नक्कली भुटानी शरणार्थी मुद्दामा नियमित सुनुवाइ, आदेशको प्रतीक्षा

नक्कली भुटानी शरणार्थी मुद्दामा नियमित सुनुवाइ, आदेशको प्रतीक्षा

142
SHARES

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा पूर्ण सुनुवाइ सुरु भएको छ। काठमाडौं जिल्ला अदालतमा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै रकम उठाएको आरोपसँग सम्बन्धित मुद्दामा नियमित सुनुवाइ प्रारम्भ भएको हो।

ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर तथा सङ्गठित अपराध सम्बन्धी अभियोगमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वगृहसचिव तथा भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजालसहित ३६ जना प्रतिवादी छन्।

जिल्ला न्यायाधीश तेजबहादुर खड्काको इजलासमा सुनुवाइ सुरु भएको उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। अदालत प्रशासनका अनुसार बिहीबार पनि सुनुवाइ जारी रहनेछ। बुधवार सरकारी पक्षले बहस गरेको छ।

अदालतका सूचना अधिकारी शिव खतिवडाका अनुसार जेनजी आन्दोलनका क्रममा कागजातहरू जलेका कारण ती पुनः प्राप्त गर्न लामो समय लागेकाले सुनुवाइ ढिलो सुरु भएको हो। खतिवडाले अब सुनुवाइ सकेर छिट्टै आदेश आउने बताए।

यसअघि जिल्ला अदालतका न्यायाधीश कोशलेश्वर ज्ञवालीको इजलासले भुटानी शरणार्थी समस्याको स्थायी तथा दीर्घकालीन समाधानका उपाय पहिल्याउन गठित कार्यदलको प्रतिवेदनको सक्कल प्रति गृह मन्त्रालयबाट झिकाउन आदेश दिएको थियो।

यही प्रतिवेदनलाई आधार बनाएर नक्कली भुटानी शरणार्थी प्रकरण सुरु भएको भनिए पनि अदालतले सक्कल प्रतिवेदन प्राप्त गर्न नसकेको जनाएको थियो। आदेशबमोजिम आवश्यक कागजात प्राप्त भएपछि मुद्दा अब पूर्ण सुनुवाइमा प्रवेश गरेको अदालत प्रशासनले जनाएको छ।

अदालती प्रक्रियाको विभिन्न चरण पार गर्दै आएको यो बहुचर्चित प्रकरणमा आवश्यक कागजात सङ्कलन, प्रतिवेदन झिकाउने आदेश तथा प्रमाणसम्बन्धी प्रक्रिया पूरा भएपछि नियमित र पूर्ण सुनुवाइ सुरु भएको हो। अदालत प्रशासनका अनुसार अब मुद्दाको निरन्तर सुनुवाइपछि अन्तिम आदेश आउनेछ।

जेनजी आन्दोलनकै दिन स्थगित नक्कली भुटानी शरणार्थी मुद्दा

नक्कली भुटानी शरणार्थी : शमशेर मियाँ अदालतमा हाजिर, मङ्गलवार पेशी

समाचार शेयर गर्नुहोस्
142
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.