ललितपुर – लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले “समावेशिता, विविधता र सद्भावका बीउ रोपौँ” भन्ने मूल नारासहित इन्द्रेणी रोपाइँ जात्रा मनाएका छन्। मायाको पहिचान नेपाल, लिड नेपाल, समावेशी मञ्च नेपालसहितका सङ्घसंस्थाको संयुक्त आयोजनामा ललितपुरको पाटन दरबार स्क्वायर प्राङ्गणमा इन्द्रेणी रोपाइँ जात्रा आयोजना गरिएको हो।
कार्यक्रमका लागि ललितपुर महानगरपालिकाले स्थान उपलब्ध गराएको थियो भने एक्सन एड नेपाल र डाकिनी हस्पिटालिटीले सहयोग गरेका थिए। कार्यक्रममा सहभागीहरू पुरुष–महिला तथा महिला–पुरुषको भेषमा सजिएर परम्परागत शैलीमा धान रोपाइँमा सहभागी भएका थिए।
आयोजकका अनुसार नेपालका लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले पश्चिमी संस्कृतिको नक्कल नगरी नेपालकै मौलिक संस्कृति, परम्परा, रीतिरिवाज र चाडपर्वसँग आफ्नो लैङ्गिक पहिचान जोड्दै इन्द्रेणी रोपाइँ जात्रा मनाउँदै आएका छन्। इन्द्रेणी रोपाइँ जात्रा नियमित रूपमा आयोजना गर्न थालिएको यो तेस्रो वर्ष हो।
कार्यक्रमलाई सम्बोधन गर्दै पहिलो संविधान सभा सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिल बाबु पन्तले इन्द्रेणी रोपाइँ जात्रा केवल धान रोप्ने कार्यक्रम नभई नेपालको इतिहास, संस्कृति तथा विविधताको सम्मान गर्ने अवसर भएको बताए।
उनले वैज्ञानिक अध्ययनअनुसार धान खेतीको सुरुवात करिब ९ हजार वर्षअघि भएको र नेपालमा पनि करिब ३–४ हजार वर्षदेखि धान खेती हुँदै आएको उल्लेख गर्दै रोपाइँलाई केवल कृषि कार्य नभई सभ्यता निर्माण, समुदाय निर्माण, सहकार्य, श्रम र जीवनको उत्सवका रूपमा व्याख्या गरे।

उनका अनुसार हाम्रा पुर्खाहरूले असारको हिलोमा केवल धान मात्र रोपेनन्, सम्बन्ध, संस्कार र समाजलाई एकताबद्ध राख्ने मूल्यहरू पनि रोपे। रोपाइँ जात्राको विशेषता पुरुषहरूले महिलाको भेषमा रोपार बन्ने र महिलाहरूले पुरुषको भेषमा बाउसे तथा हली बन्ने परम्परा रहेको उल्लेख गर्दै उनले यसले समाजमा भूमिका, अनुभव र विविधतालाई सम्मान गर्ने सांस्कृतिक अभ्यासको प्रतिनिधित्व गर्ने बताए।
पन्तले हाम्रा पुर्खाहरूले आधुनिक लैङ्गिक अध्ययन नपढे पनि मानव समाज केवल दुईवटा कठोर लैङ्गिक सीमामा मात्र सीमित नरहने, मानिसको भूमिका, व्यवहार र अभिव्यक्ति विविध हुने तथ्य बुझेको तर्क गरे। समाजलाई समावेशी बनाउन कहिलेकाहीँ भूमिका साट्नुपर्ने, अर्काको अनुभव बुझ्नुपर्ने र आफूभन्दा फरक व्यक्तिलाई सम्मान गर्नुपर्ने सन्देश रोपाइँ जात्राजस्ता परम्पराले दिएको उनको भनाइ थियो।
नेपालको सांस्कृतिक इतिहासमा गाईजात्रा, मारुनी, नटुवा, सिंगारु, रतेउली, धामी–झाँक्री, लाखे, ख्याः, क्वाँचाः लगायतका परम्परामा लैङ्गिक अभिव्यक्तिको विविधता देखिने उल्लेख गर्दै उनले मेटी, फूलुमुलु, नपुंसक, पण्डक, तृतीय प्रकृति, सिंगारु, बराँठ, हिजडा, जनाना जस्ता ऐतिहासिक तथा सांस्कृतिक शब्दावलीहरूले नेपालको आफ्नै लैङ्गिक तथा यौनिक विविधताको समृद्ध परम्परा प्रतिबिम्बित गर्ने बताए।
उनले पूर्वीय दार्शनिक तथा आध्यात्मिक परम्परामा मानव अस्तित्वलाई केवल स्त्री वा पुरुषको सीमित परिचयभन्दा व्यापक रूपमा बुझ्ने दृष्टिकोण रहेको उल्लेख गरे। उपत्यकाका अजिमा परम्परा, ख्याः, क्वाँचाः तथा लाखेसम्बन्धी सांस्कृतिक अभ्यासहरूलाई समेत उनले विविधताको ऐतिहासिक स्मृतिका रूपमा व्याख्या गरे।

