दमक – सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल सिस्टर अगस्टिना लेप्चाले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायसम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रमले शिक्षकहरूको ज्ञान, सीप र दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेकी छन्।
लिड नेपाल, दमक झापा तथा दमक नगरपालिकाको सामाजिक विकास शाखा र शिक्षा शाखाको समन्वयमा आयोजित लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको लैङ्गिक पहिचान, लैङ्गिक समानता तथा समावेशी शिक्षासम्बन्धी एक दिने शिक्षक अन्तरक्रिया कार्यक्रममा उनले विद्यालयमा समावेशी शिक्षा र लैङ्गिक समानतासम्बन्धी विषयवस्तु अध्यापन गराउन आवश्यक रहेको बताइन। उनका अनुसार विद्यार्थीहरूलाई विभेदरहित, सुरक्षित र सम्मानजनक वातावरण प्रदान गर्न यस्ता कार्यक्रम अत्यन्त उपलब्धिमूलक हुनेछन्।
लिड नेपालले विद्यालयहरूमा समावेशी शिक्षा, लैङ्गिक समानता र विविधताको सम्मानसम्बन्धी बुझाइ अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ। कार्यक्रममा विद्यालय व्यवस्थापन पक्ष, अनुशासन अधिकृत तथा कक्षा ७, ८, ९ र १० मा अध्यापन गराउने शिक्षक–शिक्षिकाहरू सहभागी थिए।

कार्यक्रममा प्रशिक्षक सुमन लामाले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदाय, लैङ्गिक पहिचान, यौनिक अभिमुखीकरण तथा लैङ्गिक विविधतासम्बन्धी विषयमा प्रस्तुतीकरण गरे। उनले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरूले समाज तथा शैक्षिक क्षेत्रमा भोग्नुपरेका चुनौतीहरू, सम्मानजनक व्यवहारको आवश्यकता तथा समावेशी वातावरण निर्माणमा शिक्षकहरूको भूमिकाबारे प्रकाश पारे। विद्यालयमा हुने अपमान, बहिष्करण र विभेदका कारण कतिपय विद्यार्थीको सिकाइमा नकारात्मक असर पर्ने तथा विद्यालय छोड्ने जोखिमसमेत बढ्न सक्ने भएकाले शिक्षकको संवेदनशील भूमिका महत्त्वपूर्ण हुने उनले बताए।
लिड नेपालकी कार्यकारी निर्देशक नुमा लिम्बु चञ्चलाले विद्यालयको पाठ्यक्रमसँग सम्बन्धित विषयवस्तु, विद्यालयस्तरमा लैङ्गिक पहिचानका विषय किन आवश्यक छन् भन्ने प्रश्नको व्याख्या गर्दै नेपालको संविधानले सुनिश्चित गरेका समानता, भेदभावविरुद्धको हक, सम्मानपूर्वक बाँच्न पाउने अधिकार तथा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकारसम्बन्धी संवैधानिक व्यवस्थाबारे विस्तृत जानकारी दिइन्।

उनले समावेशी शिक्षा केवल नीतिगत विषय नभई प्रत्येक बालबालिकाको अधिकारसँग जोडिएको विषय भएको उल्लेख गर्दै विद्यालयहरूलाई सबै विद्यार्थीका लागि सुरक्षित र सम्मानजनक बनाउनु आवश्यक रहेको बताइन्। लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका विद्यार्थीले विद्यालय शिक्षामा विभेद भोग्न नपरोस्, आत्मसम्मानका साथ अध्ययन गर्न सकुन् र शिक्षाबाट वञ्चित हुने अवस्था नआओस् भन्ने दृष्टिले यस्ता विषय विद्यालयस्तरमै आवश्यक रहेको उनको भनाइ थियो।
कार्यक्रममा लिड नेपालका अध्यक्ष सुशील पौडेलले बालबालिकाको मनोविज्ञान, किशोरावस्थामा हुने शारीरिक तथा मानसिक परिवर्तन, मानसिक स्वास्थ्य तथा समावेशी शिक्षाको महत्वका विषयमा प्रस्तुतीकरण गरे।
उनले बालबालिकाको समग्र विकासका लागि विद्यालयमा सकारात्मक, सहयोगी र विभेदरहित वातावरण आवश्यक रहेको बताउँदै समावेशी शिक्षा आजको आवश्यकता मात्र नभई सभ्य र न्यायपूर्ण समाज निर्माणको आधारसमेत भएको धारणा राखे। उनले विभिन्न उदाहरण र तार्किक विश्लेषणमार्फत शिक्षकहरूको भूमिका बालबालिकाको आत्मविश्वास, मानसिक स्वास्थ्य र सिकाइ उपलब्धिसँग प्रत्यक्ष रूपमा जोडिएको स्पष्ट पारे।

अन्तरक्रियात्मक छलफलका क्रममा सहभागी शिक्षकहरूले विद्यालयमा लैङ्गिक समानता, विविधताको सम्मान, मानसिक स्वास्थ्य प्रवर्द्धन तथा विभेदरहित शिक्षण वातावरण निर्माणका लागि आफूहरूले खेल्नुपर्ने भूमिकाबारे धारणा राखेका थिए। सहभागीहरूले यस्ता कार्यक्रमले विषयवस्तुप्रति स्पष्ट बुझाइ प्राप्त भएको र कक्षाकोठामा समावेशी दृष्टिकोण अवलम्बन गर्न थप प्रेरणा मिलेको बताएका थिए।
कार्यक्रममा विद्यालयमा समावेशी शिक्षा प्रवर्द्धन गर्ने, सबै विद्यार्थीको गरिमा र अधिकारको सम्मान गर्ने तथा लैङ्गिक पहिचान र विविधतासम्बन्धी विषयमा सकारात्मक र तथ्यपरक जानकारी प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।
आयोजक संस्था लिड नेपालले यस्ता कार्यक्रमहरूले विद्यालयस्तरमा रहेका भ्रम, पूर्वाग्रह र विभेद न्यूनीकरण गर्दै सबै बालबालिकाका लागि सुरक्षित, सम्मानजनक र समावेशी सिकाइ वातावरण निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.