काठमाडौँ – आकर्षक तलबको प्रलोभन देखाएर बेरोजगार युवाहरूलाई वैदेशिक रोजगारीका नाममा लाखौँ ठगी गर्ने दुई जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ। आयरल्यान्ड र युएई पठाइदिने भन्दै कुल ३९ लाख रुपैयाँ ठगी गरी फरार रहेका उनीहरूलाई प्रहरीले काठमाडौँका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा काभ्रेपलान्चोक जिल्ला, चौरी देउराली गाउँपालिका वडा नं. ५ स्थायी घर भई हाल काठमाडौँको बौद्ध बस्ने ३८ वर्षीय सरोज पन्त र रामेछाप जिल्ला, लिखु तामाकोसी गाउँपालिका वडा नं. २ घर भई हाल टोखा बस्ने २२ वर्षीय अनिल खत्री रहेका छन्।
अभियुक्त सरोज पन्तले एक जना पीडितलाई वैदेशिक रोजगारीका लागि आयरल्यान्ड पठाइदिने र त्यहाँ आकर्षक तलब हुने लोभ देखाई १६ लाख रुपैयाँ असुल गरेका थिए। रकम लिएपछि सम्पर्कविहीन भएका उनलाई प्रहरीले २०८१ असार १९ गते काठमाडौँ महानगरपालिका वडा नं. ८ बाट पक्राउ गरेको हो।
अर्का अभियुक्त अनिल खत्रीले ६ जना युवालाई युएई पठाइदिने भन्दै प्रतिव्यक्ति लाखौँका दरले कुल २३ लाख रुपैयाँ ठगी गरेका थिए। उनलाई प्रहरीले २०८१ असार १८ गते टोखा नगरपालिका वडा नं. ६ बाट पक्राउ गरेको हो।
लामो समयसम्म युवाहरूलाई झुक्क्याएर रकम लिएर सम्पर्कविहीन भएपछि पीडितहरूले दिएको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।
वैदेशिक रोजगारीको नाममा दिनानुदिन बढ्दै गएको यस्तो ठगी धन्दाप्रति सचेत रहन र आधिकारिक माध्यमबाट मात्र प्रक्रिया अगाडि बढाउन प्रहरीले आग्रह गरेको छ।
एकैदिन १९ विरुद्ध पक्राउ पुर्जी, २५ नयाँ मुद्दा दर्ता
वैदेशिक रोजगारीका नाममा सोझासाझा श्रमिकलाई ठग्ने र कानुन उल्लङ्घन गर्नेहरू माथि सरकारले आफ्नो निगरानी र कारबाहीलाई तीव्र बनाएको छ। वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको पछिल्लो विवरणले ठगीमा संलग्नहरूमाथि सरकार कडा रूपमा प्रस्तुत भएको छ।
विभागको मुद्दा तथा अनुसन्धान शाखाले मिति २०८३/०३/१९ गते मात्रै वैदेशिक रोजगारीमा ठगी गरेको आरोपमा २५ वटा नयाँ मुद्दा दर्ता गरेको छ। कारबाहीलाई कडा बनाउँदै विभागले आजै ८ जना अभियुक्तलाई पक्राउ गरी उपस्थित गराएको छ भने फरार रहेका अन्य १९ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।
म्यानपावर कम्पनीहरूको गतिविधिमाथि पनि सरकारले कडा नजर राखेको छ। संस्था अनुगमन शाखाले आज ३ वटा म्यानपावर कम्पनीलाई विभिन्न विषयमा पत्राचार गर्दै सचेत गराएको छ। विभागले ४७ वटा म्यानपावर कम्पनी र ७ वटा पूर्व प्रस्थान अभिमुखीकरण तालिम प्रदायक संस्था (पिडिओटी) को नवीकरण गरे पनि उनीहरूको कार्यशैलीमाथि निरन्तर अनुगमन भइरहेको छ।
पीडितको उद्धार र राहतमा सक्रियता ठगीमा परेका र समस्यामा परेका श्रमिकहरूको हकमा सरकारले आजै २ जनाको उद्धार गरेको छ भने ५ वटा उजुरीको फर्छ्यौट गरेको छ। श्रमिकलाई विदेशमा नै सम्झौता बमोजिमको सेवा सुविधा दिलाउन विभागले २ वटा ठोस प्रतिबद्धता समेत प्राप्त गरेको छ। पीडितलाई न्याय दिलाउने क्रममा ८ पटक दुईपक्षीय छलफल गरिएको र १ जनालाई क्षतिपूर्ति उपलब्ध गराइएको छ।
सरकारले श्रमिकका गुनासोलाई प्राथमिकतामा राख्दै ‘हेलो सरकार’ मार्फत प्राप्त ९ वटा गुनासोमध्ये ५ वटाको तत्काल समाधान गरेको छ। विभागको कल सेन्टरमा प्राप्त ४६ वटा गुनासोमध्ये ४४ वटाको तत्काल समाधान गरिएको छ, जसले पीडितको समस्या सम्बोधन गर्न सरकारी संयन्त्र कति सक्रिय छ भन्ने पुष्टि गर्ने दाबी श्रम मन्त्रीको सचिवालयले उल्लेख गरेको छ।
सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन कुनै पनि कसर बाँकी नराख्ने र श्रमिक ठग्ने जोकोहीलाई पनि कानुनको कठघरामा उभ्याउने कडा चेतावनी दिएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.