काठमाडौँ – २०८० साल वैशाखमा विश्व बैङ्कको सहयोग तथा नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा मायाको पहिचान नेपालले पहिलोपटक रेन्बो इन्टरनेशनल टुरिजम कन्फ्रेन्स आयोजना गरेको थियो। कन्फ्रेन्समा सोझै र सिधा रूपमा जोडिन आफैँ आएका थिए पराक्रम एसजेवी राणा।
‘डबल इनकम नो किड्स’ कन्फ्रेन्सको नारा थियो। राणा स्टार प्रमोटर बने। स्टार प्रमोटर बनेको सार्वजनिक भएसँगै पराक्रमलाई ब्लु डायमन्ड सोसाइटी र मितिनी नेपालले उचाले। उनी उचालिएर नेपालको इतिहासमा पहिलोपटक पुरुष र महिला भन्दा भिन्न पहिचान भएका व्यक्ति हुन्छन् र उनीहरूलाई पहिचानसहित अधिकार दिनुपर्छ भनेर वकालत गरेका एसियाकै पहिलो समलिङ्गी सभासद् सुनिल बाबु पन्तलाई ‘ट्रान्सफोविक’ भनेर लिखित आरोप लगाए।
पहिलो संविधान सभा सदस्य, संविधानमा अधिकार लेख्ने, पन्तको निरन्तरको वकालतकै कारण लुम्बिनी प्रदेश लोक सेवा आयोगले आरक्षणको व्यवस्था गरेको तथा दक्षिण एसियामै पहिलो समलिङ्गी विवाह दर्ता गर्न सफल ज्ञान र अनुभवका आधार पन्तमाथि पराक्रमले ट्रान्सफोविक आरोप लगाए।
नेपालमा पुरुष र महिला भन्दा भिन्न पहिचान भएका व्यक्तिको अधिकार स्थापित गर्न तीन दशकभन्दा बढी समयदेखि सङ्घर्ष गर्दै आएका पन्तमाथि राणाले सार्वजनिक रूपमा लिखित रूपमा आरोप लगाएपछि विवाद अदालतसम्म पुगेको थियो। पन्तको प्रतिष्ठामा आघात पुर्याएको र बेइज्जती गरेको दाबी गर्दै राणाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा गाली बेइज्जती मुद्दा दायर भएको थियो।
पराक्रम राणाविरुद्ध दायर भएको मुद्दामा राणाले मुलुकी अपराध संहिता, २०७४ को दफा ३०५, ३०६(क) र ३०७ बमोजिम कसुर गरेको दाबी गरिएको थियो। दफा ३०७ मा बेइज्जती गरेमा दुई वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।
राणाले यौन अभिमुखीकरणतर्फको झुकावलाई लिएर लिखित रूपमा सामाजिक सञ्जालको प्रयोग गरी सार्वजनिकीकरण तथा प्रवाहीकरण गरेको दाबी निवेदकले गरेका थिए। मुलुकी अपराध संहिताको दफा ३०८ को हदम्यादभित्र कानुनबमोजिम गाली बेइज्जतीमा सजाय गरी क्षतिपूर्तिसमेत दिलाउन माग गरिएको थियो।
यो पनि : इन्द्रेणी पर्यटनको विश्व बजार २ खर्ब ११ अर्ब डलर
छिमेकी मुलुक भारतमा अध्ययन गरेका राणा नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका हकअधिकार तथा सुरक्षित र सुनिश्चित वातावरण निर्माण हुन थालेपछि नेपाल आएका हुन्। भारतको मुम्बईमा अध्ययन गरेर नेपाल फर्किएका पराक्रम एसजेवी राणा सामाजिक सञ्जाल इन्फ्लुएन्सरका रूपमा चिनिएका छन्।
