"/>
ललितपुर – देशका विभिन्न ठाउँबाट आएका लैङ्गिक तथा यौनिक अल्पसंख्यक व्यक्तिहरूले ललितपुरको पाटन दरबार स्क्वायरमा इन्द्रेणी रोपाइँ जात्रा मनाएका छन्। विगतको तिरस्कार, भेदभाव र दुर्व्यवहार चिर्दै विविध पहिचान, समावेशिता र सहअस्तित्वको सन्देशसहित उनीहरूले काठमाडौँको टोखा–सिमलचौरबाट धानको बिउ ल्याएर रोपाइँ जात्रा मनाएका हुन्।
नेपाल सरकारले हरेक वर्ष असार १५ गते राष्ट्रिय धान दिवस मनाउँदै आएको छ। सोही अवसरमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक व्यक्तिहरूले इन्द्रेणी रोपाइँ जात्रा मनाउन थालेको यो तेस्रो वर्ष हो।
असार १५ कै दिन २०८१ सालदेखि सुरु गरिएको यो जात्रालाई संस्थागत रूपमा मायाको पहिचान नेपाल, समावेशी मञ्च नेपाल र लिड नेपालले संयुक्त रूपमा आयोजना गर्दै आएका छन्।
यस वर्ष डाकिनी हस्पिटालिटीसँगै एक्सन एड पनि कार्यक्रममा सहभागी भएको थियो। यी संस्थाले युरोपियन युनियनको आर्थिक सहयोगमा एक्सन एडमार्फत राजनीतिक साक्षरता कार्यक्रम सञ्चालन गरिरहेका छन्। ५० जना समुदायका व्यक्तिहरूलाई राजनीतिक नेता बनाउने बन्धनहरू तोड्ने अभियान चलाइरहेका छन्।
सुरुमा बुढानीलकण्ठ नगरपालिकाले खेतको हिलोमा संयुक्त रूपमा रोपाइँ गर्ने सहमति जनाएको थियो। ललितपुर महानगरपालिका र बुढानीलकण्ठ नगरपालिकाले स्थान उपलब्ध गराउनेदेखि संयुक्त रूपमा धान दिवस मनाउने विषयमा सहमति जनाएका थिए। अन्ततः यस वर्ष ललितपुर महानगरपालिकाले उपलब्ध गराएको स्थानमा इन्द्रेणी रोपाइँ जात्रा सम्पन्न भयो।
रोपाइँ जात्रामा विभिन्न भेसभुसामा सजिएका लैङ्गिक तथा यौनिक अल्पसंख्यक व्यक्तिहरूको उल्लेख्य सहभागिता थियो। असारे गीतको भाकामा बाजाको तालसँगै उनीहरू नाचे–गाए। कोही सारी–चोलोमा थिए भने कोही कोदाली बोकेर बाउसे गर्दै थिए। रोपारहरूले धानको बिउ रोपे भने बिउ उखेल्दा टाँसिएर आएको हिलो एकअर्कालाई टीकाका रूपमा लगाइदिए।

सहभागीहरूले सप्तरङ्गी ब्यानरमार्फत आफ्नो पहिचान सार्वजनिक गरे। कार्यक्रमस्थलमा दर्शकहरूको उल्लेख्य उपस्थिति थियो। अतिथिहरूलाई सञ्जीवनी लामा (सन्ध्या)ले निमन्त्रणा गरेकी थिइन् भने निम्तालुहरूको उपस्थिति क्रमशः बढ्दै गएको थियो।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र कृषि, वन तथा पर्यावरण मन्त्रीलाई निमन्त्रणा गरिएको भए पनि उनीहरू कार्यक्रममा सहभागी भएनन्।
आयोजकका अनुसार सुनिल बाबु पन्तले स्थापना गरेको निल हिरा समाज (ब्लु डायमन्ड सोसाइटी), लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरुको महासङ्घ नेपाल, मितीनी नेपाल, सांसद भूमिका श्रेष्ठलाई पनि निमन्त्रणा गरिएको थियो, तर उनीहरूले सहभागिता जनाएनन्। नगरसभा सञ्चालन भइरहेकाले जनप्रतिनिधिहरू पनि कार्यक्रममा उपस्थित हुन नसकेको आयोजकले जनाएको छ।
