विशेष गरी रातको समयमा बढी पिसाब लाग्ने, छिटो–छिटो पिसाब फेर्न उठ्नुपर्ने, पिसाब खुलेर नहुने, निकैबेरसम्म पिसाब आइरहने, धार सानो आउने, थोपा–थोपा पिसाब आउने, कन्नुपर्ने, कहिलेकाहीँ शौचालय पुग्न नभ्याइने, पिसाब गर्दा पोल्ने तथा पिसाबमा रगत देखापर्ने जस्ता समस्या पुरुषहरूमा देखापर्छन्। यस्ता र यिनैसँग मिल्दाजुल्दा समस्याहरूलाई सामान्यतः प्रोस्टेटसम्बन्धी समस्याका रूपमा लिने गरिन्छ।
चालीस वर्ष नाघेका पुरुषहरूमा देखापर्ने गम्भीर स्वास्थ्य समस्यामध्ये प्रोस्टेट पनि एक हो। यो ग्रन्थि पुरुषमा मात्र पाइने भएकाले प्रोस्टेटलाई पुरुष ग्रन्थि पनि भनिन्छ। विशेषगरी पचासदेखि सत्तरी वर्ष उमेर समूहका धेरै पुरुष यस्ता लक्षण लिएर चिकित्सककोमा पुग्ने क्रम दिनप्रतिदिन बढ्दै गएको देखिन्छ। यससँगै शल्यक्रिया गराउनेहरूको संख्या पनि बढ्दो छ। यही उमेर समूहमा यौन दुर्बलताका समस्या पनि धेरै देखिने गरेका छन्।
उमेर बढ्दै गए पनि मानिसका चाहना र दैनिक जीवनशैलीका आवश्यकताहरू यथावत् रहने भएकाले प्रोस्टेटको समस्याले जीवनको गुणस्तरमा असर पार्न सक्छ। राति आनन्दपूर्वक निदाउनुपर्ने अवस्थालाई समेत प्रोस्टेटको समस्याले प्रभावित बनाउन सक्छ। छिनछिनमा पिसाब गर्न उठिरहनुपर्ने बाध्यताले अन्य स्वास्थ्य तथा मानसिक समस्या पनि निम्त्याउन सक्छ।
वास्तवमा प्रोस्टेट के हो त भन्ने जिज्ञासा आम मानिसमा हुनु स्वाभाविक हो। प्रोस्टेट एउटा ग्रन्थि हो, जुन पुरुषमा मात्र पाइन्छ। यो पिसाबथैलीको मुन्तिर, पिसाबथैलीबाट निस्कने मूत्रनली (युरेथ्रा) लाई घेरेर बसेको हुन्छ। जन्मेदेखि नै सानो आकारमा रहने यो ग्रन्थि उमेरसँगै बिस्तारै बढ्दै जान्छ। वयस्क उमेरमा यसको तौल करिब २० देखि २२ ग्रामसम्म पुग्न सक्छ, जुन सामान्य अवस्था हो।
जसरी जङ्गलमा चर्ने गाईबस्तुले घाँसपातसँग मिसिएका जडीबुटी खाएर स्वास्थ्य जोगाउँछन्, त्यसरी नै सागसब्जी र फलफूलको नियमित सेवनले मानिसको स्वास्थ्य सुधार गर्न सहयोग पुर्याउन सक्छ।
तर, जब यसको आकार असामान्य रूपमा बढ्न थाल्छ र व्यक्तिलाई असहजता महसुस हुन थाल्छ, तब विभिन्न लक्षणहरू देखापर्न सक्छन्। जस्तै, छिनछिनमा पिसाब लाग्ने, राति पटक–पटक उठ्नुपर्ने, पिसाब फेर्न धेरै समय लाग्ने, पिसाब पूरै ननिस्किएको महसुस हुने, पिसाब फेरिसकेपछि पनि पुनः पिसाब लागेजस्तो हुने, पिसाब रोक्न गाह्रो हुने तथा कतिपय व्यक्तिमा यौन चाहनामा समेत कमी आउने जस्ता समस्या देखिन सक्छन्। यस्ता लक्षणहरू देखिएमा समयमै चिकित्सकसँग परामर्श लिएर आवश्यक उपचार गराउनु उपयुक्त हुन्छ।
