शिखण्डीको कथा बोकेर आयो उपन्यास, लैङ्गिक पहिचान र सामाजिक संरचनामाथि प्रश्न

शिखण्डीको कथा बोकेर आयो उपन्यास, लैङ्गिक पहिचान र सामाजिक संरचनामाथि प्रश्न

‘छोरा जन्मेको छ भने छोरी हुनुपर्छ, छोरी जन्मेको छ भने छोरा हुनुपर्छ भन्दा कस्तो होला?’

93
SHARES

काठमाडौँ – महाभारतको शिखण्डी पात्रमा आधारित ‘शिखण्डी’ उपन्यास सार्वजनिक भएको छ। सुशील रिजालद्वारा लिखित उपन्यास शनिवार नेपाल प्रज्ञा प्रतिष्ठानमा सार्वजनिक गरिएको हो। संविधानसभा सदस्य एवं लैङ्गिक तथा यौनिक अल्पसंख्यक अभियन्ता सुनिलबाबु पन्तसहितका स्रष्टाले संयुक्त रूपमा उपन्यास लोकार्पण गरे।

कार्यक्रममा वक्ताहरूले महाभारतमा वर्णित शिखण्डी पात्र लैङ्गिक पहिचान, शरीर, सामाजिक भूमिका र पितृसत्तात्मक संरचनामाथि बहस गर्ने महत्त्वपूर्ण पात्र रहेको बताए। उनीहरूले शिखण्डीको कथा दक्षिण एसियाली सभ्यता र साहित्यमा रहेको पुरानो लैङ्गिक विविधताको एउटा महत्त्वपूर्ण आख्यान भएको बताए।

साहित्यकार श्रीओम श्रेष्ठले ‘शिखण्डी’ उपन्यासले नेपाली उपन्यासको संख्या थप्ने मात्र नभई यसको उन्नयनमा समेत भूमिका खेल्न सक्ने बताए।

उनले अनुवाद गरिएका युरोप र अमेरिकाका साहित्यमा मात्र नभई आफ्नै वरिपरिको समाज, परम्परा र दैनिक जीवनमा साक्षात्कार भइरहेका विषयलाई इतिहासका घटनासँग जोडेर पुनर्लेखन गर्नुपर्ने बताए।

‘हामी हाम्रो हिमाल देखेर जति खुसी हुन सक्छौँ, अरू देखेर त्यति नै गौरव प्राप्त गर्न सक्दैनौँ,’ उनले भने। यो उदाहरण साहित्यमा पनि लागू भइरहेको उनको भनाइ थियो।

उनले आफूले पढेको साहित्यले हृदयलाई छुने, आँखा र मनले प्रतिक्रिया व्यक्त गर्ने बताए। घर, परिवार र संस्कृतिसँग जोडिएका विषयले पाठकलाई बढी छुने उनले बताए। लेखनको धार परिवर्तन हुन सक्छ भन्ने उदाहरण ‘शिखण्डी’ उपन्यास भएको उनको भनाइ थियो।

रामायण र महाभारतका पात्रहरूलाई नयाँ दृष्टिकोणबाट प्रस्तुत गरिएको साहित्य नेपाली उपन्यासको बजारमा लोकप्रिय बन्न सक्ने उनले बताए।

लेखिका अनुपम जोशीले महाभारत आफैँमा विशाल कथा भएको बताइन्। महाभारतभित्र धेरै पात्रका धेरै जन्म र जीवनका कथा रहेको उनको भनाइ थियो।

उनले शिखण्डीको कथालाई शरीर र समाजबीचको सम्बन्धका रूपमा व्याख्या गरिन्। पितृसत्तात्मक समाजले शिखण्डीको जीवनमा गरेको हस्तक्षेपलाई उनले महत्त्वपूर्ण पक्षका रूपमा प्रस्तुत गरिन्। शिखण्डीले अपमानित अस्तित्व भोग्नुपरेको उनको भनाइ थियो।

त्यो समय परिवारलाई छोरा चाहिएको हुन्छ। तर जन्मिन्छिन् छोरी। त्यसैले प्रश्न उठ्छ-जन्मले मानिसलाई स्त्री वा पुरुष बनाउँछ कि हामी बाँचेको समाजले?

