दुबई – नेपाली रक्तदाता सङ्घ यूएई र नेपाली समाज यूएईको संयुक्त आयोजना तथा नेपाली समाज यूएईमा आबद्ध ६६ वटा सङ्घ–संस्थाहरूको सहकार्यमा असार २१ गते आइतबार दुबईस्थित दुबई रक्तदान केन्द्र, डिएचए मुख्यालयमा विशाल रक्तदान कार्यक्रम आयोजना हुने भएको छ।
“हाम्रो विश्वव्यापी अभियान : जहाँ नेपाली, त्यहाँ रक्तदान” भन्ने नाराका साथ सञ्चालन हुन लागेको उक्त कार्यक्रमले यूएईमा रहेका नेपाली समुदायबीच रक्तदानको महत्वबारे जनचेतना अभिवृद्धि गर्नुका साथै आवश्यक रगतको आपूर्तिमा सहयोग पुर्याउने उद्देश्य राखेको आयोजकले जनाएको छ।
कार्यक्रम बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म सञ्चालन हुनेछ। सहभागी रक्तदाताहरूको सहजताका लागि बुर दुबईबाट निःशुल्क पिक एन्ड ड्रप सेवा समेत उपलब्ध गराइने व्यवस्था गरिएको छ।
नेपाली रक्तदाता सङ्घ यूएईका अनुसार रक्तदान केवल सामाजिक सेवा मात्र नभई मानव जीवन बचाउने महत्त्वपूर्ण कार्य हो। “रक्तदान जीवनदान, महादान” भन्ने सन्देशलाई आत्मसात् गर्दै धेरै भन्दा धेरै नेपाली समुदायलाई कार्यक्रममा सहभागी गराई रक्तदान गर्न अनुरोध गरिएको छ।
यस अभियानमा नेपाली समाज यूएई अन्तर्गत आबद्ध विभिन्न जातीय, क्षेत्रीय, सामाजिक तथा पेसागत सङ्घ–संस्थाहरूको सक्रिय सहभागिता रहनेछ। आयोजकहरूले यो कार्यक्रमलाई यूएई स्थित नेपाली समुदायको साझा मानवीय अभियानका रूपमा सफल बनाउन सबैलाई सहयोग र सहभागिताका लागि आह्वान गरेका छन्।
कार्यक्रमका आयोजकहरूले रक्तदान मार्फत मानवता, सहकार्य र सामाजिक उत्तरदायित्वलाई थप सुदृढ बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.