कारणहरू :
शरीरमा उत्पादन हुने हर्मोन (रसराग) टेस्टोस्टेरोनको मात्रा उमेरसँगै घट्दै जाँदा प्रोस्टेटसम्बन्धी समस्या देखापर्न सक्छ। यसका अतिरिक्त वंशाणुगत कारण, पटक–पटक हुने पिसाबको संक्रमण तथा संक्रमणका कारण प्रोस्टेट ग्रन्थि सुन्निने अवस्था पनि यसका प्रमुख कारणमध्ये पर्दछन्। त्यसैगरी, नियोप्लाज्म नामक कोषहरूको अनावश्यक वृद्धि हुनु अर्को कारण हो। यस्तो अवस्थालाई फाइब्रोमायोएडिनोमा भनिन्छ। यीबाहेक पनि प्रोस्टेटसम्बन्धी समस्या उत्पन्न हुने अन्य कारणहरू हुन सक्छन्।
प्रकार :
प्रोस्टेटका समस्या विशेषगरी बेनाइन (क्यान्सर नहुने) र कार्सिनोजेनिक अर्थात् क्यान्सर हुने प्रकारका रूपमा देखापर्छन्। कतिपय व्यक्तिमा प्रोस्टेट सुन्निएर लामो समयसम्म नघट्ने अवस्था पनि हुन्छ। यस्तो अवस्थामा पनि माथि उल्लेखित लक्षणहरू देखापर्न सक्छन् र ती लामो समयसम्म रहिरहन सक्छन्।
हेर्दा प्रोस्टेटको आकार सामान्यभन्दा ठूलो मात्र देखिएको अवस्थामा पनि बिरामीले नियमित स्वास्थ्य परीक्षण गराइरहनुपर्छ। पुरुषहरूमा प्रोस्टेट क्यान्सर उच्च दरमा देखिने गरेको छ। प्रोस्टेट बढेको अवस्थामा जस्तै प्रोस्टेट क्यान्सरमा पनि उस्तै प्रकारका लक्षणहरू देखिने भएकाले सजग रहन आवश्यक छ।
विशेषगरी परिवारमा क्यान्सरको इतिहास भएको, आफैँ क्यान्सरको उपचार गराइरहेको अवस्था भएको, प्रोस्टेटको शल्यक्रियापछि पनि उही समस्या दोहोरिएको, वा पिसाब गर्दा पोल्ने तथा दुख्ने समस्या देखिएको अवस्थामा एकपटक परीक्षण गराउनु उपयुक्त हुन्छ। पिएसए परीक्षण प्रोस्टेट क्यान्सर भए–नभएको प्रारम्भिक जानकारी दिने महत्त्वपूर्ण परीक्षण हो।
उपचार :
बिरामीको उमेर, स्वास्थ्य अवस्था तथा प्रोस्टेटको आकारका आधारमा उपचार विधि अपनाइन्छ। विशेषगरी औषधिको प्रयोगमार्फत बढ्दै गएको प्रोस्टेटलाई थप बढ्नबाट रोक्ने प्रयास गरिन्छ। यदि औषधिले नियन्त्रण गर्न नसकेमा र बिरामीलाई असहजता भइरहेमा शल्यक्रिया गरी बढेका अनावश्यक कोषहरू हटाउने उपचार गरिन्छ।
शल्यक्रिया प्रभावकारी उपचार विधि भए पनि खर्चको अभाव तथा सहज स्वास्थ्य सेवा उपलब्ध नहुँदा दुर्गम क्षेत्रमा बसोबास गर्ने धेरै नागरिकले यस्तो सेवा लिन सकेका छैनन्। कतिपय अवस्थामा शल्यक्रियापछि पनि समस्या दोहोरिन सक्ने भएकाले धेरै बिरामीहरू रोग सहेर बस्न बाध्य भएका छन्।