पन्तले आधुनिक प्राइड आन्दोलनले पश्चिमी देशहरूमा समान अधिकारका लागि महत्त्वपूर्ण योगदान दिएको स्वीकार गर्दै सन् १९६९ को स्टोनवाल विद्रोहपछि सुरु भएको आन्दोलन र त्यसपछि जुन महिनालाई प्राइड महिनाका रूपमा मान्यता दिइएको इतिहासप्रति सम्मान व्यक्त गरे।
तर नेपालको लैङ्गिक तथा यौनिक विविधताको इतिहास स्टोनवाल वा प्राइड महिनाबाट सुरु नभएको उनको भनाइ थियो। उनले नेपालमा रोपाइँ जात्रा, गाईजात्रा, नटुवा, संस्कृति, रतेउली, अजिमा परम्परा, लाखे, ख्याः, क्वाँचाः, धामी–झाँक्री, मारुनीलगायतका मौलिक सांस्कृतिक अभ्यासहरू लामो समयदेखि विविधताको प्रतीकका रूपमा विद्यमान रहेको बताए।
उनले अन्तर्राष्ट्रिय ऐक्यबद्धताको विरोधी नभएको स्पष्ट पार्दै नेपालको लैङ्गिक तथा यौनिक आन्दोलनले विश्वव्यापी मानवअधिकार आन्दोलनबाट धेरै सिकेको र सहकार्य पनि गरेको बताए। तर सहकार्यको अर्थ आत्मसमर्पण नभएको उल्लेख गर्दै सहयोग पाउनु भनेको सहयोगदाताको संस्कृति, पहिचान वा सामाजिक अभ्यासलाई अनिवार्य रूपमा अपनाउनुपर्ने होइन भन्ने धारणा व्यक्त गरे।
उनले पछिल्लो समय आफ्नै इतिहास, शब्दावली र सांस्कृतिक सम्पदालाई बिर्सिने तथा विदेशी शब्द र प्रतीकलाई मात्र प्रगतिशीलताको मापदण्ड ठान्ने प्रवृत्तिप्रति चिन्ता व्यक्त गरे। विश्वसँग जोडिनुपर्ने भए पनि आफ्ना सांस्कृतिक जरा छोड्न नहुनेमा उनले जोड दिए।

विकास साझेदार तथा दाता संस्थाहरूसमेतलाई सम्बोधन गर्दै पन्तले नेपालका लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई सहयोग गर्न चाहने हो भने स्थानीय इतिहास, स्थानीय संस्कृति, स्थानीय शब्दावली र स्थानीय उत्सवहरूको संरक्षण तथा प्रवर्द्धनमा साथ दिन आग्रह गरे। उनले रोपाइँ जात्रा, गाईजात्रा, नटुवा, सिंगारु, मारुनी, रतेउली, अजिमा परम्परा, ख्याः, लाखे तथा विभिन्न आदिवासी समुदायमा रहेको विविधताको रैथाने ज्ञानलाई संरक्षण गर्न सहयोग गर्नुपर्ने धारणा राखे।
उनले नेपालका लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई अरू कसैको प्रतिलिपि बन्न आवश्यक नरहेको उल्लेख गर्दै नेपालको आफ्नै इतिहास, संस्कृति र विविधता पर्याप्त रहेको बताए।
उनले इन्द्रेणी रोपाइँ जात्रालाई आत्मविश्वास, सांस्कृतिक गौरव र विविधताप्रतिको सम्मान रोप्ने अवसरका रूपमा व्याख्या गर्दै भावी पुस्ताका लागि समान अधिकार र सांस्कृतिक गौरवसँगै फुल्ने–फल्ने नेपाल निर्माण गर्न सबैलाई आह्वान गरे। उनले सम्पूर्ण नेपालीमा इन्द्रेणी रोपाइँ जात्रा तथा असार १५ को शुभकामना पनि व्यक्त गरे।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.