शिखण्डीको आफ्नै अनुभूति कहाँ थियो भन्ने प्रश्नसमेत उनले उठाइन्। बाल्यकालमै शिखण्डीको विवाह स्त्रीसँग गरिन्छ। समाजले दिएको पुरुषको भूमिका निर्वाह गर्नुपर्ने अवस्था आउँछ। सुहागरात टार्न उनी त्यहाँबाट भाग्छिन्।

त्यहीँबाट उनको जीवनमा अर्को मोड आउँछ। स्थूण यक्षको उपस्थितिले शिखण्डिनीलाई आफ्नो पुरुषत्व दिने सहमति जनाउँछ। त्यसपछि शिखण्डी नयाँ शरीरसहित फर्किन्छिन्।

उपन्यासमा शिखण्डीको ससुराली फर्किएपछि भएको सुहागरातको प्रसङ्गसमेत प्रस्तुत गरिएको छ। छ महिनाको वाचा पूरा भएपछि यक्षकुमारले भोगेको पीडालाई समेत उपन्यासमा प्रस्तुत गरिएको अनुपमले बताइन्।

लैङ्गिक पहिचान र शरीर परिवर्तनबारे आज बहस भइरहेका विषयलाई महाभारतको शिखण्डी कथासँग जोडेर हेर्न सकिने उनले बताइन्। महाभारतको प्रसङ्गलाई केवल पौराणिक घटनाका रूपमा मात्र हेर्न नहुने उनले बताइन्। विवाहले मानिसलाई सामाजिक दायित्वमा बाँध्ने गरेको उल्लेख गर्दै उनले शिखण्डी छोरीको मात्र कथा नभएको बताइन्।

उनका अनुसार यो शरीरमाथिको अधिकारको कथा पनि हो। सत्ता राजसिंहासनमा मात्र हुँदैन। परिवारमा पनि हुन्छ। विवाहमा पनि हुन्छ। समाजमा पनि हुन्छ।पीडा शरीरसँगै मर्छ कि चेतनासँगै अगाडि बढ्छ भन्ने प्रश्न शिखण्डीको कथाले उठाउने उनले बताइन्।

उनले लैङ्गिक पहिचानको दृष्टिकोणबाट ‘शिखण्डी’लाई महाभारतको मनोवैज्ञानिक पुनर्पाठका रूपमा लिएको बताइन्। उनका अनुसार कुरुक्षेत्रको युद्ध बाहिर मात्र थिएन। आफ्नै मनभित्र पनि भइरहेको थियो। मानिस भएर बाँच्ने अधिकार कसमा छ भन्ने प्रश्नसमेत शिखण्डीको कथाले उठाउने उनले बताइन्।

साहित्यकार भुवनहरी सिग्देलले ‘शिखण्डी’ उपन्यासको पाण्डुलिपि पढेपछि आफूले महाभारत पढिसकेको भए पनि शिखण्डीको कथालाई नयाँ शैलीमा प्रस्तुत गरिएको बताए।

उनका अनुसार सबैलाई शिखण्डीको कथा थाहा छ। तर उपन्यासको आकर्षण यसको शैलीमा छ। ‘अचम्मको ठाउँबाट कथा सुरु भएको छ,’ उनले भने, ‘महाभारतभित्रको कथा यसमा छ। यसमा छैन, संसारमा छैन। संसारमा भएका कुरा यो किताबमा छन्।’

उनले महाभारत आफैँमा चुनौतीपूर्ण ग्रन्थ भएको बताए। पश्चिमाहरूले समेत यसको नक्कल गर्ने प्रयास गरे पनि त्यसको विशालता र गहिराइलाई नक्कल गर्न नसकेको उनको भनाइ थियो।

