अपराधमा संलग्न व्यक्तिहरूबाट पालित–पोषित समूहले आफू र प्रधानमन्त्री वालेन्द्र शाहमाथि आक्रमण गरिरहेको दाबी गरे।

उनका अनुसार प्रतिनिधिसभामा बजेटमाथि छलफल हुनुपर्ने अवस्थामा संसद् अवरोध गरेर बजेट र आफूविरुद्ध सङ्गठित रूपमा अफवाह फैलाउने काम गरिएको छ। आफूविरुद्ध फैलाइएका आरोपको जवाफ दिन नै संसदीय समितिमा उपस्थित भएको उनले बताए।

“बजेट छलफल गर्नुपर्ने प्रतिनिधिसभामा अवरोध गरेर मविरुद्ध सङ्गठित रूपमा अफवाह फैलाइएको छ,” अर्थमन्त्री वाग्लेले भने, “म त्यसको जवाफ दिन पनि संसदीय समितिमा आएँ।”

अर्थमन्त्री वाग्लेले नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहविरुद्ध सरकारले छानबिन गरिरहेको दाबी गर्दै त्यसैका कारण आफू र प्रधानमन्त्रीमाथि नियोजित रूपमा घेराबन्दी तथा आक्रमण भइरहेको शङ्का व्यक्त गरे।

“प्रधानमन्त्रीज्यू र ममाथि नियोजित रूपमा घेराबन्दी र आक्रमण भइरहेको छ,” उनले भने, “नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्नहरूमाथि सरकारले छानबिन गरिरहेको छ। केही दिनमै यो विषय अदालत पुग्दैछ। हामीसँग रुष्ट तिनै समूहबाट पालित–पोषित व्यक्तिहरूबाट प्रधानमन्त्री र ममाथि आक्रमण भइरहेको मलाई शङ्का लागेको छ।”

बजेट भाषणपछि करका दर परिवर्तन गरिएको विषयमा गम्भीर प्रश्न उठिरहेका बेला अर्थमन्त्री वाग्लेले त्यसको विस्तृत प्रस्टीकरण दिनुभन्दा त्रुटि सच्याइएको दाबी गर्दै आफूविरुद्ध नियोजित आक्रमण भइरहेको तर्क अघि सारे। उनले सार्वभौम संसद्का सांसदहरू पनि यस्ता समूहका प्रभावमा नपर्न आग्रह गरे।

संसद्को गरिमा लहलहैमा लागेर कमजोर बनाउन नहुने उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले सांसदहरूलाई तथ्यका आधारमा विषयलाई हेर्न अनुरोध गरे।

सम्बन्धित समाचार : रातारात करका दर परिवर्तन, ‘स्वर्णिम बजेट’माथि गम्भीर प्रश्न

समाचार शेयर गर्नुहोस्
179
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.