कोभिडपछि नेपाल फर्किएका उनले आफूलाई समलिङ्गी पुरुषको पहिचानमा सञ्चारमाध्यमहरूमा अन्तर्वार्तासमेत दिँदै आएका छन्।
राणाले २०८० चैत २८ गते सामाजिक सञ्जाल इन्स्टाग्राममा लाञ्छनायुक्त, बेइज्जतयुक्त ‘ट्रान्सफोविक’ भन्ने शब्द लेखेर आफ्नो अनविज्ञता सार्वजनिक गरेका थिए। अपमानजनक, आपत्तिजनक, यौन अभिमुखीकरणप्रतिको झुकावलाई धज्जी उडाउने लाञ्छना, निन्दित तथा घृणित शब्द प्रयोग गरी राणाले सार्वजनिक रूपमा लिखित बेइज्जती गरेको दाबी निवेदकले गरेका थिए।
उनले वाक् स्वतन्त्रतासम्बन्धी संवैधानिक तथा अन्तर्राष्ट्रिय कानुनहरूको मर्मविपरीत अपहेलना र द्वेष फैलाउने गरी अभिव्यक्ति सार्वजनिक गरेको दाबीसमेत निवेदनमा गरिएको थियो। यस किसिमको अभिव्यक्तिलाई कानुनी मर्यादाभित्र ल्याई हदैसम्मको कारबाही गर्न निवेदकले माग गरेका थिए।
अन्ततः माफी मागेर टुङ्गियो विवाद
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासमा गत बिहीबार ‘ट्रान्सफोविक’ र ‘सिसेड’ शब्दमाथि बहस भएको थियो। पन्त र राणाका कानुन व्यवसायीले पक्ष–विपक्षमा बहस गरेका थिए।
यो बहस पहिलोपटक भएको भने थिएन। अदालतले यसअघि पाँचपटक मिलापत्रका लागि पठाएको थियो। मिलापत्र गर्ने भनिए पनि सहमति हुन नसकिरहेको अवस्थामा अन्ततः विवाद टुङ्ग्याउन न्यायाधीश खड्काले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
राणाका कानुन व्यवसायीले पन्तको नाम उल्लेख नभएको र २४ घण्टे स्टोरी मात्र भएको जिकिर गरेका थिए। ‘ट्रान्सफोविक भनेर उहाँलाई इङ्गित गरिएको होइन, टार्गेट गरेको छैन,’ उनका कानुन व्यवसायीले बहसका क्रममा भनेका थिए।
ट्रान्सजेन्डर र थर्डजेन्डर फरक भएको तर्कसमेत राणाका कानुन व्यवसायीले गरेका थिए। उक्त तर्कमा छेउटुप्पो नमिलेको भन्दै लैङ्गिक पहिचानका अभियन्तासमेत रहेका पन्तले इजलासमा धारणा राखेका थिए।
‘पश्चिमा देशहरूमा ट्रान्सजेन्डर भने पनि नेपालमा एउटै हो, तेस्रोलिंगी। यो अंग्रेजी शब्द ल्याएर भ्रम छर्ने काम किन गर्ने? गाली किन गर्ने? पुरुष र महिला भन्दा अलग पहिचान मागेको हो,’ पन्तले इजलासमा भनेका थिए।
राणाले ब्लु डायमन्ड र मितिनी नेपाल पिंक टुरिजममा नआएकाले विथड्र गरेको बताएका थिए। त्यस क्रममा न्यायाधीश खड्काले राणालाई, ‘होच्याउने तरिकाले लेख्नु किन पर्यो, जे पायो त्यही बोल्नु हुन्छ? विचार गर्नुपर्यो नि,’ भनेका थिए।
पराक्रम राणाले कार्यक्रममा आएर पन्तलाई विश्वास दिलाएका थिए। तर केही दिनमै विश्वासघात गरेको पन्तको दाबी थियो। लिङ्ग भएको व्यक्तिलाई महिला मान्नेहरूको लहैलहैमा लागेर पन्तलाई लिखित गाली गरेका राणाले जसका लागि बोले र जसको पक्षपोषण गरे, उनीहरूबाट भने अदालतमा साथ पाएनन्।