समय–समयमा पुनः परीक्षण गराउनुपर्छ भन्ने ज्ञान र चेतनाको अभावले पनि उपचार असफल भएको पाइन्छ। एकपटक परीक्षण वा शल्यक्रिया गराएपछि अब पुग्यो भनेर बस्नु उचित हुँदैन। कम्तीमा वर्षमा एकपटक स्वास्थ्य परीक्षण गराउनु राम्रो मानिन्छ। साथै, भविष्यमा प्रोस्टेट क्यान्सर हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै आवश्यक रगत परीक्षण गराउनु पनि लाभदायक हुन्छ।
यसरी नै, शल्यक्रिया नगरी पनि धेरै प्रोस्टेट पीडितलाई औषधिको माध्यमबाट राहत दिन सकिन्छ। होमियोप्याथिक, आयुर्वेदिक तथा योग उपचार पद्धतिबाट धेरै प्रोस्टेट बिरामीहरूले राहत पाएको अनुभव गरेका छन्। नियमित व्यायाम, सन्तुलित खानपान तथा सहजै पच्ने शाकाहारी भोजन पनि सहयोगी माध्यम मानिन्छ।
मांसाहारी भोजन गर्नेहरूले अत्यधिक पोलेको, धेरै मसला हालिएको तथा पटक–पटक तताएर पकाइएको मासु सेवन नगर्नु उपयुक्त हुन्छ। दैनिक रूपमा थोरै भए पनि फलफूल सेवन गर्नु लाभदायक मानिन्छ।
एउटा अध्ययनअनुसार शरीरलाई आवश्यक पर्ने लाइकोपेन तत्त्वको कमी भएमा विशेषगरी प्रोस्टेट क्यान्सरको जोखिम बढ्न सक्छ। लाइकोपेनले यस्तो जोखिम कम गर्न सहयोग पुर्याउन सक्छ। यो तत्त्व गोलभेँडा, अमला, कागती, रुख टमाटर, स्याउ तथा धेरै बियाँ भएका तरकारी र पहेँला फलफूलमा पाइन्छ।
त्यसैले बेलैमा रोगका बारेमा जानकारी राखेर आफ्नै घर तथा करेसाबारीमा उत्पादन हुने तरकारी र फलफूलको नियमित सेवन गर्न सके क्यान्सरजस्ता गम्भीर रोगको जोखिम कम गर्न सहयोग पुग्न सक्छ। स्वस्थ जीवनशैली, नियमित परीक्षण तथा प्राकृतिक उपचार पद्धतिको उचित प्रयोगले शल्यक्रियाको आवश्यकता केही हदसम्म कम गर्न र जीवनलाई सहज बनाउन मद्दत पुर्याउन सक्छ।
जसरी जङ्गलमा चर्ने गाईबस्तुले घाँसपातसँग मिसिएका जडीबुटी खाएर स्वास्थ्य जोगाउँछन्, त्यसरी नै सागसब्जी र फलफूलको नियमित सेवनले मानिसको स्वास्थ्य सुधार गर्न सहयोग पुर्याउन सक्छ।
होमियोप्याथिक उपचार पद्धतिमा प्रोस्टेट समस्याका लागि प्रयोग हुने औषधिमध्ये सेवल सेरुलेटा, थुजा, कोनियम, फेरम पिक्रिकम तथा बैराइटा कार्ब आदि उल्लेखनीय छन्। तर, होमियोप्याथिक चिकित्सामा बिरामीको लक्षण, प्रकृति र समग्र अवस्थाका आधारमा औषधि छनोट गरिने भएकाले कुनै पनि औषधि चिकित्सकको सल्लाहबिना सेवन गर्नु हुँदैन। त्यसैले योग्य चिकित्सकको परामर्शअनुसार मात्र औषधि सेवन गर्नुपर्छ।
(लेखक होमियोप्याथिक चिकित्सक हुन्।)
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.