भुटानी शरणार्थी इतिहासका साक्षी पत्रकार देवेन्द्र भट्टराईलाई अमेरिकामा सम्मान

भुटानी शरणार्थी इतिहासका साक्षी पत्रकार देवेन्द्र भट्टराईलाई अमेरिकामा सम्मान

290
SHARES

अमेरिका – भुटानी शरणार्थी, मानव अधिकार तथा राजनीतिक बन्दीहरूको विषयमा तीन दशकभन्दा लामो समयदेखि निरन्तर कलम चलाउँदै आएका पत्रकार देवेन्द्र भट्टराई अमेरिकाको सिनसिनाटीमा सम्मानित भएका छन्।

अमेरिका भ्रमणमा रहेका पत्रकार भट्टराईलाई भुटनीज कम्युनिटी अफ सिनसिनाटी र लिटरेचर काउन्सिल अफ भुटानको संयुक्त आयोजनामा आयोजित विशेष कार्यक्रममा प्रशंसापत्रसहित सम्मान गरिएको हो।

भुटानी शरणार्थीहरूको सङ्घर्ष, समस्या, पीडा र भोगाइलाई सञ्चारमाध्यममार्फत विश्व समुदायसमक्ष उजागर गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएबापत उनलाई यो सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा वक्ताहरूले भट्टराईलाई केवल समाचार लेख्ने पत्रकार नभई भुटानी समुदायको इतिहास, विस्थापन र मानव अधिकारको सङ्घर्षलाई दस्तावेजीकरण गर्ने समर्पित अन्वेषकका रूपमा चित्रण गरे।

कार्यक्रमको प्रारम्भमा गायक किशोर शिवाकोटीले गीत प्रस्तुत गरी साङ्गीतिक वातावरण सिर्जना गरेका थिए। कार्यक्रममा हिन्दू रिसोर्स सेन्टरका अध्यक्ष काशी घिमिरे, भुटानी राजबन्दीहरूको फिर्ती अभियानकी अभियन्ता सिर्जना तिम्सिना, समाजसेवी तारा दाहाल, एचआरसीका सदस्य टङ्क तिम्सिना, भुटानी समाज सेन्सिनाटीका सदस्य विष्णु खरेल, राम गुरुङ तथा साहित्य परिषद् भुटानका अध्यक्ष खेम रिजालले आ-आफ्ना विचार तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

वक्ताहरूले भट्टराईले वर्षौँदेखि भुटानी राजनीतिक बन्दीहरूको अवस्था, शरणार्थीहरूले भोग्नुपरेका कठिनाइ तथा अन्तर्राष्ट्रिय ध्यान केन्द्रित हुनुपर्ने मानव अधिकारका गम्भीर मुद्दाहरूलाई निरन्तर रूपमा उठाउँदै आएको उल्लेख गरे। आवाजविहीनहरूको आवाजलाई मूलधारमा ल्याउन र उपेक्षित समुदायका पीडाहरूलाई विश्वसामु पुर्‍याउन उनको पत्रकारिताले महत्त्वपूर्ण भूमिका खेलेको उनीहरूको भनाइ थियो।

दार्जिलिङ, सिक्किम तथा विभिन्न क्षेत्रमा पुगेर स्थलगत अध्ययन, अनुसन्धान र अन्तर्वार्तामार्फत भुटानी समुदायको सङ्घर्ष र इतिहासलाई लिपिबद्ध गर्न भट्टराईले खेलेको भूमिका बिर्सन नसकिने वक्ताहरूले बताए। उनीहरूले भट्टराईलाई समुदायको इतिहास संरक्षण गर्ने, न्यायका पक्षमा उभिने र मानव अधिकारका सवाललाई निरन्तर उठाउने पत्रकारका रूपमा सम्मान व्यक्त गरेका थिए।

कार्यक्रमका अध्यक्ष खेम रिजालले पछिल्लो समय नेपाली भाषी भुटानी समुदायमाथि विभिन्न नकारात्मक आरोप–प्रत्यारोप भइरहेका बेला यस कार्यक्रमले नेपाली भाषा, साहित्य, संस्कार र पहिचानको सम्मान गर्दै नेपाली मन र नेपालीपनको उच्च मूल्याङ्कन गरेको बताए। उनले समुदायले आफ्नो इतिहास, योगदान र सांस्कृतिक पहिचानलाई जोगाउँदै सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने आवश्यकता औँल्याए।

सो अवसरमा लिटरेचर काउन्सिल अफ भुटान र भुटनीज कम्युनिटी अफ सिनसिनाटीका तर्फबाट भट्टराईलाई संयुक्त रूपमा प्रशंसापत्र प्रदान गरिएको थियो। त्यसैगरी, भुटानी राजनीतिक बन्दीहरूको रिहाइका लागि विश्वव्यापी अभियानका तर्फबाट पनि भुटानी शरणार्थी तथा राजनीतिक बन्दीहरूको मानव अधिकारका लागि पुर्‍याएको योगदानको कदर गर्दै छुट्टै सम्मानपत्र हस्तान्तरण गरिएको थियो।

सम्मान ग्रहणपछि भट्टराईले पत्रकारितालाई केवल पेशा नभई मानवता, न्याय र सत्यको पक्षमा उभिने माध्यमका रूपमा लिएको बताउँदै आगामी दिनमा पनि पीडित, उपेक्षित र आवाजविहीन समुदायको पक्षमा निरन्तर काम गरिरहने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमको सञ्चालन लिटरेचर काउन्सिल अफ भुटानका अध्यक्षले गरेका थिए भने अन्त्यमा पुष्प लुइँटेलले धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गरेका थिए।

कार्यक्रममा सहभागीहरूले भट्टराईसँगको अन्तरक्रियालाई विशेषगरी डायस्पोरामा रहेका भुटानी युवा पुस्ताका लागि आफ्नो इतिहास बुझ्न, न्याय र मानव मर्यादाप्रति प्रतिबद्ध हुन तथा समुदायका सङ्घर्षका अध्यायहरूलाई नजिकबाट जान्न महत्त्वपूर्ण शैक्षिक अवसरका रूपमा लिएका थिए।

समाचार शेयर गर्नुहोस्
290
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.