अव्यवस्थित महाधिवेशनले रास्वपालाई असन्तुष्टिको बोझ

अव्यवस्थित महाधिवेशनले रास्वपालाई असन्तुष्टिको बोझ

57
SHARES

चितवन – चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा केन्द्रीय निर्वाचन कार्यतालिका फेरि परिवर्तन गरिएको छ।

रास्वपा निर्वाचन आयोगले पाँचौँ पटक संशोधन गर्दै दोस्रो चरणको निर्वाचनका लागि नयाँ समय तोकेको छ। नयाँ तालिका अनुसार पार्टी पदाधिकारीका लागि राति सवा ९ बजेदेखि मध्यराति सवा १२ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ।

केन्द्रीय सदस्यहरूको मतगणना सकिएपछि पदाधिकारीका लागि निर्वाचन हुनेछ। पदाधिकारीको मतदान सकिएपछि राति साढे १ बजे मत परिणाम घोषणा गर्ने तयारी गरिएको रास्वपा निर्वाचन आयोगले जनाएको छ।

महाधिवेशन अवधिभर निर्वाचन कार्यतालिका पटक–पटक संशोधन भएपछि व्यवस्थापन क्षमतामाथि प्रश्न उठ्न थालेका छन्। महाधिवेशन व्यवस्थापनमा देखिएको भद्रगोलका कारण प्रतिनिधि, उम्मेदवार र सहभागीहरूबीच असन्तुष्टि समेत बढेको छ। नेतृत्व चयनको प्रक्रियालाई लिएर पनि विभिन्न प्रश्न उठाइएका छन्।

केन्द्रीय सदस्य पदकी उम्मेदवार टिका संग्रौला ज्वालाले आफ्नो ‘निक नेम’ हटाइएको गुनासो गरेकी छन्। अन्य उम्मेदवारहरूको ‘निक नेम’ कायम रहँदा आफ्नो मात्रै हटाइएको भन्दै उनले कारण माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको बताइन्।

पारदर्शिता र जबाफदेहिताको नारा लगाएको रास्वपा अहिले दुई तिहाइ बहुमतको अप्रत्याशित भारी बोकिरहेको छ। अरूलाई प्रश्न गर्ने रास्वपा आज आफैँ जवाफ दिनुपर्ने ठाउँमा पुगेको छ। देश हाँक्ने मुख्य शक्ति बनेको रास्वपाको पहिलो महाधिवेशन भने व्यवस्थापकीय चुनौती र अव्यवस्थाका कारण आलोचनाको केन्द्रमा परेको छ।

व्यवस्थापनमा देखिएको कमजोरीका कारण कतिपय महाधिवेशन प्रतिनिधिहरू मतदान नै नगरी घर फर्किएका छन्। प्रधानमन्त्री वालेन्द्र शाह पनि मतदान नै नगरी काठमाडौँ फर्किएका छन्। अन्य प्रतिनिधिहरू समेत घर फर्किएको र यो पहिलो महाधिवेशनको महत्त्वपूर्ण सिकाइ बन्न पुगेको कानुन मन्त्री सोबिता गौतमले बताइन्।

मतदान नगरी प्रतिनिधिहरू घर फर्किन थालेपछि पार्टीभित्र चिन्ता बढेको स्वयं रास्वपाले स्वीकार गरेको छ। यद्यपि करिब ३१ सय प्रतिनिधिले मतदान गरेपछि पार्टी उत्साहित भएको रास्वपाका प्रवक्ता मनिष झाले बताए। व्यवस्थापनमा भएको कमजोरीका कारण रास्वपा लज्जित भएको उनले सुनाए।

रास्वपाले दुई तिहाइ जनमतको मात्रै नभई यतिबेला आफ्नै प्रतिनिधि र उम्मेदवारहरूको असन्तुष्टिको भार पनि बोकिरहेको छ। रास्वपाले आफ्नै सञ्चार संयन्त्र परिचालन गरेर समाचार सङ्कलनका लागि पुगेका पत्रकारलाई दृश्य कैद गर्न निषेध गरेको आरोप समेत लागेको छ।

पत्रकारलाई निषेध गर्नुको कारण सभापति रवि लामिछानेले स्पष्ट पारेनन्। उनले त्यसबारे निर्वाचन आयोगलाई सोध्न आग्रह गरेका छन्। पत्रकारहरूले उठाएका प्रश्नको प्रत्यक्ष जवाफ नदिई लामिछाने पन्छिएका छन्।

हिजो टेलिभिजनको पर्दाबाट अरूलाई प्रश्न गर्ने लामिछाने आज आफैँ जवाफ दिनुपर्ने ठाउँमा पुगेका छन्। आफूले विगतमा जस्तै प्रश्न गर्ने पत्रकारहरूलाई भने उनले स्पष्ट जवाफ दिन सकेनन्।

पत्रकारहरूले सभापति लामिछानेलाई मतदान गरेको दृश्य कैद गर्न अनुमति मागेका थिए। साथै, विधानमा पत्रकारलाई निषेध गर्ने व्यवस्था रहेको वा नरहेको विषयमा पनि प्रश्न गरेका थिए। लामिछानेले विधानमा त्यस्तो व्यवस्था नभएको बताए। तर, त्यसपछि पनि पत्रकारहरूले उनले मतदान गरेको दृश्य कैद गर्न पाएनन्।

संस्कार सिकाउने, थिति बसाल्ने र वैकल्पिक राजनीतिक संस्कृतिको दाबी गर्ने रास्वपाको पहिलो महाधिवेशन व्यवस्थापन र समन्वयको अभावका कारण गन्जागोलपूर्ण बनेको छ। यसले शुभेच्छुकहरू मात्रै होइन, आफ्नै महाधिवेशन प्रतिनिधि र उम्मेदवारहरूको समेत चित्त दुखाएको छ।

अरूमाथि औँला उठाएर उदाएको रास्वपामाथि नै यतिबेला अनेक प्रश्न तेर्सिएका छन्। ती प्रश्नहरूको जवाफ दिन सभापति लामिछानेलाई समेत सकस परेको देखिएको छ।

समाचार शेयर गर्नुहोस्
57
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.