ऋषिमुनिहरूको ज्ञान अहिलेको कम्प्युटरभन्दा तीव्र रहेको टिप्पणी गर्दै उनले त्यही कारण महाभारतजस्तो विशाल आख्यान सम्भव भएको बताए।

सिग्देलले आफूलाई पनि शिखण्डी पात्रमाथि लेख्न मन लागेको बताए। तर सुशील रिजालले आफूभन्दा अगाडि नै त्यसलाई उपन्यासमा ल्याएको उनले बताए।

‘जसले पढ्नुहुन्न, चुकचुकाउनुहुन्छ,’ उनले भने।

महाभारतभित्र अनगिन्ती पात्र रहेको उल्लेख गर्दै उनले अझै धेरै पात्रमाथि लेख्न बाँकी रहेको बताए। उनले लेखकलाई नफुर्किन र नटुप्पिन सुझावसमेत दिए।

‘साहित्यले खाओस्,’ उनले भने।

उपन्यासका लेखक सुशील रिजालले आफूले शिखण्डी पात्र रोज्नुको कारण बताए। कोभिड महामारीअघि आफूले लेख्ने नगरेको उनले बताए। कोभिडपछि भने कविता गुनगुनाउन थालेको उनको भनाइ थियो।

समाजशास्त्रको विद्यार्थी भएकाले अनुसन्धान गर्नुपर्ने अवस्था रहेको उनले बताए। त्यस क्रममा महाभारत र रामायण पढिरहेको उनले बताए। महाभारत पढे। त्यसका विभिन्न प्रसङ्ग हेरे। तर के गर्ने र कता जाने भन्ने अन्योलमै थिए। त्यही क्रममा शिखण्डी पात्र भेटिएको उनले बताए।

शिखण्डीको सङ्घर्षले आफूलाई छोएको रिजालले बताए। महिलाको पीडा त्यतिबेलाको समाजमा पनि रहेको उनले महसुस गरेको बताए। महाभारतमा शिखण्डीको जन्म र पहिचानसँग जोडिएको कथा नै आफूलाई लेखनतर्फ तान्ने मुख्य कारण भएको उनको भनाइ थियो।

रिजालका अनुसार छोरा र छोरीको पहिचानलाई समाजले आफ्नै अपेक्षाअनुसार निर्धारण गर्न खोज्ने प्रवृत्तिले उनलाई सोच्न बाध्य बनायो। ‘छोरा जन्मेको छ भने छोरी हुनुपर्छ, छोरी जन्मेको छ भने छोरा हुनुपर्छ भन्दा कस्तो होला?’ उनले प्रश्न गरे।

उनलाई यो ठूलो सङ्घर्षजस्तो लागेको थियो। लेखनमा आशीर्वाद र श्रापसमेत जोडिएको उल्लेख गर्दै उनले अब लेखन कार्यमा लाग्ने प्रण गरेको बताए।

शिखा बुक्सले आफ्नो कृति प्रकाशन गरिदिएर आफूलाई ऋणी बनाएको उनले बताए। आफू कविता र गजल लेख्ने र आमालाई सुनाउने गरेको उनले बताए।

संविधानसभा सदस्य एवं लैङ्गिक तथा यौनिक अल्पसंख्यक अभियन्ता सुनिलबाबु पन्तले आफूलाई प्रमुख अतिथिको स्थान दिएकोमा लेखक रिजाललाई धन्यवाद दिए।

नेपाली साहित्यमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई केन्द्रमा राखेर ‘शिखण्डी’ जस्तो कृति लेखिनु महत्त्वपूर्ण भएको उनले बताए। ‘जो पायो त्यहीले हिम्मत गर्दैन,’ पन्तले भने, ‘समुदायको तर्फबाट आभारी छौँ।’

पन्तले लैङ्गिकताको विषयलाई पश्चिमी अवधारणाबाट मात्र बुझ्न नहुने बताए। नेपाल र पूर्वीय सभ्यताको आफ्नै ऐतिहासिक, सांस्कृतिक र धार्मिक पृष्ठभूमि रहेको उनको भनाइ थियो।

