काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको क्याविनेटले लिङ्ग परिवर्तन गरेका दुई जनालाई नागरिकता दिने निर्णय गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को निर्णयअनुसार लिङ्ग परिवर्तन गरेका दुई जनाले परिवर्तित लैङ्गिक पहिचानअनुसार नागरिकता प्राप्त गरेका हुन्।
गृह मन्त्रालय स्रोतका अनुसार जिल्ला प्रशासन कार्यालय चितवन र काठमाडौँबाट लिङ्ग परिवर्तन गरेका दुई जनाले परिवर्तित लैङ्गिक पहिचानका आधारमा नागरिकता प्राप्त गरेका छन्।
गृह स्रोतका अनुसार जेनजी आन्दोलनअघि मन्त्रालयमा दर्ता भएका केही निवेदन नष्ट भएका थिए। त्यसपछि प्राप्त निवेदनहरूमध्ये दुई जनाको हकमा मन्त्रिपरिषद्बाट निर्णय भई नागरिकता प्रदान गरिएको हो। यद्यपि लिङ्ग परिवर्तन नगरेका केही पुरुषले महिलाको नागरिकता माग गर्दै निवेदन दिएका छन्।
नागरिकता नियमावलीमै संशोधन गर्नुपर्ने भएकाले त्यस्ता निवेदनहरू हाल विचाराधीन अवस्थामा रहेको गृह मन्त्रालयका एक अधिकारीले बताए। सर्वोच्च अदालतबाट रुक्शना कपालीले ‘ब्रेन जेन्डर’ का आधारमा महिलाको नागरिकता प्राप्त गरेपछि रुक्शनाकै प्रेरणामा थप केही निवेदन परेको देखिएको गृहका अधिकारीको भनाइ छ। “ती निवेदनमा अहिलेसम्म कुनै निर्णय भएको छैन,” उनले भने।
महिलाको नागरिकता लिएका एक जना तेस्रोलिङ्गी व्यक्तिले आफ्नो नागरिकता सच्याई अन्य लैङ्गिक पहिचानमा कायम गरिदिन माग गर्दै गृह मन्त्रालयमा निवेदन दिएका छन्। लैङ्गिक तथा यौनिक अल्पसंख्यक व्यक्तिलाई राज्यले ‘अन्य’ पहिचानमा नागरिकता दिनुपर्ने भए पनि आफूले महिलाको नागरिकता प्राप्त गरेको उल्लेख गर्दै नागरिकता संशोधन गरी ‘अन्य’ पहिचान कायम गरिदिन माग गरिएको गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिए।
निवेदनमा नागरिकतामा रहेको लैङ्गिक विवरण “महिला” बाट “अन्य (तेस्रोलिङ्गी)” कायम गरिदिन माग गरिएको छ।
निवेदकले जन्म जैविक रूपमा पुरुषको रूपमा भए पनि सानैदेखि तेस्रोलिङ्गी तथा अन्य लैङ्गिक पहिचानका रूपमा हुर्किएको र सोही पहिचानअनुसार जीवनयापन गर्दै आएको उल्लेख गरेका छन्।
निवेदनमा आफ्नो वास्तविक लैङ्गिक पहिचान तेस्रोलिङ्गी भए तापनि विगतमा नागरिकतामा नाम परिवर्तन गर्न कानुनी तथा प्रशासनिक जटिलता रहेका कारण सम्बन्धित निकायका कर्मचारीहरूको सुझावअनुसार “महिला” लिङ्ग उल्लेख भएको नागरिकता प्रमाणपत्र प्राप्त गरेको जनाइएको छ।
त्यस समयमा प्रचलित प्रशासनिक अभ्यास तथा प्रक्रियाअनुसार नागरिकतामा “अन्य (तेस्रोलिङ्गी)” लिङ्ग उल्लेख गरी नागरिकता प्राप्त गरेमा नाम परिवर्तन गर्ने सुविधा व्यवहारमा उपलब्ध नरहेको निवेदनमा उल्लेख छ।
“मेरो लैङ्गिक पहिचानसँग मेल खाने नाम राख्ने चाहना भए पनि ‘अन्य’ लिङ्ग श्रेणी कायम राखेर नाम परिवर्तन गर्न नसकिने अवस्था भएकाले सम्बन्धित अधिकारीहरूको सुझावअनुसार मैले ‘महिला’ लिङ्ग उल्लेख भएको नागरिकता प्राप्त गरेको थिएँ, जसबाट मात्र आफ्नो पहिचानअनुसारको नाम कायम गर्न सम्भव भएको थियो,” निवेदनमा भनिएको छ।
निवेदकले हाल आफ्नो नाम यथावत् कायम राखी नागरिकतामा उल्लेखित लिङ्गलाई वास्तविक लैङ्गिक पहिचानअनुसार “अन्य (तेस्रोलिङ्गी)” मा सच्याउन चाहेको बताएका छन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.