काठमाडौँ – विश्व फुटबल अहिले उत्सवमय बनेको छ। फिफा विश्वकप फुटबल २०२६ को रोमाञ्चक प्रतिस्पर्धामा विश्वभरका खेलप्रेमीहरू रमाइरहेका छन्।
विश्वकपमा सहभागी राष्ट्रहरू इतिहास रच्ने होडमा छन् भने विश्वको ध्यान पनि अहिले यही महाकुम्भमा केन्द्रित बनेको छ। फिफा विश्वकप २०२६ को समूह चरणका खेलहरू सकिनै लाग्दा हालसम्म १९ वटा टोली नकआउट अर्थात् अन्तिम ३२ को चरणमा पुग्न सफल भएका छन्।
४८ टोली सहभागी विश्वकपमा शुक्रवारसम्म भएका खेलबाट १९ टोलीले अर्को चरणको यात्रा तय गरेका हुन्। नकआउट चरणमा पुग्ने प्रमुख टोलीहरूमा आयोजक राष्ट्र मेक्सिको, अमेरिका र क्यानडाका साथै अर्जेन्टिना, ब्राजिल, फ्रान्स र जर्मनी रहेका छन्।
अर्को चरणमा पुगेका टोलीमध्ये आठ टोलीले आफ्ना प्रतिद्वन्द्वीसमेत पाइसकेका छन्। जसअनुसार दक्षिण अफ्रिकाले क्यानडाको, नेदरल्यान्ड्सले मोरक्कोको, अमेरिकाले बोस्निया एन्ड हर्जगोभिनाको तथा ब्राजिलले जापानको सामना गर्नेछन्। नकआउट चरणका यी खेलहरू आगामी सोमबारदेखि सुरु हुनेछन्।
विश्वकपमा सहभागी राष्ट्रहरू नयाँ इतिहास रचिरहेका छन् र विश्व फुटबलको उत्सव चरम उत्कर्षमा पुगेको छ।
तर, विश्व फुटबल उत्सवमा पुगेका बेला नेपाली फुटबलका लागि भने अत्यन्त दुःखद अवस्था सिर्जना भएको छ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) विश्व फुटबल महासङ्घ (फिफा) को निलम्बनमा परेको छ।
विश्व फुटबलको सर्वोच्च संस्था फिफाले एन्फामाथि कारबाही गरेसँगै अन्तर्राष्ट्रिय फुटबल जगतमा नेपालको उपस्थिति गम्भीर सङ्कटमा परेको छ। विवादको सुरुआत एन्फाका पदाधिकारीहरूको गैरजिम्मेवारीबाट भएको हो।
पछिल्लो समय लिग फुटबल नियमित सञ्चालन गर्न नसक्नु, निर्वाचनसम्बन्धी विवाद समाधान गर्न नसक्नु तथा सरकार र एन्फाबीचको टकराव अन्त्य गर्न नसक्नुजस्ता कारणले अन्ततः नेपाली फुटबल निलम्बनको अवस्थासम्म पुगेको हो।
सन् १९५१ मा स्थापना भएको एन्फा सन् १९७२ मा फिफाको सदस्य बनेको थियो। पाँच दशकभन्दा लामो इतिहासमा एन्फा पहिलो पटक फिफाबाट निलम्बनमा परेको हो।
कारबाहीलाई लिएर फुटबलप्रेमीहरूले मिश्रित प्रतिक्रिया दिएका छन्। फुटबल खेलाडी सङ्घका अध्यक्ष विक्रम लामाले निलम्बनलाई दुःखद घटनाका रूपमा मात्र नभई सुधारको अवसरका रूपमा पनि लिनुपर्ने बताएका छन्।
निलम्बनपछि नेपालका राष्ट्रिय टोली र क्लबहरूले फिफा तथा एएफसीबाट मान्यता प्राप्त अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन पाउने छैनन्। फिफाबाट मान्यता प्राप्त नेपाली रेफ्रीहरूले पनि अन्तर्राष्ट्रिय खेल सञ्चालन गर्न पाउने छैनन्। साथै, फिफा र एएफसीमार्फत सञ्चालन हुने विकास कार्यक्रम तथा आर्थिक सहयोगसमेत प्रभावित हुने भएको छ।
विश्व फुटबल नयाँ उत्सव र सफलताका कथा लेखिरहेको बेला नेपाली फुटबल भने आफ्नो इतिहासकै कठिन मोडमा आइपुगेको छ। निलम्बन फुकुवाका लागि सरकार तयारीमा जुटेको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र यादवले सरकारले यस विषयमा छलफल सुरु गरेको जानकारी दिए। उनका अनुसार तत्कालीन पदाधिकारीहरूको गैरजिम्मेवारीका कारण नेपाली फुटबलले यस्तो अवस्था भोग्नुपरेको हो।
अन्तर्राष्ट्रिय अवसर गुम्दा खेलाडीहरूको भविष्य अन्योलमा परेको छ भने नेपाली फुटबलको समग्र विकास प्रक्रियामै गम्भीर धक्का पुगेको छ। निलम्बन फुकुवाका लागि सरकारले छलफल सुरु गरिसकेको र आउँदो शुक्रवारसम्म निष्कर्षमा पुग्ने राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र यादवले बताए।
अब नेपाली फुटबललाई यो सङ्कटबाट कसरी बाहिर निकाल्ने भन्ने प्रश्न सरकार, राखेप र एन्फा नेतृत्व सबैका सामु उभिएको छ। विश्व फुटबल उत्सवका बीच आएको यो निलम्बन नेपाली फुटबलका लागि ठूलो झट्का मात्र होइन, आगामी दिशा तय गर्ने महत्त्वपूर्ण मोडका रूपमा पनि हेरिएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.