उनका अनुसार नेपालमा लैङ्गिक विविधताको चर्चा आधुनिक पश्चिमी अवधारणाभन्दा धेरै पुरानो सांस्कृतिक र धार्मिक आख्यानमा भेटिन्छ। पन्तले पश्चिमी धार्मिक दर्शन र पूर्वीय दर्शनबीच लैङ्गिक विविधताबारे फरक दृष्टिकोण रहेको बताए।

पश्चिमी धार्मिक आख्यानमा ईश्वरले आदम बनाएपछि आदमका लागि साथी आवश्यक भएकाले महिलाको सिर्जना गरिएको कथा आउने उनले बताए। तर पूर्वीय दर्शनमा पुरुष र महिलामा मात्र संसारलाई सीमित नगरेका अनेकौँ आख्यान रहेको उनको भनाइ थियो।

उनले तृतीय प्रकृति वा लैङ्गिक विविधताका पात्र र अवधारणा पूर्वीय शास्त्रीय परम्परामा भेटिने बताए। ‘उतैको शिखण्डीलाई ट्रान्सजेन्डर भन्न थाल्यौँ भने बुझेनौँ भन्ने लाग्छ,’ उनले भने।

उनका अनुसार शिखण्डीलाई आजको ‘ट्रान्सजेन्डर’ शब्दले मात्र परिभाषित गर्दा उनको पौराणिक, सांस्कृतिक र दार्शनिक सन्दर्भ साँघुरिन सक्छ। शिखण्डीको कथालाई पूर्वीय दर्शन र त्यहाँ रहेको विविधताको पृष्ठभूमिबाट हेर्नुपर्ने उनले बताए।

उनले नेपालमा पुरुष र महिला मात्रै भनेर लैङ्गिक पहिचानलाई सीमित गर्ने परम्परा नरहेको दाबी गरे। उनका अनुसार शिखण्डीको कथा आजको आधुनिक चिकित्सकीय लैङ्गिक रूपान्तरणको उदाहरणका रूपमा बुझ्नु उचित हुँदैन।

महाभारतमा शिखण्डीको लैङ्गिक रूपान्तरण अलौकिक शक्तिसँग जोडिएको छ। आधुनिक समयमा हुने शल्यक्रिया, हर्मोन सेवन वा चिकित्सकीय प्रक्रियासँग त्यसलाई तुलना गर्न नमिल्ने उनले स्पष्ट पारे।

पन्तले नेपालको लैङ्गिक विविधतालाई पश्चिमी चिकित्सकीय अभ्याससँग मात्र जोडेर हेर्न नहुने धारणा राखे। उनका अनुसार लैङ्गिक पहिचानको स्वीकार्यता र सामाजिक सम्मानका लागि हर्मोन सेवन वा शल्यक्रिया नै अनिवार्य आधार होइन। व्यक्तिको पहिचानलाई शरीरमा गरिने चिकित्सकीय परिवर्तनसँग मात्र जोड्नु उचित हुँदैन।

उनले नेपालमा लैङ्गिक विविधताको ऐतिहासिक उपस्थिति धार्मिक तथा सांस्कृतिक परम्परामा समेत देखिने बताए। गणेशको जन्म र पालनपोषणसँग जोडिएका विभिन्न धार्मिक आख्यानलाई उनले त्यसको उदाहरणका रूपमा प्रस्तुत गरे।

अजिमाका मन्दिरमा तेस्रोलिंगी समुदायको उपस्थितिको सांस्कृतिक परम्परासमेत रहेको उनले बताए। उनले शिखण्डीलाई गालीको रूपमा प्रयोग गर्ने प्रवृत्तिको विरोध गरे। ‘शिखण्डीलाई गालीको रूपमा नल्याउनुहोस्,’ उनले आग्रह गरे।

महाभारतको युद्धमा शिखण्डीको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको उनले बताए। भीष्मले शिखण्डीमाथि हतियार नउठाउने अडान लिएपछि अर्जुनले शिखण्डीलाई अगाडि राखेर भीष्ममाथि बाण चलाएको प्रसङ्ग उनले स्मरण गरे। महाभारतको युद्धमा पाण्डवहरूको विजयका लागि शिखण्डी निर्णायक पात्र बनेको उनको भनाइ थियो।

