काठमाडौँ – ग्लोबल आइएमई बैङ्क लिमिटेडले देशमा उद्यमशीलताको विकास र साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल आइएमई उद्यमशाला कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ।
विश्व लघु, साना तथा मझौला व्यवसाय दिवस २०२६ को अवसरमा आयोजित कार्यक्रम मार्फत उद्यमशाला कार्यक्रमको घोषणा गर्दै इन्क्यूबेसन कार्यक्रमका लागि देशभरका उद्यमी तथा नवप्रवर्तनको सोच भएका व्यक्तिहरूबाट आवेदन आह्वान गरेको छ।
यस उद्यमशाला कार्यक्रमको मुख्य उद्देश्य नवप्रवर्तनको सोच भएका व्यक्तिहरूलाई सफल उद्यमी बन्न प्रेरित गर्नुका साथै सञ्चालनमा रहेका लघु, साना तथा मझौला व्यवसायमा आबद्ध व्यवसायहरूलाई दिगो र प्रतिष्ठित व्यवसाय बनाउन आवश्यक सैद्धान्तिक एवम् व्यवहारिक ज्ञान, सीप तथा परामर्श प्रदान गर्नु ग्लोबल आइएमई बैङ्कले जनाएको छ।
बैङ्कको प्रधान कार्यालय कमलादी, काठमाडौँमा आयोजित कार्यक्रममा बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र राज रेग्मीले उद्यमशाला कार्यक्रमको विधिवत् घोषणा गर्दै कार्यक्रमका लागि आवेदन खुल्ला भएको घोषणा गरे। “लघु, साना तथा मझौला व्यवसायीहरूले भोग्नुपर्ने साझा चुनौतीहरूलाई सम्बोधन गर्न बैङ्कले यो प्लेटफर्म तयार गरेको हो। सम्बन्धित क्षेत्रका विषयविज्ञ, अनुभवी व्यवसायी तथा प्रशिक्षकहरू मार्फत सहभागीहरूलाई व्यावहारिक ज्ञान र समस्या समाधानका उपायहरू प्रदान गरिनेछ,”उनले भने।
उनका अनुसार उद्यमशाला कार्यक्रमअन्तर्गत बैङ्कले मुख्यतया दुईवटा ढाँचामा सहयोग गर्नेछ। पहिलो इन्क्युबेसन र दोस्रो एक्सीलेरेसन। इन्क्युबेसन कार्यक्रम नयाँ र नवप्रवर्तनकारी व्यावसायिक सोच भएका तर उद्यमशीलताको यात्रा कसरी सुरु गर्ने भन्ने अन्योलमा रहेका युवाहरूलाई लक्षित गरी सञ्चालन गरिनेछ। यसअन्तर्गत उनीहरूको क्षमता अभिवृद्धि, व्यवसायको सञ्जाल विस्तार र मार्गनिर्देशन प्रदान गरिनेछ।
त्यसैगरी, एक्सीलेरेसन कार्यक्रमअन्तर्गत हाल सञ्चालनमा रहेका तर व्यवसाय विस्तार वा स्तरोन्नतिमा कठिनाइ भोगिरहेका उद्यमीहरूलाई समेटिनेछ। यस अन्तर्गत क्षमता विकास, आधुनिक प्रविधिको प्रयोग, बजारीकरण र सरोकारवाला निकायहरूसँगको पहुँचमा सहजीकरण गरिनेछ।
यस कार्यक्रममार्फत सहभागीहरूले व्यवसाय दर्ता, कर तथा कानुनी प्रक्रिया, बजार अध्ययन, उत्पादन प्रक्रिया, वित्तीय व्यवस्थापन र बैङ्क तथा वित्तीय संस्थासँगको पहुँच जस्ता महत्त्वपूर्ण विषयमा गहन व्यावहारिक ज्ञान प्राप्त गर्ने बैङ्कले विश्वास लिएको छ।
उक्त उद्घाटन समारोहमा बैङ्कका नायव प्रमुख कार्यकारी अधिकृत, उच्च पदस्थ व्यवस्थापकहरू, साझेदार संस्थाका प्रतिनिधिहरू तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.