राणाको पक्षमा उचाल्ने तथा समर्थन गर्नेहरूबाट मुद्दाको क्रममा अपेक्षित साथसमेत देखिएन। उनीहरूले साक्षी बकपत्रसमेत गराइदिएनन्। अन्ततः सजाय सुनाउने दिन आउन लाग्दा, झन्डै साढे दुई वर्षपछि पराक्रमले आफूले गाली गरेको शब्द फिर्ता लिन र पन्तसँग अब झैझगडा नगर्ने लिखित बाचा गर्न सहमति जनाए।
२४ घण्टाभित्र सामाजिक सञ्जालमा जुन प्लेटफर्मबाट गाली गरेको हो, त्यही प्लेटफर्ममा माफी माग्ने सहमतिसमेत राणाले जनाए। उनले लिखित कागजमा हस्ताक्षर गरे।
इन्स्टाग्रामबाट माफी

मिलापत्र गरे पछि पराक्रमले इन्स्टाग्राममा लेख्दै सुनिल बाबु पन्तसँगको अदालतको मुद्दा औपचारिक रूपमा टुङ्ग्याएको र समुदायको हितमा अघि बढ्न सहमत भएको बताएका छन्।
‘सुनिल बाबु पन्त र मैले अदालतको मुद्दालाई औपचारिक रूपमा टुङ्ग्याएका छौँ र समुदायको हितमा अघि बढ्न सहमत भएका छौँ,’ उनले लेखेका छन्।
‘मुख्य विषयहरूमा हाम्रा दृष्टिकोणहरू फरक भए तापनि, यो मुद्दालाई टुङ्ग्याउनु बृहत्तर समुदायको हितमा छ। ‘ट्रान्सफोबिक’ शब्दको प्रयोगलाई लिएर भएको सार्वजनिक बहसले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई कुनै प्रकारको हानि वा पीडा पुर्याएको भए म त्यसप्रति गहिरो खेद व्यक्त गर्दछु,’ राणाले लेखेका छन्।
उनले समुदायमा कम प्रतिनिधित्व भएका दृष्टिकोणहरूलाई उजागर गर्नु नै आफ्नो एकमात्र उद्देश्य रहँदै आएको र सधैँ रहने बताएका छन्। ‘कसैलाई हानि पुर्याउनु मेरो उद्देश्य होइन,’ उनले इन्स्टाग्राममा लेखेका छन्।
नेपालमा समलिङ्गी, तेस्रोलिंगी लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरूको पहिचान स्थापित गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका पन्तलाई नै विरोधीको आरोप लगाएका राणा अन्ततः आफूले प्रयोग गरेको गालीको शब्द फिर्ता लिन सहमत भए।
पन्तमाथि पटकपटक लगाइएको आरोप र विवाद अदालतसम्म पुगेपछि आफ्नै समुदायको विषयमा मिलेर अघि बढ्नु राम्रो हुने भन्दै इजलासले पटकपटक मिलापत्रका लागि पठाएको थियो। अन्ततः राणाले लिखित रूपमा माफी माग्दै पन्तसँग मिलापत्र गरेका छन्।
नेपालमा पुरुष र महिला भन्दा भिन्न पहिचान भएका व्यक्तिको अधिकारका लागि तीन दशक भन्दा लामो समयदेखि अभियान चलाउँदै आएका पन्तमाथि ‘ट्रान्सफोविक’ आरोप लगाएर सुरु भएको विवाद अन्ततः राणाले आफ्नो अभिव्यक्तिबाट समुदायलाई पुगेको पीडाप्रति खेद व्यक्त गर्दै, अब झैझगडा नगर्ने लिखित प्रतिबद्धता जनाए। र सामाजिक सञ्जालमै माफी मागेर टुङ्ग्याएका छन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.