पन्तले आज पनि नेपालमा मारुनी, सिंगारु, नटुवा र रत्यौलीजस्ता सांस्कृतिक परम्परामा लैङ्गिक भूमिका र प्रस्तुतिको विविधता देखिने बताए। तर कतिपय अवस्थामा शिखण्डीलाई नकारात्मक वा अपमानजनक पात्रका रूपमा प्रयोग गर्ने गरिएको उनले बताए। त्यस्तो प्रयोग रोक्नुपर्ने उनको आग्रह थियो।

‘शिखण्डीलाई गाली गरेर आशीर्वाद पाइँदैन,’ उनले भने।

उनले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई गाली, बेइज्जती र अपमान नगर्न आग्रह गरे। उनका अनुसार यो पश्चिमबाट आएको नयाँ एजेन्डा होइन। लैङ्गिक विविधताको बहस महाभारतजस्ता प्राचीन पूर्वीय आख्यानमा समेत विभिन्न रूपमा उपस्थित छ।

त्यसैले नेपालमा लैङ्गिक तथा यौनिक अल्पसंख्यकको पहिचानलाई केवल पश्चिमी प्रभावका रूपमा बुझ्नु इतिहास र आफ्नै सांस्कृतिक पृष्ठभूमिलाई बेवास्ता गर्नु हुने उनको भनाइ थियो।

महाभारतमा शिखण्डीलाई युद्धमा सहभागी हुन दिइएको भए पनि भीष्मले उनको पहिचानलाई स्वीकार नगरेको प्रसङ्ग स्मरण गर्दै उनले आजको समाजमा पनि पहिचानलाई अस्वीकार गर्ने प्रवृत्ति रहेको बताए। ‘आज पनि पीडा उस्तै छ,’ उनले भने, ‘त्यसलाई बुझिदिनुहोस्।’

उनले समुदायलाई सम्मान गर्न नसके पनि अपमान नगर्न आग्रह गरे। ‘सम्मान गर्नुपर्छ भन्ने छैन। अपमान नगरिदिनुहोस्। गाली, बेइज्जती नगर्नुहोस्।’

‘शिखण्डी’ उपन्यासले धार्मिक तथा पौराणिक आख्यानमा रहेको पात्रलाई समकालीन लैङ्गिक बहससँग जोडेको उनले बताए। यस्ता कृति फेरि पनि पढ्न पाइयोस् भन्ने शुभकामना दिँदै उनले शिखण्डीको कथा र त्यससँग जोडिएको लैङ्गिक विविधताको ऐतिहासिकतालाई सम्मानपूर्वक बुझ्न आग्रह गरे।

पन्तले नेपालमा लैङ्गिक पहिचानको बहसलाई बाह्य प्रभावबाट आएको नयाँ विषयका रूपमा मात्र हेर्न नहुने बताए। नेपालको आफ्नै धार्मिक, सांस्कृतिक र ऐतिहासिक परम्पराभित्र विविध लैङ्गिक पहिचान र सामाजिक भूमिकाका प्रसङ्ग रहेको उनको भनाइ थियो।

त्यसैले नेपालमा लैङ्गिक विविधताको स्वीकार्यता बढाउन पश्चिमी समाजमा विकसित भएका हर्मोन उपचार वा शल्यक्रियालाई अनिवार्य बाटोका रूपमा ग्रहण गर्नुपर्ने निष्कर्ष निकाल्न नहुने उनले बताए। व्यक्तिको पहिचान, आत्मअनुभूति र सम्मानलाई केन्द्रमा राखेर समाजले विविधतालाई स्वीकार गर्नुपर्ने उनको भनाइ थियो।