यद्यपि, आन्तरिक तथा बाह्य पर्यटकहरूको उल्लेख्य सहभागिता रह्यो। सहभागीहरूले रोपाइँ सम्पन्न गरेपछि दही–चिउरा तथा खाजा खाए र आ–आफ्नो वासस्थानतर्फ फर्किए।
आयोजकका अनुसार इन्द्रेणी रोपाइँ जात्रामार्फत नेपाल सबै लिङ्ग तथा लैङ्गिक पहिचान भएका व्यक्तिहरूलाई सम्मान, समान अवसर र सुरक्षा प्रदान गर्ने देश हो भन्ने सन्देश प्रवाह गरिएको छ। साथै, ‘अन्य’ पहिचानका नागरिकका लागि सरकारी आरक्षणको सुरुवात भएको, समलिङ्गी विवाहले कानुनी मान्यता पाएको तथा कुनै पनि नागरिकले आफ्नो लैङ्गिक पहिचानका कारण विभेद, दुर्व्यवहार वा हिंसा भोग्न नपरोस् भन्ने सन्देश समाजमा प्रवाह गर्न यो जात्रा सफल भएको आयोजकको दाबी छ।
आयोजकका अनुसार विगतमा तिरस्कार, बहिष्कार, विभेद र दुर्व्यवहार भोग्दै आएका लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदाय पनि नेपाली समाज, संस्कृति, कृषि परम्परा र सामुदायिक जीवनसँग समान रूपमा जोडिएको समुदाय हो भन्ने सन्देशसमेत इन्द्रेणी रोपाइँ जात्राले प्रवाह गरेको छ। विविध लैङ्गिक तथा यौनिक पहिचान भएका व्यक्तिहरूलाई नेपाली मौलिक संस्कृति, कृषि परम्परा र सामाजिक सहअस्तित्वसँग जोड्दै समान सम्मान र सहभागिताको भावना स्थापित गर्ने उद्देश्यले यो जात्रा महत्त्वपूर्ण बनेको आयोजकको भनाइ छ।
पूर्वदेखि पश्चिमसम्मका विभिन्न समुदायका सदस्यहरूको सहभागिताले इन्द्रेणी रोपाइँ जात्रालाई थप विविधतामय बनाएको थियो। दक्षिण एसियामै पहिलो समलिङ्गी विवाह कानुनी रूपमा दर्ता गराउन सफल मायाको पहिचान नेपालकी अध्यक्ष माया गुरुङ उत्साहित देखिइन्। “असार १५ खुसीको माहोल हो,” उनले भनिन्।
नेपालमा सन् २०१३ मा पहिलो पटक आयोजित ‘मिस्टर गे हेण्डसम’ प्रतियोगिताका उपाधि विजेता विश्वराज अधिकारीले इन्द्रेणी रोपाइँ जात्रा वर्षमा कम्तीमा एक दिन भए पनि माटोसँग खेल्ने नेपाली परम्परा र संस्कृतिसँग जोडिने अवसर भएको बताए। “यो संस्कृति र परम्परामा लैङ्गिक तथा यौनिक अल्पसंख्यक किन सहभागी नहुने?” उनले प्रश्न गरे।
उनका अनुसार मानिसले दैनिक उपभोग गर्ने अन्न कसरी उत्पादन हुन्छ, त्यसका लागि कति मेहनत गर्नुपर्छ र धान कसरी रोपिन्छ भन्ने विषयबारे सबैलाई सिकाउने उद्देश्य पनि यस कार्यक्रमको रहेको छ। “हामी खाना खान्छौँ, त्यो कसरी फल्छ? त्यसका लागि कस्तो मेहनत गर्नुपर्छ भन्ने कुरा सबैलाई बुझाउन र धान कसरी रोपिन्छ भन्ने सिकाउन पनि खोजेका हौँ,” उनले भने।

