रुपन्देही – गौतम बुद्ध माध्यमिक विद्यालय, केउलानीको शिक्षक–अभिभावक सङ्घको सदस्य पदमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक (जिएसएम) समुदायका विनोद बिसी निर्वाचित भएका छन्।
विद्यालयको शिक्षक–अभिभावक सङ्घमा पहिलो पटक लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व गर्दै बिसी सदस्य पदमा निर्वाचित भएका हुन्। उनको निर्वाचनलाई विद्यालयमा समावेशी प्रतिनिधित्व र विविध समुदायको सहभागिताका दृष्टिले महत्त्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।
बिसी सिर्जनशील संस्था नेपालका कार्यसमिति सदस्य हुनुका साथै संस्थाअन्तर्गत सञ्चालित बाल आश्रममा स्वयंसेवकका रूपमा सक्रिय छन्। उनले लामो समयदेखि बेवारिसे तथा सडक बालबालिकाको संरक्षण, हेरचाह, शिक्षा तथा अधिकारका क्षेत्रमा अभिभावकीय भूमिकामा रहेर काम गर्दै आएका छन्।
बिसीलाई यस स्थानसम्म पुग्नका लागि सिर्जनशील संस्था नेपालका संस्थापक अध्यक्ष, सम्पूर्ण कर्मचारी तथा कार्यसमिति सदस्यहरूको निरन्तर सहयोग, हौसला र मार्गदर्शन महत्त्वपूर्ण रहेको संस्थाले जनाएको छ। संस्थाले बिसीको सामाजिक क्षेत्रमा सक्रियता, नेतृत्व क्षमता र समुदायप्रतिको योगदानलाई प्रोत्साहन गर्दै आएको छ।

बिसीले आफ्नो नयाँ जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्दै विद्यालय, अभिभावक, विद्यार्थी तथा समुदायबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले बालबालिकाको शिक्षा, संरक्षण, अधिकार र समावेशी वातावरण निर्माणमा आफ्नो भूमिकालाई केन्द्रित गर्ने बताएका छन्।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व गर्दै विद्यालयको शिक्षक–अभिभावक सङ्घमा बिसीको सहभागिताले समानता, समावेशिता र विविधताको सम्मानलाई संस्थागत गर्न थप योगदान पुग्ने अपेक्षा गरिएको छ।
सिर्जनशील संस्था नेपालका संस्थापक अध्यक्ष, कर्मचारी तथा कार्यसमितिले बिसीलाई बधाई दिँदै उनको कार्यकाल सफल, उपलब्धिमूलक तथा फलदायी रहोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.