शिखण्डीको कथा यसै सन्दर्भमा नेपालको आफ्नै सांस्कृतिक र ऐतिहासिक पृष्ठभूमिबाट लैङ्गिक विविधतालाई बुझ्ने एउटा महत्त्वपूर्ण आधार बन्न सक्ने वक्ताहरूले बताए।

महाभारतमा शिखण्डीको कथा आफैँमा विशिष्ट छ। शिखण्डी पाञ्चालका राजा द्रुपदकी सन्तान शिखण्डिनीका रूपमा जन्मिएको वर्णन पाइन्छ। उनी पूर्वजन्ममा काशीकी राजकुमारी अम्बा रहेको कथासमेत महाभारतमा आउँछ। भीष्मसँग जोडिएको अपमान र प्रतिशोधको प्रसङ्गपछि अम्बा पुनर्जन्म लिएर शिखण्डी बनेको कथा छ।

शिखण्डिनीलाई द्रुपदले छोराका रूपमा हुर्काएको वर्णन पाइन्छ। उनको विवाह दशार्णकी राजकुमारीसँग गराइन्छ। विवाहपछि उनको जन्मसम्बन्धी रहस्य खुलेपछि विवाद उत्पन्न हुन्छ। त्यसपछि शिखण्डी वनमा पुग्छिन्। त्यहाँ स्थूण नामका यक्षसँग उनको भेट हुन्छ।

महाभारतको कथाअनुसार यक्षले आफ्नो पुरुषत्व शिखण्डिनीलाई दिने र उनको स्त्रीत्व आफूले ग्रहण गर्ने सहमति जनाउँछन्। यसरी शिखण्डी पुरुषरूप प्राप्त गरी शिखण्डी बन्छिन्। पछि यक्ष कुबेरको श्रापका कारण सो रूपमै रहन बाध्य हुन्छन्।

महाभारतमा शिखण्डीको कथा केवल युद्ध र प्रतिशोधको कथा मात्र होइन। यसमा जन्म, शरीर, लैङ्गिक भूमिका, सामाजिक अपेक्षा र व्यक्तिको अस्तित्वसँग जोडिएका प्रश्नसमेत देखिन्छन्। यही कारण शिखण्डीको कथालाई आधुनिक समयमा लैङ्गिक पहिचान, शरीर र सामाजिक संरचनासँग जोडेर पुनर्पाठ गर्ने गरिएको छ।

तर महाभारतको शिखण्डीको रूपान्तरणलाई आजको चिकित्सकीय लैङ्गिक रूपान्तरणसँग सिधै समान मान्न भने मिल्दैन। महाभारतमा शिखण्डीको रूपान्तरण अलौकिक तथा पौराणिक घटनाका रूपमा प्रस्तुत गरिएको छ। यो आधुनिक चिकित्सा, हर्मोन उपचार वा शल्यक्रियाबाट भएको रूपान्तरणका रूपमा वर्णित छैन।

कुरुक्षेत्र युद्धमा शिखण्डी पाण्डव पक्षबाट लडेका थिए। भीष्मले शिखण्डीलाई पूर्वजन्मकी अम्बासँग जोडेर महिला वा पूर्वमहिला पात्रका रूपमा हेरेका कारण उनीमाथि हतियार नउठाउने अडान लिएका थिए। यही अवस्थाको फाइदा उठाउँदै अर्जुनले शिखण्डीलाई अगाडि राखेर भीष्ममाथि बाण प्रहार गरेका थिए। यस घटनाले भीष्मको पतनमा शिखण्डीलाई निर्णायक पात्र बनाएको थियो।

यस अर्थमा शिखण्डी महाभारतको युद्धमा केवल सहायक पात्र होइनन्। भीष्मको पतनमा उनको भूमिका निर्णायक देखिन्छ। त्यसैले शिखण्डीको पहिचानलाई अपमानजनक अर्थमा प्रयोग गर्नु महाभारतकै कथामा रहेको उनको ऐतिहासिक भूमिकालाई अन्यायपूर्ण ढङ्गले कमजोर बनाउनु भएको वक्ताहरूको भनाइ थियो।

समाचार शेयर गर्नुहोस्
93
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.