रवि लामिछानेलाई बधाईसहित भुटानी शरणार्थी समस्यामा ध्यानाकर्षण

रवि लामिछानेलाई बधाईसहित भुटानी शरणार्थी समस्यामा ध्यानाकर्षण

179
SHARES

काठमाडौं – भुटान पिपल्स पार्टी (निर्वासन कार्यालय) का अध्यक्ष बलराम पौड्यालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पुनः निर्वाचित भएकोमा बधाई दिँदै भुटानी शरणार्थी समस्यातर्फ ध्यानाकर्षण गराएका छन्।

रास्वपाको हालै चितवनमा सम्पन्न प्रथम महाधिवेशनबाट लामिछाने सर्वसम्मत रूपमा सभापतिमा पुनः निर्वाचित भएपछि पौड्यालले एक बधाई तथा शुभकामना सन्देश जारी गर्दै सफल कार्यकालको कामना गरेका हुन्।

सन्देशमा उनले लामिछानेको नेतृत्वलाई “ऊर्जाशील र दूरदर्शी” भन्दै यसले पार्टीलाई थप सशक्त, गतिशील र जनमुखी बनाउने विश्वास व्यक्त गरेका छन्। साथै, रास्वपाले अङ्गीकार गरेको सुशासन, पारदर्शिता, दण्डहीनताको अन्त्य र भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताले नेपाली राजनीतिमा नयाँ आशा जगाउने उल्लेख गरेका छन्।

यसै सन्दर्भमा पौड्यालले नेपालमा तीन दशकभन्दा बढी समयदेखि बसोबास गर्दै आएका वास्तविक भुटानी शरणार्थीहरूको अवस्थाप्रति गम्भीर ध्यान दिन आग्रह गरेका छन्। उनले नक्कली भुटानी शरणार्थी प्रकरणले व्यापक चर्चा पाए पनि वास्तविक शरणार्थीहरूको दीर्घकालीन समस्या अझै ओझेलमा परेको बताएका छन्।

“आज पनि हजारौँ शरणार्थीहरू अनिश्चित भविष्य, सीमित अधिकार र कठिन जीवन बिताउन बाध्य छन्,” सन्देशमा उल्लेख छ।

पौड्यालले रास्वपालाई संसद् र नीतिगत तहमा यो विषय उठाउन तथा सम्बन्धित निकायसँग समन्वय गरी सम्मानजनक र दीर्घकालीन समाधानका लागि पहल गर्न आग्रह गरेका छन्। उनले यस विषयलाई राष्ट्रिय प्राथमिकतामा राख्दै नेतृत्वले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

समाचार शेयर गर्नुहोस्
179
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.