दमकका शिक्षकलाई समावेशी शिक्षाको पाठ, ‘पहिचान फरक भए पनि अधिकार समान’

दमकका शिक्षकलाई समावेशी शिक्षाको पाठ, ‘पहिचान फरक भए पनि अधिकार समान’

48
SHARES

दमक – हिमाल माध्यमिक विद्यालय, दमकमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक (जिएसएम) समुदायको लैङ्गिक पहिचान, यौन अभिमुखीकरण तथा लैङ्गिक समानतासम्बन्धी एक दिने शिक्षक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

लिड नेपाल, दमक–झापाको आयोजना तथा दमक नगरपालिका शिक्षा शाखा र सामाजिक विकास शाखाको आर्थिक सहयोगमा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिकाहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरूले भोग्दै आएका सामाजिक, शैक्षिक तथा मनोसामाजिक चुनौतीहरूका बारेमा जानकारी गराउनुका साथै विद्यालयस्तरमा समावेशी र भेदभावरहित वातावरण निर्माण गर्ने विषयमा विस्तृत छलफल गरिएको लिड नेपाल झापाले जानकारी दिएको छ।

कार्यक्रममा सुमन तामाङले लैङ्गिक पहिचान, यौन अभिमुखीकरण, लैङ्गिक अभिव्यक्ति तथा यौन विशेषतासम्बन्धी आधारभूत अवधारणाहरू प्रस्तुतीकरण गरे। लिड नेपाल झापाकी कार्यकारी निर्देशक नुमा लिम्बु (चञ्चला) ले विद्यालयमा अध्ययनरत विभिन्न लैङ्गिक तथा यौनिक पहिचान भएका विद्यार्थीहरूको आवश्यकता, उनीहरूको सम्मानजनक सहभागिता तथा सुरक्षित सिकाइ वातावरण सुनिश्चित गर्न शिक्षकहरूको भूमिकाबारे समेतको प्रस्तुतीकरण गरेकी थिइन।

सहभागी शिक्षकहरूले विद्यालयमा हुने प्रत्यक्ष तथा अप्रत्यक्ष विभेद, दुर्व्यवहार, अपमानजनक व्यवहार र बहिष्करणका घटनाहरू न्यूनीकरण गर्दै सबै विद्यार्थीलाई समान अवसर प्रदान गर्न आवश्यक रहेको धारणा व्यक्त गरे। उनीहरूले समावेशी शिक्षाको अवधारणालाई व्यवहारमा लागू गर्न विद्यालय प्रशासन, शिक्षक, अभिभावक तथा स्थानीय सरकारबीच सहकार्य अपरिहार्य रहेको बताए।

कार्यक्रमका वक्ताहरूले नेपालको संविधान, मानव अधिकारका अन्तर्राष्ट्रिय मान्यता तथा विद्यमान कानुनी व्यवस्थाले प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न र शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै विद्यालयहरूलाई विविधता र समानताको अभ्यास गर्ने सुरक्षित थलोका रूपमा विकास गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा दमक नगरपालिका शिक्षा शाखा तथा सामाजिक विकास शाखाका प्रतिनिधिहरूले समावेशी शिक्षा प्रवर्द्धन, लैङ्गिक समानता स्थापना तथा सबै बालबालिकाको शिक्षामा समान पहुँच सुनिश्चित गर्न नगरपालिका प्रतिबद्ध रहेको बताए। उनीहरूले विद्यालयहरूमा यस्ता सचेतनामूलक तथा क्षमता अभिवृद्धि कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरे।

लिड नेपालका प्रतिनिधिहरूले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका बालबालिका तथा युवाहरूले विद्यालयमा सम्मानजनक वातावरण पाउनुपर्ने उल्लेख गर्दै शिक्षकहरूको सकारात्मक भूमिका समावेशी समाज निर्माणको महत्त्वपूर्ण आधार भएको बताएका थिए।

सहभागीहरूले विद्यालयलाई सबै विद्यार्थीका लागि सुरक्षित, मैत्रीपूर्ण, सम्मानजनक तथा समावेशी सिकाइ केन्द्रका रूपमा विकास गर्न सामूहिक प्रयास आवश्यक रहेको बताए।

“पहिचान फरक हुन सक्छ, तर सम्मान र अधिकार सबैका लागि समान हुनुपर्छ” भन्ने सन्देशका साथ कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ।

समाचार शेयर गर्नुहोस्
48
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.