समावेशी मञ्च नेपालका कार्यकारी निर्देशक एवं नेपालमा पहिलो तेस्रोलिंगीको नागरिकता लिन सफल बद्री पुनले नेपाल कृषि प्रधान देश भएकाले असार १५ लाई विशेष रूपमा कृषि उन्मुख पर्वका रूपमा मनाइने बताए। “लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदाय पनि किसान परिवार र किसान पेसाबाटै आएको समुदाय हो। त्यसैले हामी पनि यो पर्वलाई उत्साहका साथ मनाउँछौँ,” उनले भने।
उनले जुन महिनालाई पश्चिमी मुलुकहरूमा ‘प्राइड मन्थ’का रूपमा मनाइने भए पनि नेपालमा आफ्नै संस्कार र संस्कृतिअनुसार असार १५ तथा दही–चिउरा खाने परम्परालाई प्राथमिकता दिँदै इन्द्रेणी रोपाइँ जात्रा आयोजना गरिएको बताए।
रोपाइँ जात्रामा सहभागी लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले पुस्तौंदेखि चलिआएका सांस्कृतिक परम्परालाई संरक्षण गर्नुपर्नेमा जोड दिए। “पहिलेदेखि चलिआएको चलनलाई नष्ट गर्नु हुँदैन,” उनीहरूले भने। उनीहरूका अनुसार लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदाय आफ्नै देशका सांस्कृतिक पर्वमा रमाउँदै आएको छ।
विदेशी संस्कृतिको अन्धानुकरण गर्दै स्वदेशी पहिचान लोप गराउने प्रवृत्तिबाट जोगिन उनीहरूले आग्रह गरे।
एसियाकै पहिलो समलिङ्गी सभासद् सुनिल बाबु पन्तले पनि आफ्नै सांस्कृतिक पहिचान संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याए। “हामी किन आफ्नै हजारौँ वर्ष पुराना परम्पराहरूलाई बिर्सिँदै छौँ?” उनले प्रश्न गरे।
उनले आधुनिक प्राइड आन्दोलनले पश्चिमी देशहरूमा महत्त्वपूर्ण भूमिका खेलेको स्वीकार गरे। सन् १९६९ को स्टोनवाल विद्रोहपछि त्यहाँका लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले समान अधिकारका लागि लामो सङ्घर्ष गरेको उनको भनाइ थियो।
सन् १९९९ र २००० मा अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले जुन महिनालाई औपचारिक रूपमा “गे तथा लेस्बियन प्राइड मन्थ” का रूपमा मान्यता दिएपछि प्राइड महिना विश्वका धेरै देशहरूमा फैलिएको र अन्तर्राष्ट्रिय एलजीबीटीआई आन्दोलनको महत्त्वपूर्ण प्रतीक बनेको उनले उल्लेख गरे।
तर नेपालको इतिहास स्टोनवालबाट सुरु नभएको पन्तले स्पष्ट पारे। “नेपालमा विविध लैङ्गिक पहिचान र अभिव्यक्तिको इतिहास प्राइड महिनाबाट सुरु भएको होइन,” उनले भने। “हामीसँग रोपाइँ जात्रा छ। हामीसँग गाईजात्रा छ। हामीसँग नटुवा संस्कृति छ। हामीसँग रतेउली परम्परा छ। हामीसँग अजिमा परम्परा छ। हामीसँग लाखे, ख्याः, क्वाँचाः, धामी–झाँक्री, मारुनी र अनेकौँ स्थानीय परम्पराहरू छन्। यी सबै हाम्रो आफ्नै मौलिक इतिहासका अभिन्न अङ्ग हुन्।”
