काठमाडौँ – गत फागुन २१ गतेको निर्वाचन परिणामपछि कमजोर बनेका प्रमुख कम्युनिस्ट दलका शीर्ष नेताहरूले फेरि बाम एकता र कार्यगत सहकार्यको आवश्यकता औँल्याउन थालेका छन्। पछिल्लो राजनीतिक परिस्थितिमा कम्युनिस्ट आन्दोलनको भविष्य, निर्वाचनमा भएको क्षति र आगामी रणनीतिबारे छलफल गर्दै चार पूर्वप्रधानमन्त्री एउटै मञ्चमा देखिएका हुन्।
एकअर्काको तीव्र आलोचना गर्दै आएका नेताहरूले यसपटक सार्वजनिक रूपमा कार्यगत एकताको आवश्यकता औँल्याए। लामो समयदेखि राजनीतिक रूपमा एकअर्कासँग टकरावमा रहेका पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि एउटै मञ्चमा उभिँदै बाम शक्तिबीच सहकार्य आवश्यक रहेको सन्देश दिए।
इतिहासका विभिन्न चरणमा कम्युनिस्ट आन्दोलनको नेतृत्व गरेका यी दुई नेता मात्रै होइनन्, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनालले पनि ओली र प्रचण्डसँग एउटै मञ्चमा उभिएर बाम शक्तिबीच एकता र सहकार्य आवश्यक भएको धारणा राखे।
विगतमा गठबन्धनमार्फत सरकार गठन गरेका यी नेताहरूले पछिल्लो राजनीतिक घटनाक्रम र वर्तमान सरकारका गतिविधिप्रति असन्तुष्टि व्यक्त गर्दै एउटै मञ्चबाट आफ्ना धारणा सार्वजनिक गरे। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको तीव्र आलोचना गर्दै आफ्नो असहमति दोहोर्याए।
वालेन्द्र शाह नेतृत्वको सरकारले शपथ लिएकै भोलिपल्ट पक्राउ परेका ओलीले वर्तमान सरकारलाई प्रतिगमनको संज्ञा पनि दिएका छन्।
जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा आइतबार आयोजित कार्यक्रममा शीर्ष कम्युनिस्ट नेताहरू एउटै मञ्चमा उभिए। उनीहरूले गत निर्वाचनमा बाम शक्तिबीच तालमेल हुन नसक्दा चुनावी परिणाम प्रतिकूल भएको धारणा पनि राखे।
कम्युनिस्ट नेतृत्वकै सरकारका समयमा दासढुंगा दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन नसकेको आलोचना खेपेका पूर्वप्रधानमन्त्रीहरू मदन भण्डारीको जन्मजयन्ती कार्यक्रममा भने एउटै मञ्चमा उभिए। उनीहरूले सरकारलाई खबरदारी गर्दै कम्युनिस्ट शक्तिहरू विभाजित नभई सहकार्य गर्नुपर्ने सन्देशसमेत दिए।
पूर्वप्रधानमन्त्री झलनाथ खनालले कम्युनिस्ट पार्टीहरूबीच चुनावी तालमेल हुन नसक्दा वामपन्थी आन्दोलनले लज्जास्पद हार व्यहोर्नुपरेको बताए। प्रचण्ड र माधव नेपालसँग असन्तुष्टि राख्दै २७ बुँदे पत्र पठाएको तर त्यसको जवाफ नपाएका उनले चुनावी गठबन्धन भएको भए वामपन्थीले करिब एक सय सिट जित्ने र बालेन शाहको तानाशाही शैली नचल्ने दाबी गरे।
राजनीतिक रूपमा सहज हुँदा अलग–अलग र अप्ठ्यारो पर्दा एकताका कुरा गर्ने कम्युनिस्ट नेताहरूको प्रवृत्तिमाथि यसअघि पनि टिप्पणी हुँदै आएको छ। लामो समयदेखि केपी शर्मा ओलीसँग राजनीतिक दूरीमा रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि पछिल्ला दिनमा बाम एकतालाई जोड दिँदै आएका छन्।
व्यवसायी अजयराज सुमार्गीको पासपोर्ट रोक्का भएको भोलिपल्टदेखि नै प्रचण्डले क्रमभङ्ग गर्नुपर्ने अभिव्यक्ति दिँदै आएका छन्। उनले बाम एकता गर्न अब ढिला गर्न नहुने बताए।
विगतमा ओलीसँग राजनीतिक मतभेदपछि प्रचण्डसँग सहकार्य गरेका माधवकुमार नेपालले भने बाम एकताबारे केही शङ्का व्यक्त गरे। ओली र प्रचण्डले कार्यगत एकताको आवश्यकता औँल्याइरहँदा नेपालले भने बाम एकताको चर्चा सुन्दा आफ्नो ‘दिमाग नै खराब हुने’ गरेको टिप्पणी गरे।
नेताहरूले बाम एकताको कुरा गरे पनि उनीहरूको मुख्य आलोचनाको केन्द्र वर्तमान सरकार नै बन्यो। पूर्वप्रधानमन्त्री ओलीले अहिलेको राजनीतिक परिवर्तनप्रति असन्तुष्टि व्यक्त गर्दै विश्वभर अस्थिरतावादी, लोकप्रियतावादी र हिंसात्मक गतिविधिबाट सत्ता कब्जा गर्ने तथा वामपन्थी शक्तिलाई कमजोर पार्ने प्रयास भइरहेको दाबी गरे।
ओली र प्रचण्डले बाम एकता तथा कार्यगत सहकार्यलाई तत्काल अघि बढाउनुपर्नेमा जोड दिएको देखियो भने नेपाल र खनालले विगतका राजनीतिक अनुभवका आधारमा केही सतर्कता आवश्यक रहेको सङ्केत गरे। पछिल्लो निर्वाचनमा आएको परिणामपछि बाम एकताको बहस फेरि अघि बढेको भन्दै त्यसलाई चुनावी हारसँग पनि जोडेर विश्लेषण भइरहेको छ।
तर, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कुनै एक निर्वाचनको परिणामका आधारमा सम्पूर्ण आन्दोलनको मूल्याङ्कन गरेर आत्तिन नहुने धारणा व्यक्त गरिन्।
चार कम्युनिस्ट शीर्ष नेताहरू एउटै मञ्चमा उपस्थित हुँदा तत्कालीन १० वर्षे सशस्त्र द्वन्द्वका अर्का पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भने कार्यक्रममा अनुपस्थित रहे। मधेश आन्दोलनको नेतृत्व गरेका उपेन्द्र यादव पनि मदन भण्डारी जयन्तीको कार्यक्रममा सहभागी भएनन्।
ओली, प्रचण्ड, नेपाल र खनाल एउटै मञ्चमा उभिएर बाम एकता र सहकार्यको आवश्यकता औँल्याए पनि त्यसको स्वरूप, मोडालिटी र साझा राजनीतिक कार्यदिशाबारे स्पष्ट सहमति भने सार्वजनिक रूपमा प्रस्तुत गर्न सकेनन्। यसले बाम एकताको बहस फेरि सुरु भए पनि त्यसको ठोस आधार र कार्यान्वयनबारे अझै स्पष्टता आउन बाँकी रहेको सङ्केत गरेको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.