भद्रगोल व्यवस्थापनले रास्वपा महाधिवेशन ट्रोलको निशानामा

भद्रगोल व्यवस्थापनले रास्वपा महाधिवेशन ट्रोलको निशानामा

17
SHARES

चितवन – थिति बसाल्ने हुङ्कार गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनको व्यवस्थापन भद्रगोल बनेको छ। चितवनमा जारी महाधिवेशनको बन्द सत्र प्रतिनिधिहरूको संख्या टुङ्गो लाग्न नसक्दा प्रभावित भएको छ भने महाधिवेशन एक दिन लम्बिने भएको छ।

मङ्गलवारसम्म सकिने तालिका भए पनि आकलनभन्दा धेरै प्रतिनिधि सहभागी भएकाले महाधिवेशन बुधवारसम्म चल्ने प्रवक्ता मनिष झाले जानकारी दिए। सुरुमा तीन हजार प्रतिनिधि आउने अनुमान गरिएकोमा अहिले संख्या साढे चार हजार पुग्ने देखिएपछि व्यवस्थापनमा केही कमजोरी भएको उनले स्वीकार गरे।

महाधिवेशनको बन्द सत्र प्रतिनिधिहरूको विवादका कारण प्रभावित भएको हो। महाधिवेशन प्रतिनिधिमा थपघट तथा मधेश प्रदेशमा देखिएको विवाद समाधान हुन नसक्दा सोमबार स्थगित बन्द सत्र मङ्गलवार सुरु हुँदैछ।

सोमबार बिहान साढे ८ बजे सुरु हुने भनिएको बन्द सत्र प्रतिनिधिहरूको टुङ्गो लाग्न नसक्दा मङ्गलवारका लागि सारिएको थियो। सुरुमा तीन हजार प्रतिनिधिको अनुमान गरिए पनि प्रवाससहित देशभरबाट प्रतिनिधिको संख्या बढेर करिब चार हजार पाँच सय पुगेपछि प्रतिनिधिको यकिन संख्या निर्धारण गर्न नेतृत्वलाई हम्मेहम्मे परेको छ।

रास्वपामा आकर्षण धेरै भएकाले यस्तो विवाद देखिएको र यो सामान्य विषय भएको रास्वपाका सांसद शिव यादवले बताए।

रास्वपा राष्ट्रिय शक्ति बनेको छ। देशभरबाट प्रतिनिधिहरू मात्र होइन, शुभेच्छुक र समर्थकहरू पनि चितवनमा भेला भएका छन्। तर व्यवस्थापनको कमजोरीका कारण सोमबार दिउँसोका लागि तय गरिएको उम्मेदवार मनोनयन दर्ता प्रक्रिया नै स्थगित भएको छ।

यससँगै रास्वपाको महाधिवेशन एक दिन लम्बिने भएको छ। यसलाई ठूलो विषय बनाउनु नपर्ने रास्वपाका सांसद शुलभ खरेल बताउँछन्।

रास्वपाको बन्द सत्र सुरु नहुनुमा प्रतिनिधि विवाद र नेतृत्वमा पुग्ने आकाङ्क्षीहरूको व्यवस्थापन मुख्य समस्याका रूपमा देखिएको छ। ती विषयलाई नेतृत्वले मिलाउने प्रयास गरिरहेको रास्वपा सांसद आशिका तामाङ बताउँछिन्।

बन्द सत्र सुरु हुन नसकेपछि रास्वपाका नेता तथा कार्यकर्ता भने नाचगान गरेर समय कटाउन व्यस्त देखिए। ‘राइझुमा देखि झिमझिम सानु’ गीत गाएर रास्वपा कार्यकर्ताहरूले महाधिवेशनस्थलमा रमाइलो गरे।

पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनको सुरक्षा व्यवस्था कडा बनाइएको छ। बन्द सत्र हलभित्र गैरअधिकृत तथा अपरिचित व्यक्तिहरूको प्रवेश पूर्ण रूपमा निषेध गरिएको छ।

महाधिवेशन स्थलको मुख्य प्रवेशद्वारमै ठूलो सङ्ख्यामा प्रहरी तथा निजी सुरक्षा गार्ड (बाउन्सर) परिचालन गरी कडा जाँचबुझ गरिएको छ। परिचयपत्रविना कसैलाई पनि भित्र प्रवेश गर्न दिइएको छैन। सुरक्षालाई थप चुस्त बनाउन मुख्य गेट र हलको प्रवेशद्वारमा मेटल डिटेक्टरसमेत प्रयोग गरिएको छ।

महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधि तथा प्रतिनिधिमूलक व्यक्तित्वहरूलाई समेत पूर्ण जाँचपछि मात्र भित्र प्रवेश गराइएको छ। कुनै पनि अनावश्यक गतिविधि हुन नदिन तथा प्रक्रियालाई व्यवस्थित बनाउन सुरक्षामा विशेष सतर्कता अपनाइएको छ।

तर, कडा सुरक्षा व्यवस्थाबीच भद्रगोल व्यवस्थापनले रास्वपा महाधिवेशन ट्रोलको निशानामा परेकाे छ। महाधिवेशनमा सांसद डा. तोसिमा कार्की ट्रोल बनेकी छन्। उनले महाधिवेशनका प्रतिनिधिहरूलाई कन्डम वितरण गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनाइएको छ।

उक्त तस्बिर कृत्रिम बुद्धिमत्तामार्फत तयार गरिएको र तथ्य परीक्षणसमेत नगरिएको रास्वपा महाधिवेशनको स्वास्थ्य व्यवस्थापन उपसमितिकी संयोजकसमेत रहेकी सांसद डा. तोसिमा कार्कीले बताइन्।

रास्वपा महाधिवेशनको अनिश्चित बन्द सत्रकाबीच पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री वालेन्द्र शाह भने घुमघाममा व्यस्त देखिए। शाह परिवारसहित चितवनको सौराहा, कसरा लगायतका पर्यटकीय क्षेत्र पुगे।

पार्टी स्थापना हुँदा सभापति रवि लामिछाने बाहेक चर्चित अनुहार कमै थिए। तर स्थापना भएको चार वर्षमै रास्वपा राष्ट्रिय राजनीतिको प्रमुख शक्ति केन्द्रका रूपमा स्थापित भएको छ। थिति बसाल्ने र सुशासन कायम गर्ने नाराले पुराना दलहरूसँग वाक्कदिक्क भएका धेरै रास्वपातर्फ आकर्षित भएका छन्।

रास्वपाले नयाँ नेतृत्व चयनका लागि रामलक्ष्मण कम्पनीको विद्युतीय मतदान मेसिन प्रयोग गर्ने भएको छ। मतदानमा विदेशमा रहेका ४० देशका प्रतिनिधिहरूले समेत भाग लिन पाउने व्यवस्था मिलाइएको छ।

बन्द सत्रले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ। सभापति रवि लामिछानेलाई सर्वसम्मत रूपमा निरन्तरता दिने तयारी रहेको बताइए पनि प्रतिनिधि विवादका कारण बन्द सत्र नै अन्योलमा परेकाले महाधिवेशनको कार्यतालिका प्रभावित भएको छ।

समाचार शेयर गर्नुहोस्
17
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.