काठमाडौँ – प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित विभिन्न सात विश्वविद्यालयका उपकुलपति नियुक्त गरेका छन्। विश्वविद्यालयका उपकुलपति छनोट तथा सिफारिस समितिद्वारा सिफारिस उम्मेदवारहरूमध्येबाट कुलपति शाहले उपकुलपतिहरू नियुक्त गरेका हुन्।
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. भोला थापा नियुक्त भएका छन्। सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा किसन दत्त भट्ट र मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा राजन सुवाललाई नियुक्त गरिएको छ।
त्यसै गरी, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, राजर्षि जनक विश्वविद्यालयमा श्यामनारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्ठा उपकुलपति पदमा नियुक्त भएका छन्।
नवनियुक्त उपकुलपतिहरूलाई शिक्षा तथा खेलकुद मन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले मन्त्रालयमा नियुक्ति पत्र प्रदान गरे। खुला प्रतिस्पर्धाबाट उपकुलपतिलाई नियुक्त गरिएको शिक्षा मन्त्री पोखरेलको सचिवालयले जनाएको छ। उपकुलपतिको नाम सिफारिस गर्न शिक्षामन्त्री तथा विश्वविद्यालयका सहकुलपति पोखरेलको अध्यक्षतामा सिफारिस समिति गठन गरिएको थियो।
‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ बमोजिम पहिलो पटक एकीकृत प्रक्रियामार्फत उपकुलपति नियुक्ति प्रक्रिया अघि बढाइएको थियो।
सरकारले गत वैशाख २४ गते त्रिभुवन विश्वविद्यालयसहित आठ विश्वविद्यालयमा रिक्त उपकुलपति पदका लागि दरखास्त आह्वान गरेको थियो।
नवनियुक्त उपकुलपतिको शपथ
शिक्षा तथा खेलकुद मन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालयसहित विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले शुक्रवार त्रिभुवन विश्वविद्यालयसहित विभिन्न सात विश्वविद्यालयका उपकुलपति नियुक्त गरेका थिए।
विश्वविद्यालयका सहकुलपति समेत रहेका शिक्षामन्त्री पोखरेलले निष्पक्ष, स्वतन्त्र, व्यावसायिक र पारदर्शी ढङ्गले विश्वविद्यालयको काम कारबाही गर्न निर्देशन दिए। “सबै जनाले इतिहास बनाउने गरी आफ्नो अवधिमा काम गर्नुहोला, यसमा सरकार र मन्त्रालयको पूर्ण सहयोग रहन्छ। कसैको दबाबमा नपरी व्यावसायिक तवरले जिम्मेवारी निर्वाह गर्नुहोला”, उनले भने।
मन्त्री पोखरेलले सबै विश्वविद्यालय र सम्भव भएका आंज्ञिक क्याम्पसहरूमा १० प्रतिशत छात्रवृत्ति पारदर्शी ढङ्गले अनिवार्य गराउन तथा विश्वविद्यालय र क्याम्पसमा भएका युनियन र ट्रेड युनियनका ब्यानरहरू हटाउन आवश्यक निर्देशन समेत दिएको उनको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव किरण राज शर्माले नवनियुक्त उपकुलपतिहरूबाट शिक्षा क्षेत्रको समग्र सुधारका लागि महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
शपथपछि नवनियुक्त उपकुलपतिहरूले विश्वविद्यालयको साख र गरिमालाई कायम राख्दै निर्भीकता र इमानदारिता साथ काम गर्ने प्रतिबद्धता जनाए। उनीहरूले सरकारद्वारा खुला प्रतिस्पर्धा माध्यमबाट उपकुलपति छनौट प्रक्रियाले आफूहरूको मनोबल उच्च रहेको भन्दै प्रतिबद्धताबमोजिम काम गर्ने विश्वास व्यक्त गरे।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.