पन्तले आफू अन्तर्राष्ट्रिय ऐक्यबद्धताको विरोधी नभएको पनि स्पष्ट पारे। “वास्तवमा नेपालको लैङ्गिक तथा यौनिक आन्दोलनले विश्वव्यापी मानवअधिकार आन्दोलनबाट धेरै सिकेको छ। हामीले विश्वसँग सहकार्य पनि गरेका छौँ,” उनले भने। “तर सहकार्यको अर्थ आत्मसमर्पण हुनु हुँदैन।”
सहयोग प्राप्त गर्नु भनेको सहयोग दिने पक्षको संस्कृति, पहिचान वा सामाजिक अभ्यासलाई अनिवार्य रूपमा अपनाउनुपर्ने अर्थ नहुने उनले बताए। “साँचो सहकार्य भनेको एकअर्काको भिन्नता र मौलिकताको सम्मान गर्दै समान उद्देश्यका लागि हातेमालो गर्नु हो, न कि एक संस्कृतिलाई अर्को संस्कृतिमा विलय गराउनु,” उनले भने।
पन्तले आफ्नै शब्द, इतिहास र सांस्कृतिक सम्पदा बिर्सिँदै गएकोमा चिन्ता व्यक्त गरे। “कहिलेकाहीँ त विदेशी शब्दावली र प्रतीकहरू अपनाउनुलाई मात्र प्रगतिशीलता ठान्न थालेका छौँ। हामीले विश्वसँग जोडिनुपर्छ, तर आफ्ना जराहरू काटेर होइन। हामीले नयाँ कुरा सिक्नुपर्छ, तर आफ्ना पुर्खाहरूको ज्ञानलाई तुच्छ ठानेर होइन,” उनले भने।
उनले विकास साझेदार तथा दाता संस्थाहरूलाई पनि स्थानीय इतिहास, संस्कृति, शब्दावली र उत्सवहरूको संरक्षणमा सहयोग गर्न आग्रह गरे। “यदि तपाईँहरू साँच्चै नेपालका लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई सहयोग गर्न चाहनुहुन्छ भने, हाम्रो स्थानीय इतिहास, स्थानीय संस्कृति, स्थानीय शब्दावली र स्थानीय उत्सवहरूलाई पनि समर्थन गर्नुहोस्। केवल बाहिरबाट आयात गरिएका अवधारणाहरूलाई मात्र होइन, रोपाइँ जात्रा, गाईजात्रा, नटुवा, सिंगारु, मारुनी संस्कृति, रतेउली परम्परा, अजिमा परम्परा, ख्याः र लाखेका कथाहरू तथा नेपालका विभिन्न आदिवासी समुदायहरूको विविधताको रैथाने ज्ञानलाई पनि संरक्षण गर्न मद्दत गर्नुहोस्,” उनले आग्रह गरे।
“हामीलाई अरू कसैको प्रतिलिपि बन्न आवश्यक छैन। हामी आफैँमा पर्याप्त छौँ। हाम्रो इतिहास पर्याप्त छ। हाम्रो संस्कृति पर्याप्त छ। हाम्रो विविधता पर्याप्त छ,” उनले भने।
उनले इन्द्रेणी रोपाइँ जात्रालाई केवल कृषि पर्वका रूपमा नभई समानता, आत्मविश्वास, सांस्कृतिक गौरव र विविधताको साझा अभियानका रूपमा अघि बढाउनुपर्ने धारणा राखे। “आज हामी धान रोप्दैछौं। आउनुहोस्, सँगसँगै आत्मविश्वास पनि रोपौँ। आफ्नो संस्कृतिप्रतिको गौरव र विविधताप्रतिको सम्मान पनि रोपौँ। र, भावी पुस्ताका लागि यस्तो नेपाल निर्माण गह्रौँ-जहाँ समान अधिकार र सांस्कृतिक गौरव सँगसँगै फुलुन् र फलुन्,” उनले आह्वान गरे।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.